Comments Add Comment

डा. गोविन्द केसीको अबको निशाना गोपाल खड्का

२१ भदौ, काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जका डाक्टर गोविन्द केसीले अबको निशानामा आयल निगमका प्रमुख गोपाल खड्कालाई बनाउने बताएका छन् ।

बुधबार विज्ञप्ति निकालेर उनले आन्तरिक राजस्व विभागका निलम्बित प्रमुख डा. चूडामणि शर्मादेखि आयल निगमका प्रमुख गोपाल खड्कालाई निशाना बनाउने बताएका हुन् ।

‘आन्तरिक राजस्व विभागका निलम्बित प्रमुखदेखि अरबौं भ्रष्टाचार र अनियमिततामा मुछिएका आयल निगमका प्रमुख गोपाल खड्का लगायत चिनिएका भ्रष्टहरुलाई राजनीतिक दलहरुले दिएको संरक्षणले भ्रष्टाचार र लुटतन्त्रलाई झनै बढावा दिएको,’ डा. केसीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

साथै उनले भनेका छन्, ‘सञ्चार माध्यममा प्रमाणसहित भ्रष्टाचारका विवरण आउँदा पनि सरकारले बर्खास्त नगर्नु र अख्तियारले समेत छानविन नगर्नुले निरपेक्ष दण्डहीनता सिर्जना गरेको छ । त्रिवि पदाधिकारीहरुको चर्को अनियमितताबारे दर्जनौं उजुरीहरु पर्दासमेत अख्तियारले छानविन अघि नबढाउनुले पनि संवैधानिक निकायको कार्य सम्पादनमाथि प्रश्न उठेको छ । यस्तो चौतर्फी भ्रष्टाचार र दण्डहीनता पनि हाम्रो अभियानको अबको चरणको निशाना बन्ने जानकारी गराउन चाहन्छौं ।’

डा. केसीले बुधबार गर्ने भनिएको अनसन भने स्थगित गरेका छन् । नेशनल मेडिकल कलेजको सम्बन्धन सरकारले खारेज गरेको र चाडपर्वहरु नजिकिएकाले अनसन स्थगित गरेको केसीले बताएका छन् । उनले गत भदौ ११ गते प्रेस विज्ञप्ती जारी गरी नेशनल मेडिकल कलेजको सम्बन्ध खारेज नगरे भदौ २१ गतेदेखि १२ औं आमरण अनसन बस्ने चेतावनी दिएका थिए ।

डा. केसीले चिकित्सा शिक्षा विधेयक परिमार्जनसहित पारित गर्नुपर्ने अडान केसीले कायमै राखेका छन् । तर विधेयक पारित गर्न संसदले देखाएको उदासिनताप्रति आफ्नो ध्यानाकर्षण भएको केसीले बताएका छन् । ‘तुरुन्त परिमार्जनसहित चिकित्सा शिक्षा ऐन पारित गर्न तथा हाम्रा अन्य मागहरु पूरा गर्न सरकारलाई यसै विज्ञप्तिमार्फत स्मरण गराउँछौं,’ डा. केसीले भनेका छन् ।

चिकित्सा शिक्षा विधेयक पारितसँगै उनले त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गरी कारवाही गर्दै आइओएमबाट खोसेर लगिएका अधिकारहरु तत्काल आइओएममै फर्काउनुपर्ने, काठमाडौं नेशनलको खाली भवनलाई मापदण्ड पुगेको भनेर प्रतिवेदन दिने टोली तथा सो कलेजसँगै अरु तीन उस्तै कलेजहरुमा मापदण्ड पुगेको भनेर फर्जी प्रतिवेदन दिने व्यक्तिहरुमाथि तत्काल छानविन गरेर कारवाही हुनपर्ने माग केसीले राखेका छन् ।

यी मागहरु पूरा नभएमा तथा विगतका सम्झौता प्रतिकुल हुने गरी कुनै पनि काम भएमा तत्काल सत्याग्रह शुरु गर्ने डा. केसीले चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment