News Summary
Generated by OK AI. Editorially reviewed.- वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित कथानक चलचित्र ‘मदनकृष्ण’ निर्माण हुने भएको छ र यसलाई मिलन चाम्सले निर्देशन गर्नेछन् ।
- चलचित्रमा मदनकृष्ण श्रेष्ठको भूमिकामा महेश त्रिपाठी र उनकी श्रीमती यशोधाको भूमिकामा अभिनेत्री केकी अधिकारीले अभिनय गर्ने भएका छन् ।
- आफ्नो बायोपिकबारे मदनकृष्ण श्रेष्ठले भने, "म एकदमै खुसी छु । दर्शकले मेरो जीवनबारे अझै नजिकबाट बुझ्न पाउनुहुनेछ" ।
काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमाथि कथानक फिल्म ‘मदनकृष्ण’ निर्माण हुने भएको छ । रोचक के छ भने, यो फिल्मलाई यसअघि बायोपिक जनराका फिल्म निर्देशनमा ह्याट्रिक गरिसकेका मिलन चाम्सले निर्देशन गर्नेछन् ।
चाम्सको यो चौंथो निर्देशकीय बायोपिक हुनेछ । उनले यसअघि दृष्टिविहिन सृष्टि केसीमाथि ‘ब्लाइन्ड रक्स’, नर्वेका प्रवासी नेपालीहरू उमेश थापा र कविता गुरुङको ‘बबी’ र फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको बायोपिक ‘अञ्जिला’ निर्देशन गरिसकेका छन् ।
योसँगै चाम्सले सबैभन्दा बायोपिक फिल्म निर्देशनको रेकर्ड रचेका छन् । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फिल्म ‘मदनकृष्ण’को औपचारिक घोषणा गरियो ।

यो फिल्मको औपचारिक शुभारम्भ र घोषणा मदनकृष्ण र उनका हितैषी कलाकार हरिवंश आचार्यले संयुक्तरुपमा गरे । हरिवंशले फिल्मको लागि शुभकामना दिए । निर्देशक चाम्सले मदनकृष्णको पर्दा अगाडि र पर्दा पछाडिको जीवनलाई दर्शकले सुक्ष्मढंगमा पर्दामा हेर्न पाउने बताए ।
७६ वर्षिय अभिनेता मदनकृष्णले आफूमाथि बन्न लागेको बायोपिक फिल्मलाई लिएर खुसी व्यक्त गरे । ‘म एकदमै खुसी छु । दर्शकले मेरो जीवनबारे अझै नजिकबाट बुझ्न पाउनुहुनेछ’ उनले भने ।
मदनकृष्णको भूमिकामा महेश त्रिपाठीले अभिनय गर्नेछन् भने उनकी श्रीमती यशोधाको रोलमा केकी अधिकारीले अभिनय गर्नेछिन् । यो फिल्मलाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन् । भदौ दोस्रो सातादेखि छायांकन तयारी छ ।
मदनकृष्ण यसैसाता चलचित्र विकास बोर्डको दीर्घ साधना सम्मानबाट सम्मानित भएका थिए ।
तस्वीरहरू : गोपीकृष्ण चापागाईं



प्रतिक्रिया 4