+
+
Shares

सयको मोजालाई कसरी पर्‍यो २४ सय ?

भन्सार विन्दुबाटै सुरु हुन्छ, उपभोक्ता ठग्ने प्रपञ्च

सुवास भट्ट सुवास भट्ट
२०७४ भदौ २० गते १९:२५

२० भदौ, काठमाडौं । आपूर्ति मन्त्रालयको टोलीले सोमबार राजधानीको दरबारमार्गस्थित चार वटा फेन्सी पसलमा ताला लगाइदियो । त्यसको कारण हो, परल मूल्यभन्दा २४ गुणासम्म दाम राखेर सामान बिक्री गरेको पाइनु ।

अन्तर्राष्ट्रिय ब्रान्डका कपडा, जुत्ता, मोजालगायत सामान बिक्री गर्ने ती पसलले उपभोक्तामाथि चरम ठगी गर्दै आएको यस प्रकरणबाट सार्वजनिक भएको छ । अनुगमनका क्रममा सय रुपैयाँ प्रतिजोरका मोजा दुई हजार चार सय रुपैयाँमा बिक्री गरेको पाइयो । अझ, दुई हजार ६ सय पर्ने एक जोर जुत्तालाई २६ हजार रुपैयाँ असुल्ने गरेको भेटियो ।

जबकि, कालोबजारी ऐनमा २० प्रतिशतभन्दा बढी नाफा लिएर वस्तु बिक्री गर्न नपाइने उल्लेख छ । ती पसलले भने २३ सय प्रतिशतसम्म नाफा लिएको भेटिएको छ ।

नाइक, पुमा, स्टोर वान र बेन्ट्ले ब्रान्डका सामानको माग अत्यधिक छ, बजारमा । त्यही मागलाई आधार बनाएर ती ब्रान्डका पसलेले उपभोक्तामाथि चरण शोषण गरिरहेको सार्वजनिक भएको छ ।

अनुगमनका क्रममा बिलविजक देखाउन नसकेको, खरिदको तुलनामा बिक्री मूल्य अत्यधिक राखेर अचाक्ली नाफा खाएको, ‘सेल’ का नाममा उपभोक्ता ठगेको पाइएको छ ।

भन्सार छल्न न्यून विजकीकरण

व्यापारी/व्यवसायीले अत्यधिक नाफा लिएर उपभोक्तालाई ठगी गर्ने विषय नौलो होइन । त्यसो गर्नु कानुनका नजरमा दण्डनीय अपराध हो ।

तर, न्यून विजकीकरण यसको प्रमुख कारण हो ।

राजश्व अनुसन्धान विभागका अनुसार बजारमा अहिले देखिएको विकृति विदेशबाट वस्तु आयात गर्दा भन्सार विन्दुबाटै सुरु हुन्छ ।

आयातकर्ताले स्थानीय उत्पादनको नाम राखेर अन्य मुलुकमा उत्पादित सामान भित्र्याउँछन् । ब्रान्डेड नाम राखेर आयात गर्दा भन्सार महशुल बढी तिर्नु पर्छ । भन्सार महशुल छल्नकै लागि उनीहरुले वास्तविक खरिद मूल्य लुकाउँछन् ।

सोही कारण भन्सार महशुल तिरेको बिल र सामानको वास्तविक मूल्यबीच ठूलो ‘ग्याप’ पैदा हुन्छ । उक्त ग्याप देखिन नदिन व्यापारीले कारोबार गोप्य राख्छन्, ग्राहकलाई बिल दिँदैनन् र निश्चित ग्राहकलाई मात्र वस्तु बिक्री गर्ने प्रपञ्च रच्छन् ।

नाम एउटा, सामान अर्कै

वास्तविक मूल्य भन्दा महंगोमा विक्रि गरेको पाइएपछि पसल सिल गरिदै ।

नेपालमा आयात हुने अधिकांश लत्ताकपडा भन्सारबाट ‘बेबी पाइन्ट’को नाममा भित्रिन्छन् । जिन्स, कोटलगायत कपडाको भन्सार प्रज्ञापनपत्रमा ‘बेबी पाइन्ट’ उल्लेख हुन्छ ।

यो न्यून विजकीकरण गराउने व्यापारिक काइदा हो । ‘बेबी पाइन्ट’को मूल्य कम हुन्छ र भन्सार महशूल पनि कम लाग्छ । सामानको मूल्य भने महँगो परेको हुन्छ । तर, व्यापारीले उपभोक्ताबाट असुल्नेभन्दा धेरै कम मूल्य परेको हुन्छ ।

भन्सार घोषणा कम गरेको र चोरी बाटोबाट आयात गरेको वस्तुको मूल्य व्यापारीले आफूखुशी निर्धारण गर्छन् ।

‘गलत भन्सार घोषणा र न्यून विजकीकरण गर्ने तथा चोरी बाटोबाट वस्तु आयात गर्नेजस्ता प्रवृति भन्सार विन्दूमा देखिन्छन्,’ विभागका निर्देशक रामप्रसाद रेग्मी भन्छन् ।

न्यून विजकीकरण गरेको भेटिए निर्धारित भन्सार महसुलको ५० प्रतिशत जरीवाना तिराउने कानूनी व्यवस्था छ ।

यस्तै, भन्सार घोषणा नै गलत गरेको पाइए आयात गरिएको वस्तुको मूल्यको शतप्रतिशत जरीवानाका अतिरिक्त निर्धारित महशूल तिराउने व्यवस्था छ ।

अवैध ढंगले आयात गरेको पाइए सामान जफत गरेर त्यसको मूल्य र त्यसमा लाग्ने भन्सार महशुल असुल्ने कानुनी व्यवस्था छ ।

‘हाम्रो कर प्रणालीले सम्बन्धित व्यक्तिलाई नै विश्वास गर्छ,’ रेग्मी भन्छन्, ‘उनीहरुले गरेको घोषणा चित्त नबुझे मात्र नमूना जाँचका रुपमा भन्सारले आयात भएका वस्तु परीक्षण गर्छ ।’

आयात हुने सबै वस्तु परीक्षण गर्न पनि नभ्याइने र त्यसमा निकै झण्झट आउने भएकाले पनि व्यापारीले अनेक तरिकाबाट न्यून विजकीकरणलगायत जुक्ति निकाल्छन् ।

उपभोक्ताले हरेक कारोबारमा सम्बन्धित सामान बुझिनेगरी बिल लिने बानी बसाल्न सके ठगिनबाट जोगिने रेग्मी बताउँछन् । ‘बिक्रेता र उपभोक्ता दुवैमा बिलविजक दिने/लिने प्रणाली स्थापित हुने हो भने ठगिने समस्याबाट धेरै मुक्ति मिल्छ,’ उनी भन्छन् ।

‘सेल’का नाममा ठगी

दशैंलगायत चाडपर्वको मौसम सुरु हुँदा बजारमा ‘सेल’को लहर चलेको छ । तर, त्यो पनि व्यापारीले उपभोक्तालाई ठगी गर्न निकालेको जुक्ति हो ।

चाडबाडको समयमा सामान बिकाउने जुक्ति पनि हो यो । सामान्यतया पुरानो स्टक सकेर नयाँ सामान भित्र्याउन सेलमा राख्ने प्रचलन छ, अन्तर्राष्ट्रिय बजारमा । नेपालमा भने वस्तुको मूल्य दशौं गुणा बढी राख्ने र धेरै छुट दिएको देखाएर उपभोक्तालाई बिक्री गर्ने धन्दा मौलाएको छ ।

सेलमा राखिएका सामानमा व्यापारीले न बिलविजक जारी गर्छन्, न त मूल्य निर्धारणको कुनै मापदण्ड नै तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?