Comments Add Comment

मध्य वर्षामा चुरे दोहनः प्रहरीकै मिलेमतोमा बालुवा र गिटी तस्करी !

मोरङ जिल्लाका हाकिम भन्छन्- तत्कालै कारवाही गर्छौं

२१ भदौ, विराटनगर । मोरङका स्थानीय खोलाबाट बालुवा गिटी, ढुङ्गा उत्खनन गरेर खुलेआम निकासी गर्ने क्रम तीव्र बनेको छ ।

राष्ट्रपति चुरे संरक्षण क्षेत्र अन्तरगत परेको उत्तरी मोरङको केराबारीस्थित खदम खोला र गछिया खोलामा स्थानीय प्रहरीको समेत मिलेमतोमा तस्करीको धन्दा चलिरहेको छ ।

खोलाभित्र मध्य वर्षायाममा समेत ट्रयाक्टरको प्रयोग गरी वालुवा गिट्टी, ढुङ्गा उत्खनन गरेर निकासी हुने गरेको छ । हामीले खोलामै पुगेर स्थानीयलाई सोध्दाखेरि प्रहरीले खेदाएजस्तो गर्ने र आफूहरु भागेजस्तो गर्ने गरेको स्थानीयले सुनाए ।

सरकारले असार, साउन र भदौ ३ महिना नदी एवं खोलाबाट बालुवा गिट्टी, ढुङ्गा उत्खनन गरेर निकासी गर्न पूर्ण बञ्देज लगाएको छ । यद्यपि मोरङमा भने सरकारी निर्णयको अवज्ञा गर्दै खुलेआम वालुवा गिट्टी, ढुङ्गा उत्खनन गरी निकासीको काम हुँदै आएको छ ।

विषेश गरेर मोरङको गछिया खोला अन्तर्गत पर्ने सुन्दरहरैंचा नगरपालिका र केरावारी गाउपालिका क्षेत्रबाट अवैधरुपमा बालुवा गिट्टी, ढुङ्गा उत्खनन गर्ने काम जारी छ ।

स्थानीय प्रहरीको संरक्षणमा नै गछिया खोलाबाट यसरी बालुवा गिट्टी, ढुङ्गा उत्खनन गर्ने र निकासी हुने गरेको स्थानीयको भनाइ छ ।

सुन्दर हरैंचा नगरपालिका अन्तर्गत पर्ने गछिया खोलाको उत्तरतर्फ केराबारी क्षेत्रसम्मको करिव २० किलोमिटर खोला क्षेत्रवाट स्थानीयले प्रहरीको मिलोमतोमा दिउँसो र रातको समयमा खोलामा ट्रयाक्टरको प्रयोग गरी अवैध रुपमा वालुवा गिट्टी, ढुङ्गा उत्खनन गरी निकासीगर्दै आएका छन् ।

गछिया पुलबाट उत्तरतर्फ करिव दुई किलोमिटर क्षेत्र सुन्दर हरैचा नगरपालिकाभित्र पर्छ । त्यसभन्दा उत्तरको स्थान करिव ८ किलोमिटर वन क्षेत्र रहेको छ । त्यसपछिको क्षेत्र केरावारी गाउपालिकामा पर्छ । यी सवै क्षेत्र भएर बग्ने खदम र गछिया खोलाबाट दैनिक रुपमा ट्रयाक्टरको प्रयोग गरी बालुवा गिट्टी, निकासी भइरहेको छ । भर्खरै बाढी आएका ठाउँमा पनि ट्याक्टरहरु प्रवेश गरिरहेका छन् ।

स्थानीयका अनुसार यस क्षेत्रवाट अवैध रुपमा ट्रयाक्टरको प्रयोग गरी वालुवा गिट्टी, ढुङ्गा उत्खनन गरी निकासी वापत त्यस क्षेत्रका स्थानीय प्रहरीले प्रति ट्रयाक्टरका ५ हजार रुपैयाँ लिने गरेका छन् । तर, स्थानीयले भने प्रति ट्याक्टर ७ सय रुपैयाँमात्रै पाउँछन् ।

कतिपय स्थानमा खोलामा नै स्काभेटरको प्रयोग गरी बालुवा गिट्टी, ढुङ्गा उत्खनन गरी टि्रपरमा समेत लगिने गरेको छ । ट्रिपर प्रयोग गरी निकासी गरेवापत प्रहरीले प्रतिट्रिपर १५ हजार रुपैयाँ असुल्ने गरेको छ ।

गछिया खोलामा बालुवा गिट्टी, ढुङ्गा संकलन कार्यमा संलग्न एक स्थानीयले प्रहरीको सेटिङमा खोलाबाट वालुवा गिट्टी, ढुङ्गा उत्खनन गरी संकलित वालुवा गिट्टी, ढुङ्गा ट्रयाक्टरको प्रयोग गरी लाने गरिएको बताए । उनले भने- ‘प्रहरी आउने हुँदा पूर्वजानकारी गराउने गरेका छन्, तिमीहरु पनि बाँच्नु पर्छ, हामी पनि जोगिनुपर्छ, तिमीहरु हामी आउँदा भागेजस्तो गनू, हामी खेदाएजस्तो गर्छौं ।

बगरमा भेटिएका ती स्थानीयका अनुसार दिउँसोको समयमा भन्दा बढी रातको समयमा कम्तिमा पनि २० वटाभन्दा बढी ट्रयाक्टर प्रयोग गरी खोलामा स्थानीय मजदुरले संकलन गरेको बालुवा गिट्टी, ढुङ्गा निकासी गरिन्छ । यो काम दिउँसो पनि हुने गरेको छ ।

उनका अनुसार संकलित गिट्टी, ढुङ्गा स्थानीय क्रसर उद्योगमा जाने गरेको छ । केही ट्याक्टरहरु स्थानीय प्रचलनमा प्रयोग हुन्छन् । र, बालुवा भने बाहिर भारतसम्मै निकासी हुने गरेको छ ।

यस क्षेत्रमा नाम चलेका पूर्वाञ्चल क्रसर उद्योग, अटल क्रसर उद्योग लगायत रहेका छन् । स्थानीयका अनुसार यिनै ठूला क्रसर उद्योगहरुको सहयोगबाट यस्ता अवैध काम हुने गरेको छ ।

गछिया खोलाबाट अवैध रुपमा बालुवा गिट्टी, ढुङ्गा उत्खनन गरी लाने गरेको सूचना जिल्लास्थित प्रहरी कार्यालयका प्रमुख, प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीसम्म प्राप्त भए पनि उनीहरुसमेत तैं चुप मै चुपको अवस्थामा रहँदा अवैध धन्दाले प्रशय पाइरहेको स्थानीयको गुनासो छ ।

गछिया खेालामा हुने अवैध वालुवा गिट्टी, ढुङ्गा उत्खनन एवं निकासी हुन नदिन प्रहरी परिचालित हुने गरेका छन् । तर, प्रहरीकै मिलेमतो हुने गरेको र प्रहरीले ठेकेदारबाट पैसाि असुल्ने गरेको स्थानीयको दाबी छ ।

यस क्षेत्रमा गछिया प्रहरी चौकी, केरावारी प्रहरी कार्यालय र इप्रका वेलवारीबाट प्रहरीहरु गस्तीमा खटिने गरेका छन् ।

उत्तरबाट आएको ट्रयाक्टरवाट आउने बालुवा गिट्टी, ढुङ्गा निकासीको प्रमुख नाका गछिया चौकबाट हुने गर्छ । गछिया प्रहरी चौकीका प्रमुख सई सुरेन्द्र ढुङेलले यस विषयमा कुरा गर्न सम्पर्कमा आउन चाहेन्न । प्रहरी चौकी केराबारीका प्रमुख रामकाजी श्रेष्ठ, गछिया प्रहरी चौकीका प्रमुख सुरेन्द्र ढुंगेल र हवल्दार सीताराम कोइरालाको संरक्षणमा गछिया खोलामा अवैध रुपमा वालुवा गिट्टी, ढुङ्गा उत्खनन गरी निकासी हुने गरेको स्थानीयको आरोप छ ।

गछिया खोला क्षेत्रभित्र पर्ने स्थानीय तह अन्तर्गत सुन्दर हरैंचा र केराबारी गाउँपालिकाका प्रमुखहरुले समेत आफनो क्षेत्रमा पर्ने गछिया खोलाबाट अवैध वालुवा गिट्टी, ढुङ्गा उत्खनन र निकासी हुने गरेकोबारे पूर्ण जानकार भए पनि यस्तो कार्य रोक्न पहल नगरेको स्थानीय बताउँछन् ।

त्यसो त केराबारी गाउँपालिकाका अध्यक्षको समेत खदम खोलाको क्रसर उद्योगमा लगानी रहेको स्थानीले बताउँदै आएका छन् ।

यता मोरङ स्थानीय विकास अधिकारी शोभाकर रेग्मीले गछिया खोलाबाट अवैध रुपमा वालुवा गिट्टी, ढुङ्गा उत्खनन गरी निकासी रोक्न आफू एक्लैले मात्र सम्भव नभएको बताए । उनले लामो समयदेखि खदम र गछिया खोलाबाट अवैध रुपमा वालुवा गिट्टी, ढुङ्गा निकासी हुने गरेको आफुले पनि जानकारी पाएको बताए ।

गछियाबाट अवैध वालुवा गिट्टी, ढुङ्गा उत्खनन भए पनि निकासीमा कडाई गर्न स्थानीय प्रहरी परिचालित भएको उनले जानकारी दिए ।

प्रहरीले अवैध वालुवा गिट्टी, ढुङ्गा उत्खनन र निकासी रोक्न के कसरी काम गरिरहेको छ भनेर यस विषयमा वोल्नु उचित नहुने उनले बताए ।

यता मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण बीसीले गछिया लगायतका खोलाबाट भइरहेको अवैध बालुवा गिट्टी, ढुंगा उत्खनन र निकासीलाई बञ्देज लगाउन कडाइका साथ प्रहरी परिचालन गरिएको दाबी गरे ।

खोलामा अवैध रुपमा बालुवा गिट्टी, ढुङ्गा उत्खनन र निकासी गरिरहेको सप्रमाण भिडियो छ नि भनी जिज्ञासा राख्दा प्रहरी उपरीक्षक बीसीले यदि यस्तो हो भने त्यस विषयमा आफूले बुझेर संलग्न प्रहरीलाई कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायले नदी वा खोलाबाट अहिले बालुवा गिट्टी, ढुङ्गा उत्खनन गरी निकासीमा पूर्ण बञ्देज लगाइएकाले स्थानीय नदी वा खोलावाट बालुवा गिट्टी, ढुङ्गा उत्खनन गरी निकासी गर्न नपाइने बताए ।

यदि नदी वा खोलाबाट बालुवा गिट्टी, ढुङ्गा उत्खनन गरी निकासी गरेको बारेमा अनुसन्धान गरी अवैध कार्यमा संलग्न जोकोहीलाई कार्वाही गर्ने प्रजिअ आर्चायले अनलाइनखबरलाई जानकारी दिए । उनले यस विषयमा तत्कालै अनुसन्धान थाल्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment