Comments Add Comment

आन्दोलन गर्ने युवालाई पाखा लगाएर नेता पत्नी र छोरालाई टिकट

टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै सहमहासचिव गजेन्द्र मण्डलले जारी गरेको वक्तव्य

२४ भदौ, सप्तरी । मधेस आन्दोलनका क्रममा सप्तरीका हुने हरेक गतिविधिमा गजेन्द्र मण्डल, दिपेन्द्र चौधरी, लक्ष्मण यादव, किशोर कुमार यादवसहितका युवाहरु अग्रपङ्गीमा हुन्थे ।

दुई चरणको चुनाव बहिस्कार गरेपनि राजपाले प्रदेश २ मा भाग लिने निर्णय गरेपछि आन्दोलनको नेतृत्व गर्नेहरु नै उम्मेदवार हरने धेरैको अनुमान थियो । तर, राष्ट्रिय जनता पार्टीले उनीहरुलाई छाडेर अर्कै व्यक्तिलाई टिकट दिएको छ ।

राजविराजको मेयर पदका लागि राजपाबाट दिपेन्द्र चौधरी र लक्ष्मण यादवको नाम अग्रपंक्तिमा थियो । नेता कार्यकर्तामा पनि दुई नामको पक्षमा बहस चलिरहेको थियो ।

तर, उम्मेदवार दर्ताको अघिल्लो दिन मेयरमा शम्भु यादवले टिकट पाए । उनी पनि राजपामा आवद्ध नेता नै हुन् । तर, मुख्यत ठेक्कापट्टाको काम गर्दै आएका छन् ।

युवा नेता किशोर कुमार यादव ‘केसी’ छिन्नमस्ता गाउँपालिकाको प्रमुखका लागि टिकट पाउने आशामा थिए । ‘यत्रो आन्दोलन गरियो । पार्टीले विश्वास गर्नेमा ढुक्क थिएँ’ सद्भावना निकट विद्यार्थी संगठनको केन्दि्रय अध्यक्ष भइसकेका उनी भन्छन्, ‘तर, अन्तिम समयमा आएर अर्कैलाई टिकट दिएको छ ।’

छिन्नमस्तामा राजपाले नेता रामबाबु यादवकी पत्नी बिमला देवीलाई मेयरको टिकट दिएको छ । ‘दुःख त लागेको छ तर, पार्टीको इज्जतका लागि अझै खटिरहेको छु’ केसी भन्छन्, आन्दोलन हामीले नै गर्‍यौं । त्यो आन्दोलनको साख बचाउनका लागि पनि राजपालाई जिताउने अभियानमा लागेको छु ।’

अधिकांश नयाँलाई टिकट

सप्तरीका अधिकाशं स्थानीय तहमा आन्दोलनमा खटेका नेता कार्यकर्ताले टिकट पाएका छैनन् । धेरै नयाँ अनुहारले टिकट पाएएका छन्, जस मध्ये धेरै नवप्रवेशीहरु छन् ।

डाक्नेश्वरी नगरपालिकामा मेयरका टिकट पाएका शिवनारायण साह केहि दिनअघि मात्रै राजपा प्रवेश गरेका हुन् । पत्थरगाडा गाविसका अध्यक्ष रहेका साहलाई हालै मात्र राजपा नेता शरदसिंह भण्डारीले पार्टी प्रवेश गराएका थिए ।

कंचनरुप नगरपालिकामा मेयरको टिकट पाउने माधव चौधरी पनि राजपामा नयाँ अनुहार हुन् । उनलाई राजेन्द्र महतो, राजकुमार लेखीले पार्टी प्रवेश गराएका थिए ।

सप्तकोशी नगरपालिकामा उम्मेदबार बनेका महेश यादव पनि राजपामा नसुनिएका नाम हुन् । ‘पार्टीमा हैकमवाद, सामन्तवाद एक्कासी हावी भयो’ युवा नेता गजेन्द्र मण्डल भन्छन्, ‘पार्टी नेतृत्वको निर्णयले साह्रै चिन्तित बनाएको छ ।’

अन्य पार्टीजस्तै राजपामा पनि हुनेखानेले मात्रै मौका पाउने अवस्था आएको उनले बताए । आफ्नै गाउँमा आफूहरु मिलेर बनाएको उम्मेदवारलाई समेत पार्टी नेतृत्वले वाइपास गरेर थप सामन्तवाद प्रदर्शन गरेको उनको आरोप छ । उनले चुनावसम्म चुप लाग्ने र त्यसपछि यसबारेमा ठोस निर्णय लिने बताए ।

पुत्र मोह पनि

राजपाले तिलाठी-कोइलाडी गाउँपालिकाको प्रमुखमा सतिश सिंहलाई प्रमुखको टिकट दिएको छ । सिंह राजपाका केन्दि्रय नेता एवं तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्दि्रय उपाध्यक्ष शेखर सिंहका छोरा हुन् ।

यस्तै हनुमाननगर कंकालनी नगरपालिकाको मेयरमा टिकट पाएका शैलेश साह पनि केन्दि्रय नेताका छोरा हुन् । उनी तत्कालिन सद्भावना पार्टीका उपाध्यक्ष नवलकिशोर साह का छोरा हुन् ।

को-को छन् राजपाका उम्मेदवार ?

राजपाले तिलाठी-कोइलाडी गाउँपालिकाको प्रमुखमा सतिश सिंहलाई, हनुमाननगर कंकालनी नगरपालिकाको मेयरमा शैलेश साह, तिरहुत गाउँपालिकामा विजयकुमार यादवलाई प्रमुखको उम्मेदबार बनाएको छ ।

बोदे बर्साइन नगरपालिकामा अमरेन्द्र प्रसाद यादव, बलान बिहुल गाउँपालिकाको प्रमुखमा रामविलास साह, बेल्ही चपेना गाउँपालिकाको प्रमुखमा मुसहरु यादव,इटहरी बिष्णुपुर गाउँपालिकाको प्रमुखमा मुनीलाल खंगलाई उम्मेदबार बनाएको छ ।

रुपनी गाउँपालिकामा हरेराम यादव, महदेवा गाउँपालिकामा सुनिल कुमार मण्डल, सुरुङ्गा नगरपालिकामा शंकर प्रसाद चौधरी, शम्भुनाथ नगरपालिकामा चन्द्रकान्त मण्डल, कंचनरुप नगरपालिकामा माधव चौधरीलाई प्रमुखको उम्मेदबार बनाएको छ ।

छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा बिमला देवी यादवलाई उम्मेदबार बनाइएको छ ।

उप-प्रमुखमा महदेवा गाउँपालिकामा अचकना कुमारी यादव, राजविराजमा साधना झा, तिलाठी कोइलाडीमा सुचिता यादव, रुपनीमा बेचनीदेवी सरदार, सुरुङ्गा नगरपालिकामा उषा महतो, खड्ग नगरपालिकामा पिंकीकुमारी साह, कंचनरुप नगरपालिकामा मसिहा खातुन, तिरहुत गाउँपालिकामा रेखाकुमारी मेहता, बोदे बर्साइन नगरपालिकामा रेणु कुमारी साह, बलान बिहुल गाउँपालिकामा बिमला देवी यादवलाई उम्मेदबार बनाएको छ ।

हनुमाननगर-कंकालनी नगरपालिकामा सरितादेवी यादव, छिन्नमस्तामा उषा कुमारी मण्डल, इटहरी बिष्णुपुर गाउँपालिकामा सुगियादेवी यादवलाई उप प्रमुख बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment