Comments Add Comment

राजपाको घोषणापत्रः दाइजो नलिर्इ विवाह गर्नेलाई २५ हजार, बलात्कारी कुट्न मार्शल आर्ट !

छुवाछुत गर्नेलाई कडा कारवाही, धर्मनिरपेक्षतामा प्रतिवद्धता

२३ भदौ, काठमाडौं । विशेष गरी एमाले नेताहरुले आफ्नो भाषणमा भन्ने गरेका थिए कि मधेसमा दलित र महिलामाथि चरम विभेद हुने गरेको छ । र, त्यस्ता विभेदका विषयमा मधेस केन्द्रित दलका नेताहरुले मौनता साँध्ने गरेका छन् । तर, यो आरोपलाई राजपाले हालै सार्वजनिक गरेको चुनावी घोषणापत्र मार्फत खण्डन गर्ने प्र्रयास गरेको छ ।

दुई नम्बर प्रदेशमा दलित समुदायको भोट करिब १५ प्रतिशतभन्दा बढी छ । त्यसैगरी मुस्लिमको भोट १७ प्रतिशतको हाराहारीमा छन् । महिलाको मत त पुरुषको आधाउधि हुने नै भयो । भोटको यो ‘प्याट्रन’लाई ध्यान दिने हो भने प्रदेश नम्बर दुईको चुनावमा श्रेष्ठता चाहने दलहरुले दलित, मुस्लिम र महिलालाई प्रभावमा पार्ने चुनावी एजेण्डा ल्याउनु उनीहरुको बाध्यता पनि हो ।

दाइजोविरोधी बिहे गर्नेलाई २५ हजार !

राजपाले सार्वजनिक गरेको घोषणापत्रमा महिला तथा वालवालिकाका पक्षमा विभिन्न १६ वटा बुँदाहरु प्रस्तुत गरिएका छन् । त्यसमा दाइजो प्रथालाई फौजदारी अपराधको दायरामा ल्याइने स्पष्ट रुपमा लेखिएको छ ।

दाइजोविरुद्ध अभियान चलाउन विनालेनदेन आदर्श विवाद गर्ने जोडीलाई २५ हजार सहायता प्रदान गर्ने राजपाको घोषणापत्रमा उल्लेख छ ।

महिलाविरुद्ध हुने हिंसाप्रति शून्य सहिष्णुताको नीति अपनाइने राजपाले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ । एकल तथा वृद्ध महिलाहरुको सामुहिक बसोबासको व्यवस्था गरिने राजपाले जनाएको छ ।

बालिकाहरुका लागि १२ कक्षासम्म निशुल्क र उच्च हिक्षामा छात्रवृत्तिको व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ ।

राजपाले दाइजो प्रथाको मात्रै विरोध गरेको छैन, लैंगिक आधारमा भू्रण पहिचान गरी भ्रूणहत्या गराउनेहरुलाई कठोर कानून लगाइने बताएको छ । महिलाविरुद्ध हुने ज्यादती र हिंसाविरुद्ध आत्मरक्षाका लागि विद्यालयमै मार्शल आर्ट सिकाउने प्रवन्ध गरिने राजपाको घोषणापत्रमा उल्लेख छ ।

धर्म निरपक्षेतामा अडान

मधेसकेन्दि्रत राजनीतिक दलहरुलाई धेरैले भारतपरस्त र अझ बीजेपीको हिन्दुवादसँग जोडेर हेर्ने गरेका छन् । तर, राजपाले आफ्नो घोषणापत्रमा स्पष्ट रुपमा धर्मनिरपेक्षताको पक्षमा अडान प्रस्तुत गरेको छ ।

राजपाले आफ्नो घोषणापत्रमा ‘मुस्लिम समुदायका मुद्दाहरु’ उपशीर्षक अन्तरगत ‘धर्म निरपेक्षतालाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर खबरदारी गर्ने’ भनिएको छ ।
त्यसैगरी स्थानीय तह, प्रदेश र केन्द्रीय स्तरमा सीमा निर्धाण गर्दा मुस्लिम बाहुल्य बस्तीको जनघनत्वलाई नबिगि्रने गरी मिलाइने राजपाले बताएको छ ।

न्यायिक निकायमा मुस्लिम समुदायको समानुपातिक प्रतिनिधत्वमा जोड दिइने राजपाले जनाएको छ । उच्च स्तरीय हज कमिटी गटन गरी छुट्टै हज भवन बनाउने राजपाले जनाएको छ ।

पार्टीभित्र छुवाछुत गर्नेलाई विभागीय कारवाही

राजपाले पार्टी भित्र वा बाहिर दलित समुदायमाथि छुवाछुतपूर्ण व्यवहार गर्ने नेता कार्यकर्तालाई विभागीय कारवाही गरिने प्रतिवद्धता जनाएको छ । उसले छुवाछुत मुक्त गाउँ, नगर र जिल्ला घोषणा गरिने प्रतिवद्धता जनाएको छ ।

दलित समुदायलाई निशुल्क स्वास्थ्य र शिक्षा उपलब्ध गराइने राजपाले आश्वासन दिएको छ ।

समाजिक सुरक्षा र विकासका एजेण्डा

राजपाले आफ्नो घोषणा पत्रमा सामाजिक सुरक्षा एवं सुधारका योजनाहरु अघि सारेको छ । उसले दलित, महिला, मुस्लिम र विपन्न समुदायमाथि राज्यले लोककल्याणकारी कार्यक्रमहरु लैजाने बताएको छ ।

सीमा क्षेत्रमा ५० हजारसम्मको मलखाद लगायतका अत्यावश्यक वस्तु लाने लैजाने कार्यमा भन्सार नलिइने राजको घोषणापत्रमा उल्लेख छ ।

राजपाले सेना र कर्मचारीतन्त्रमा जनसंख्याका आधारमा समानुपातिक समावेशी गराइने बताएको छ । उसले आफ्नो घोषणापत्रमा पूर्वाधार विकास, शहरीकरण, श्रमिक नीति, वैदेशिक रोजगार नीति, पर्यटन, भाषा साहित्य र संस्कृति लगायतका विषयमा आफ्नो पार्टीको धारणा अघि सारेको छ ।

त्यसैगरी राजपाले शिक्षा र स्वास्थ्य नीतिका साथै प्रेस स्वतन्त्रताको पक्षमा पनि प्रतिवद्धता जनाएको छ ।

लोडसेडिङ मुक्त मधेस, पोलपोलमा सोलार लाइट !

‘पार्टीका महत्वपूर्ण संकल्पहरु शीर्षकमा राजपाले मधेसलाई लोडसेडिङ मुक्त बनाउने र सडकका पोलहरुमा सोलार लाइड जडान गरिने बताएको छ ।

त्यसैगरी विदेशिएका युवालाई स्वदेशमा फर्काइने, बाढीको दीर्घकालीन समाधान खोजिने, प्रत्योक गाउँपालिकामा वाइफाइ र लाइब्रेरी बनाउने, सरकारी विद्यालयमा पौष्टिक आहारको व्यवस्था गर्ने, सिंचाइ र मलखादको व्यवस्था गर्ने, शिशुमृत्युदर घटाउने, प्रत्येक वडामा बर्थिङ सेन्टर खोल्ने, आदि प्रतिवद्धताहरु राजपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment