
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली फिल्म ‘परान’ को पहिलो गीत ‘ओइ भन्दानी बोलेन’ दशैं अवसरमा सार्वजनिक गरिएको छ।
- गीतमा प्रमोद खरेल, यमन श्रेष्ठ, रिदम कँडेल, रचना रिमाल र सलिना बिकले स्वर दिएका छन्।
- फिल्म कात्तिक १४ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ र यसको बटमलाइन ‘सासले होइन, साथले चल्ने’ रहेको छ।
काठमाडौं । नेपाली फिल्म ‘परान’ मा समावेश पहिलो गीत ‘ओइ भन्दानी बोलेन’ सार्वजनिक गरिएको छ । आयोजित कार्यक्रममा रमाइलो खालको नृत्यप्रधान गीत सार्वजनिक गरिएको हो ।
दशैं अवसरमा सार्वजनिक यो गीत विवाहको परिवेशमा आधारित छ । भिडियोमा फिल्मका शीर्ष कलाकारलाई एउटै फ्रेममा देख्न सकिन्छ ।
मदनकृष्ण श्रेष्ठ, नीर शाह, पूजा चन्द, महेश त्रिपाठी, केकी अधिकारी, प्रविण खतिवडा, अञ्जना बराईलीलगायत कलाकारले नृत्य तथा अभिनय गरेका छन् ।
दर्शकलाई नचाउने खालको यो गीतमा तीन जना गायक र दुई जना गायिकाले स्वर दिएका छन् । प्रमोद खरेल, यमन श्रेष्ठ, रिदम कँडेल, रचना रिमाल र सलिना बिकको स्वर यो गीतमा सुन्न सकिन्छ ।
गीतका शब्द दीपकप्रसाद आचार्य र अनिश अधिकारीले लेखेका हुन् भने संगीत संयोजन रिदम कँडेलको हो । नृत्य निर्देशक सुनिल क्षेत्री हुन् ।
आयोजित गीत रिलिज कार्यक्रममा बोल्दै यसका निर्माता, निर्देशक तथा कलाकारले गीतलाई दर्शकले रूचाउने विश्वास व्यक्त गरे ।
दीपकप्रसाद आचार्यको निर्देशनमा बनेको फिल्म कात्तिक १४ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ ।
पारिवारिक कथामा बनेको फिल्मको बटमलाइन ‘सासले होइन, साथले चल्ने’ रहेको छ, जसले फिल्मको मूल सन्देश अर्थात् एकअर्काको साथको महत्वलाई जोड दिएको अनुमान गर्न सकिन्छ ।
व्यावसायिक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको निर्माण साझेदारीमा बाइस्कोप सिनेमा प्रालिले आफ्नो ब्यानरमा फिल्म निर्माण गरेको हो । निर्मातामा रञ्जित आचार्य र शेखर गोल्छा छन् ।
दीपक आचार्यको कथा रहेको यस फिल्मको पटकथा तथा संवाद यम थापाले तयार पारेका हुन् । शिवराम श्रेष्ठको डीओपी रहेको फिल्मको सम्पादन मित्र डी. गुरूङले गर्दैछन् । दसैं र तिहारलगत्तै यो फिल्म देशभरका सिनेमा हलमा प्रदर्शनमा आउन लागेको छ ।
प्रतिक्रिया 4