Comments Add Comment

मधेसमा चुनावी उत्सव, रातिसम्म उम्मेदवारी दर्ता 

आन्दोलनको केन्द्रविन्दु बनेको मधेस यसरी फेरियो

२१ भदौ, काठमाडौं । आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को चुनावका लागि उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भएको छ । साँझ नपर्दै सकिनुपर्ने उम्मेदवारी मनोनयन रातिसम्म लम्बिएको छ ।

विगतमा आन्दोलनको केन्द्रका रुपमा रहेको मधेसमा बुधबार रातिसम्म उम्मेदवारी दर्ता गर्नेहरुको लहर देखिनु आफैंमा एउटा रोचक राजनीतिक परिदृश्य हो । यो दृश्यले मधेसमा स्थानीय चुनाव एउटा उत्सवकै रुपमा आएको महसुस स्थानीयले गरेका छन् ।

र, यो उत्साहले अब प्रदेश र केन्द्रको चुनावलाई समेत सकारात्मक प्रभाव पार्ने कतिपय मानिसहरुको पूर्वानुमान छ ।

निर्वाचन आयोगका अनुसार ६६२७ पदका लागि चारगुणा बढी उम्मेदवारी परेको छ । साँझ साढे ६ बजेसम्म १८ हजार २ सय जनाको उम्मेदवारी दर्ता भएको छ । साँझमा पनि निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नेको ठूलो भीड छ ।

आयोगका प्रवक्ता नवराज ढकालले अनलाइनखबरसँग भने, ‘५ बजेसम्म कार्यालय परिसरमा आएकाको उम्मेदवारी लिन्छौं, सबै सकिँदा रातको ११ बज्ला ।’

प्रदेश नम्बर २ का ८ वटा जिल्लामा वीरगञ्ज महानगरपालिकासँगै तीनवटा उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । आज मनोनयन दर्ता भएपछि आगामी असोज २ गते मतदान हुनेछ ।

प्रदेश नं २ मा २६ लाख ६४ हजार ९ सय ५० मतदाता छन् भने २१६६ मतदान स्थल र ३५७८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा चुनाव भएको थियो । त्यसैगरी असार १४ गते दोस्रो चरणमा प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ गरी ६१७ वटा स्थानीय तहमा निर्वाचन भइसकेको छ ।

आन्दोलनदेखि जनमतसम्म

अघिल्ला दुईवटा स्थानीय चुनावहरु भइरहँदासम्म मधेसमा निवार्नचन बहिस्कारको माहौल थियो । राजपाले चुनाव बहिस्कारको निर्णय गरेका कारण अघिल्ला चुनावहरु शान्तिपूर्ण नहोलान् कि भन्ने धेरैमा आशंका थियो । दुई नम्बर प्रदेश त झनै सीके राउत र विप्लव माओवादी समेतको त्रासमा जकडिएको थियो ।

तर, बुधबार चुनावमा भाग लिएका दलकै वीचमा भएका आन्तरिक विवादका केही छिटफुट घटनाबाहेक कुनै पनि अप्रिय स्थिति देखिएन ।

बुधबार प्रदेश नम्बर २ मा देखिएको चुनावी उत्साहले पहाडको चुनाव भन्दा पनि रौनक र माहौल मधेसमा छ भन्ने देखाएको छ ।

आफूहरुले निर्वाचनमा भाग लिनेको कारणबारे कुरा गर्दै राजपा नेता राजेन्द्र महतोले आफूहरुले सार्वभौम संसदको आदेशलाई मानेर चुनावमार्फत जनतामा आएको प्रतिक्रिया दिएका छन् ।

व्यवस्थापिका संसदले नै संविधान संशोधनमा बहुमत पुगेन, तिमीहरु जनतामा जाऊ भनेका कारण आफूहरु जनतामा मत माग्न आएको महतोको भनाइ छ ।

महतोले भनेजस्तै राजपाले समेत आन्दोलनलाई स्थगन गरेर निर्वाचनमा सहभागी हुने र जनताको मतलाई सम्मान गर्ने प्रतिवद्धता जनाएपछि प्रदेश नम्बर दुईको चुनावमा उत्साह थपिएको हो । र, यो सर्वसम्मतिका कारण अब निर्वाचन भयरहित र शान्तिपूर्ण हुने सम्भावना प्रवल बनेको छ ।

वीरगञ्ज महानगरपालिकामा डेढ दर्जन मेयरका दाबेदार

निर्वाचनको मुख्य केन्द्रविन्दुका रुपमा रहेको वीरगञ्ज महानगरपालिकामा मुख्यतः कांग्रेस र राजपालाई मुख्य प्रतिस्पर्धी मानिएको छ । यहाँको मेयरमा कांग्रेसबाट अजय द्विवेदी र राजपाबाट राजेशमान सिंह उम्मेदवार छन् ।

त्यसैगरी एमालेबाट बसुरुद्दिन अन्सारी, संघीय समाजवादी फोरमबाट विजय सरावगी, माओवादी केन्ऽबाट रहबर अन्सारी र फोरम लोकतान्त्रिकबाट विमलप्रसाद श्रीवास्तवले महानगरको मेयरका लागि उम्मेदवारी दिएका छन् ।

स्वतन्त्र र साना दलबाट समेत गरी मेयरमा १८ जना र उपमेयर १३ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगको कार्यालय पर्साले जनाएको छ ।

त्यसैगरी उपमेयरमा कांग्रेसबाट शान्ति कार्की, एमालेबाट सोफिया आचार्य, माओवादी केन्ऽबाट दुर्गा क्षेत्री, फोरम लोकतान्त्रिकबाट रिंकी यादव र राजपाबाट रम्भा मिश्रले उम्मेदवारी दर्ता गराएका छन् ।

बारामा उत्साहजनक दृश्य

दुईवटा उपमहानगरपालिका रहेको बारा जिल्लाका विभिन्न स्थानीय तहका उम्मेदवारको मनोयनका लागि गाउँगाउँबाट कार्यकर्ता र समर्थकहरु उर्लिए । गाउँगाउँबाट बाजागाजासहित उमेदवारहरु समर्थकहरुका साथ बस, ट्रक, ट्याक्टर, अटो, मोटरसाईकल लगायतका साधनहरुमा उमेदवारी दर्ताका लागी निर्वाचन अधिकृतको कार्यालयमा जम्मा भए ।

उमेदवारी मनोनयन दर्ता सहजताका लागि प्रत्येक स्थानीय तहका निर्वाचन कार्यालयहरुमा ७ जनाका दरले आजका लागि ११२ कर्मचारी खटाइएका थिए ।

बारा जिल्लामा दुई उममहानगरपालिका, पाँच नगरपालिका र नौ गाउँपालिका छन् । यी सबै स्थानीय तहबाट तेस्रो चरणको निर्वाचनका लागि सहभागी झण्डै तीन दर्जन दलका हजारौं उमेद्वारहरु मध्येबाट ८३५ जनप्रतिनिधीहरु विजय हुने छन् ।

तेस्रो चरणको निर्वाचनमा बारा जिल्लामा ३ लाख ३४ हजार ७५६ मतदाता सहभागी हुने छन् ।

जनकपुरमा उस्तै उत्साह

निर्वाचन हुन लागेको अर्को उपमहानगरपालिका जनकपुरमा पनि चुनावी सरगर्मी उत्साहजनक देखिएको छ । जनकपुरमा कांग्रेस, एमाले, माओवादी, राजपा, फोरम र स्वतन्त्रले समेत उम्मदेवारी दर्ता गराएका छन् ।

अन्य जिल्लामा जस्तै धनुषाको जनकपुरमा पनि बुधबार साँझसम्म उम्मेदवारी मनोनयन दर्ता जारी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment