+
+
Shares

जोश र होस भएकालाई मिलेर जान मदनकृष्णको आग्रह, डान्स नसिकेकोमा पछुतो

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २७ गते १३:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कलाकार मदनकृष्ण श्रेष्ठले प्रतिनिधिसभाको चुनावपछि होस भएका र जोश भएकालाई मिलेर अगाडि बढ्न आग्रह गर्नुभएको छ।
  • मदनकृष्णले नृत्य नसिकेकोमा पछुतो मानेर पार्किन्सन्स रोग नहुने बताउनुभएको छ।
  • बालबालिकाको डान्स रियालिटी शो ‘नेसन्स गट ट्यालेन्ट : राष्ट्रको प्रतिभा’ सिजन २ को अन्तिम ५ चरणमा प्रवेश गरेको छ।

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठले आसन्न प्रतिनिधिसभाको चुनावपछि होस भएका र जोश भएकालाई मिलेर अगाडि बढ्न आग्रह गरेका छन् । बालबालिकाको डान्स रियालिटी शो ‘नेसन्स गट ट्यालेन्ट : राष्ट्रको प्रतिभा’ सिजन २ को अतिथि बनेर पुगेका उनले उक्त कुरा बताएका हुन् ।

श्रेष्ठले भने, ‘जेनजी आन्दोलनले नेपाललाई नयाँ मोडमा ल्याइदिएको छ । समय बलवान् छ । मानिसले सँधै एउटै नेतालाई हेर्न चाहँदैन । चुनावबाट आउने जोश हुनेहरूसँग होस नहुन सक्छ, होस हुनेसँग जोश नहुन सक्छ । होस भएका र जोश भएकाहरू मिलेर अगाडि बढेमा राम्रो हुन्छ भन्ने लाग्छ ।’

जज तथा अभिनेत्री अभिनेत्री मिथिला शर्माले मदनकृष्णको कुरामा टिप्पणी गर्दै त्यो मानवीय स्वभाव भएको बताइन् । ‘यो मानवीय स्वभाव हो मदन दाइ । हामीलाई मिर्मिरे बिहानी पनि चाहिन्छ, गोधुली साँझ पनि चाहिन्छ’ उनले भनिन् ।

भक्तपुरकी जलाधी खड्काले प्रहरीको भूमिकामा प्रस्तुत गरेको नृत्यमा मदनकृष्णसहित जजहरू मिथिला र नीता ढुंगाना, छमछमी नृत्य प्रतियोगिताका विजेता सरोज प्रजाले उभिएर सम्मान व्यक्त गरे ।

शोमा मिथिलाको आग्रहमा मदनकृष्णले ‘सुन न तिमी राम्री लाग्यो’ र ‘फुलबुट्टे सारी’ बोलको गीतका केही अंश गाएर सुनाएका थिए । यो शो हरेक आइतबार साँझ ६ बजे स्पेस फोके टेलिभिजन र ७ बजे ओएसआर रियालीटी युटुयुब च्यानलमा प्रसारण भैरहेको छ । शो अन्तिम ५ को चरणमा प्रवेश गरेको छ ।

मदनकृष्णले नृत्य नसिकेकोमा माने पछुतो

सो अवसरमा मदनकृष्णले नृत्य नसिकेकोमा पछुतो मानेको बताए । उत्कृष्ट ९ राउन्डमा सिराहकी एनी चौधरीले फुर्तिलो डान्स गरेपछि प्रतिक्रिया दिने क्रममा उनले उक्त कुरा बताएका हुन् ।

‘म त डान्स हेरेर बोल्नै सकिँन । एकदम हेरेको हेर्‍यै भएँ । मलाई पार्किन्सन्स छ । डान्स हेर्दाहेर्दै मनमा यस्तो भयो कि मिथिलाजी सँगको जस्तो सँगत भएर पनि मैले कसरी डान्स सिकिन ? मैले डान्स जानेको भए मलाई पार्किन्सन्स नै हुँदैन थियो’ उनले भने, ‘जिउ लचक हुन्थ्यो एकदम । डान्स गर्नेहरुलाई कहिल्यै पनि पार्किन्सन्स निस्किँदैन ।’

सोलुखुम्बुकी ७ वर्षिया पासाङल्हामु शेर्पाको नृत्य हेरेपछि मदनकृष्णले आफूलाई सबैभन्दा राम्रो नृत्य मिथिलाको लाग्ने बताए । ‘पासाङले डान्स गर्दा ठाउँ ठाउँमा मिथिलाजीको अदा आइराखेको थियो । मख्खै पार्‍यो, ध्यान कतै पनि ड्रप गरेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?