+
+
Shares

चीजकुमार श्रेष्ठको ‘घुमिफिरी बन्दीपुर’ विमोचित

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २५ गते २०:०१


काठमाडौं । बन्दिपुरको विकासमा लामो समयदेखि योगदान दिएकासमाजसेवी चीजकुमार श्रेष्ठको संस्मरण ‘घुमिफिरी बन्दिपुर’ बजारमा आएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा सो पुस्तक विमोचन गरियो ।

बन्दीपुरकै विद्यालय भानु माविमा लामो समय प्रधानाध्यापक समेत भएका श्रेष्ठले बन्दीपुर विकास कोषको अध्यक्षता पनि लामो समय गरेका थिए ।

‘उहाँले बन्दीपुरको विकासमा जसरी सहयोग गर्नुभएको छ, त्यो अतुलनीय छ,’ कार्यक्रममा चीजकुमारका विद्यार्थीसमेत रहेका डा. मदन पियाले भने, ‘यो पुस्तक अत्यन्त रुचीकर रुपमा उहाँले लेख्नु भएको रहेछ, पढेर म विगतमा फर्किएँ ।’

पुस्तक विमोचन कार्यक्रममा लेखक खगेन्द्र संग्रौलाले बन्दीपुर र श्रेष्ठको पुस्तकको प्रशंसा गरे । कुनै समय बन्दीपुरमै अध्यापनसमेत गरेका संग्रौलाले भने, ‘चीजकुमार आफ्ना सबै पत्र, जीवनका रंगसहित आउनु भएको छ । उहाँले आफ्ना कुरामात्र होइन, आफ्नो परिवेशलाई उतार्नुभएको छ । संस्मरणमा यो उत्कृष्ट पुस्तक हो ।’

‘चीजकुमार श्रेष्ठ गुरुहरुका गुरु हुनुहुन्छ, उहाँको पुस्तक मेरा गुरुको पुस्तक हो,’ बन्दीपुरमा २०३२ सालमा शिक्षकहरुलाई सम्मान गर्ने कार्यक्रम भएको स्मरण गर्दै संग्रौलाले भने, ‘बन्दीपुरको विकासमा लामो समय योगदान गरेका चीजको यो पुस्तकले संस्मरण कस्तो हुनपर्छ भन्ने सन्देश पनि दिन्छ ।’

कार्यक्रममै अर्का वक्ता तथा बन्दीपुरकैै कवि द्वारिका श्रेष्ठले पनि चीजकुमारकोे पुस्तक पढ्नै पर्ने भएको बताए । ‘संघर्ष गरेर एउटा मानिसले केसम्म गर्न सक्छ भन्ने यसमा लेखिएको छ,’ श्रेष्ठले भने, ‘यो पुस्तक अत्यन्त मीठो भाषामा लेखिएको छ । यो पुस्तकले मलाई बन्दीपुर पुर्‍यायो । कुनै समय वैराग्यमय भएको बन्दीपुरको पुनर्जागरणमा चीजकुमारले ठूलो योगदान दिनु भएको छ ।’

कार्यक्रममा लेखक चीजकुमार श्रेष्ठले पहिले पुस्तक लेख्ने सोच नभए पनि लेखिसक्दा आफूलाई हलुका बनाउन सकेको भन्दै पुस्तक तयार पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
यो पुस्तक फिनिक्स बुक्सले बजारमा ल्याएको हो । पुस्तकको मूल्य ३ सय ९५ रुपियाँ राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?