News Summary
Generated by OK AI. Editorially reviewed.- वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले सामाजिक सञ्जालमार्फत अहिलेको राजनीतिक परिवेश र नेतृत्व परिवर्तनमा आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ।
- श्रेष्ठले रवि लामिछानेको संसद भाषणलाई परिपक्व र गहकिलो भन्दै नयाँ पुस्ताले भविष्य निर्माण गर्ने सन्देश दिएको बताउनुभएको छ।
- उहाँले दलित समुदायप्रति भएका अन्यायप्रति सामूहिक माफी माग्नुपर्ने र जातीय विभेदलाई असभ्य र अमानवीय व्यवहार बताउनुभएको छ ।
काठमाडौं । वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले सामाजिक सञ्जालमार्फत अहिलेको राजनीतिक परिवेश, नेतृत्व परिवर्तन र जातीय समानताको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । सामाजिक संजालमार्फत उनले सरकारले हालै दलित समुदायसँग माफी मागेको प्रसंग उल्लेख गरेका छन् ।
श्रेष्ठले केही वर्षयता समयले युवाको नेतृत्व खोजिरहेको उल्लेख गर्दै त्यो परिवर्तन २०८४ मा हुने अपेक्षा गरिए पनि अहिले नै देखिन थालेको टिप्पणी गरेका छन् । उनले हालै संसदमा रवि लामिछानेले दिएको भाषणलाई परिपक्व र गहकिलो भन्दै त्यसले देश नयाँ दिशातर्फ अघि बढ्ने संकेत दिएको बताएका छन् ।
उनका अनुसार उक्त सम्बोधनमा पुराना राजनीतिक दल र नेताहरूको योगदानलाई स्वीकार गर्दै अब नयाँ पुस्ताले भविष्य निर्माण गर्ने सन्देश दिइएको थियो, जसलाई जनताले सकारात्मक रूपमा लिएका छन् । साथै, राष्ट्रिय स्वतन्त्र पार्टीले आवेगभन्दा संयमता अपनाएर काम गर्नुपर्ने धारणा पनि उनले उल्लेख गरेका छन् ।
मदनकृष्णले दलित समुदायप्रति लामो समयदेखि हुँदै आएको अन्यायको प्रसंग उठाउँदै लामिछानेले सदनमै माफी माग्नु उदाहरणीय कदम भएको बताएका छन् । यस घटनाबाट आफू पनि प्रभावित भएको बताउँदै उनले आफ्नो तर्फबाट पनि विगतमा भएका विभेदप्रति सामूहिक रूपमा माफी माग्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
‘मैले व्यक्तिगत रूपमा सबै जातजाति र भाषाभाषीलाई समान व्यवहार गरेको छु,’ उनले लेखेका छन्, ‘तर मेरा पूर्खाबाट कुनै अपमानजनक व्यवहार भएको हुन सक्छ, त्यसका लागि म माफी माग्छु ।’
श्रेष्ठले समाज अझ सभ्य र मानवीय बनाउन सबैले दलित समुदायसँग सामूहिक रूपमा माफी माग्नुपर्ने धारणा राखेका छन् । उनले “दलित” र “अछुत” जस्ता शब्द नै प्रयोग नगर्ने वातावरण बनाउनुपर्ने सुझाव दिएका छन्, किनकि यस्ता शब्दले विभेदलाई जिवित राख्ने तर्क उनको छ ।
उनले जातीय विभेदलाई ‘असभ्य र अमानवीय’ व्यवहार भन्दै यस्तो सोचबाट माथि उठ्न सबैलाई आग्रह गरेका छन् । टेलिफिल्म ‘१५ गते’को चर्चित गीतका पंक्ति सम्झिँदै राष्ट्रियताको मूल आधार नै पारस्परिक संवेदना र एकता भएको बताएका छन् ।
‘चोट मलाई पर्दा तिम्रो ज्यान दुख्छ भने, त्यही नै नेपाली राष्ट्रियताको चिन्ह हो,’ भन्दै उनले जोड दिएका छन्, ‘जातीय एकतामै बलियो राष्ट्रियता सम्भव हुन्छ ।’
प्रतिक्रिया 4