Comments Add Comment

बेइजिङलाई महराको सन्देशः नेपाल-चीन अन्तरदेशीय रेलमा प्रमुख दल एकमत

  • फाइल फोटो

२२ भदौ, काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल-चीन अन्तरदेशीय रेललाई राष्ट्रिय प्राथमिकता दिएर अघि बढाउन मुख्य राजनीतिक दलहरु एकमत भएको सन्देश बेइजिङलाई दिएका छन् ।

महराले बिहीबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेटेका छन् । भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा महराले अन्तरदेशीय रेललाई राष्ट्रिय प्राथमिकता दिएर अघि बढाउन नेपालका मुख्य राजनीतिक दलहरु सहमत भएको बताएका हुन् ।

साथै आफू र वाङ यीबीच केरुङ-काठमाडौं-पोखरा-लुम्बिनी रेलवेको सम्भाव्यता अध्ययन छिट्टै थाल्नेबारे छलफल भएको महराले बताए । साथै वान बेल्ट वान रेड अवधारणा अन्तरगत नेपालमा भौतिक पूर्वाधारका साथै रेलवे र रोडसहित क्रस बोडर कनेक्भिटिभी, व्यापार, पर्यटन र लगानी बृद्धि हुने विश्वास नेपालले लिएको उनले बताए ।

भेटमा दुई देशबीच उच्चस्तरको भ्रमण आदान प्रदानबारे छलफल भएको उपप्रधानमन्त्री महराले बताए । साथै प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण र चिनियाँ उपप्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा भएका सहमति कार्यान्वयनको प्रगतिको पनि समिक्षा भएको छ ।

नेपाल र चीनबीच व्यापार तथा पारबहन सम्झौताको प्रोटोकललाई छिट्टै टुंगाउने सहमति भएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा सम्झौता भएको थियो । तर, लामो समयसम्म प्रोटोकलमा हस्ताक्षर हुन सकेको छैन ।

दुई देशका विदेशमन्त्रीबीच सीमा नाकाहरुको स्तरोन्नती र नयाँ खोल्ने सहमति पनि भएको छ । नेपाली पक्षले अरनिको राजमार्गलाई छिट्टै सुचारु गर्नु पर्नेमा जोड दिएको छ ।

पत्रकार सम्मेलनमा विदेशमन्त्री वाङ यीले चीनले नेपाललाई उच्चस्तरीय सहयोग गर्न चाहेको बताए । साथै उनले वान बेल्ट वान रोड अवधारणाले नेपालको राष्ट्रिय विकासलाई गति दिने विश्वास व्यक्त गरे ।

नेपाल-चीन सम्बन्धको प्रशंसा गर्ने क्रममा उनले दुई देशको सम्वन्ध जनताको हृदयको जगबाट बनेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment