+
+
Shares

अस्ट्रियाद्वारा चार रूसी कूटनीतिज्ञ निष्कासित गर्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ६ गते १७:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रियाले कूटनीतिक हैसियतसँग मेल नखाने गतिविधिमा सङ्लग्न भएको आरोपमा चार रूसी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ ।
  • रूसी दूतावासले अस्ट्रियाको निर्णयको आलोचना गर्दै उपयुक्त जवाफ दिने चेतावनी दिएको छ ।
  • अस्ट्रियाले सन् २०२२ यता पटक–पटक रूसी कूटनीतिज्ञहरूलाई निष्कासन गर्दै आएको छ ।

६ कात्तिक, भियना । अस्ट्रियाले कूटनीतिक हैसियतसँग मेल नखाने गतिविधिमा सङ्लग्न भएको आरोपमा चार रूसी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ । अस्ट्रियाको विदेश मन्त्रालयले शुक्रबार यसबारे जानकारी दिएको हो । उक्त निर्णयप्रति रुसले उचित जवाफ दिने चेतावनी दिएको छ ।

अस्ट्रियाली सुरक्षा अधिकारीहरूले उपलब्ध गराएको जानकारीका आधारमा भियनामा रहेका चार रूसी कूटनीतिज्ञविरुद्ध कारबाही गरिएको विदेश मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार रूसी दूतावासमा कार्यरत तीन कूटनीतिज्ञ आफ्नो कूटनीतिक हैसियतसँग असङ्गत गतिविधिमा सङ्लग्न थिए ।

त्यसैगरी, युरोपमा सुरक्षा तथा सहयोग सङ्गठन (ओएससीई) मा रहेको रूसी प्रतिनिधिमण्डलका एक सदस्य पनि यस्तै गतिविधिमा सङ्लग्न रहेको मन्त्रालयले जनाएको छ । ती चारै जनालाई अस्वीकृत व्यक्ति घोषणा गर्दै अस्ट्रियाको भू–भाग छाड्न निर्देशन दिइएको छ ।

भियनास्थित रूसी दूतावासले सामाजिक सञ्जाल टेलिग्राममार्फत उक्त निर्णयको आलोचना गर्दै यसको उपयुक्त जवाफ दिइने चेतावनी दिएको छ ।

दूतावासले अस्ट्रियाले रुसविरोधी पश्चिमी नीतिलाई विचारहीन रूपमा पछ्याइरहेको आरोपसमेत लगाएको छ ।

सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि युरोपका विभिन्न देशले रूसी कूटनीतिज्ञहरूलाई निष्कासन गर्दै आएका छन् । यससँगै पश्चिमी मुलुकहरूले रुसमाथि व्यापक आर्थिक तथा अन्य प्रतिबन्धहरू पनि लगाएका छन् ।

यसै वर्ष सेप्टेम्बरमा हङ्गेरीले प्रधानमन्त्री पिटर मग्यारको नेतृत्वमा रूसी कूटनीतिक नियोगका १० सदस्यलाई देशबाट निष्कासन गरेको थियो । हङ्गेरीले राष्ट्रिय सुरक्षा र सार्वभौमसत्ताको रक्षा गर्न उक्त कदम चालिएको जनाएको थियो ।

अस्ट्रियाले पनि सन् २०२२ यता पटक–पटक रूसी कूटनीतिज्ञहरूलाई निष्कासन गर्दै आएको छ । यद्यपि, अन्य केही युरोपेली देशको तुलनामा त्यहाँ निष्कासन गरिएका कूटनीतिज्ञको सङ्ख्या कम रहेको छ ।

अस्ट्रिया युरोपेली सङ्घको सदस्य भए पनि सैन्य रूपमा तटस्थ राष्ट्र हो र उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) को सदस्य होइन । देशको तुलनात्मक रूपमा कमजोर जासुसीसम्बन्धी कानुनी व्यवस्थाका कारण भियनालाई रूसी गुप्तचर गतिविधिको प्रमुख केन्द्रका रूपमा समेत चित्रण गरिँदै आएको छ । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?