Comments Add Comment

यस्ता छन् गौर हाँक्ने उम्मेदवारहरु

२७ भदौ, रौतहट । स्थानीय तहको निर्वाचनका लागि रौतहटको गौर नगरपालिकामा मेयरका तीन उम्मेदवारको नाम बढी चर्चामा छ ।

२०४८ साल चैत्र ३० गते नगरपालिका घोषणा भएको गौरको निर्वाचनमा यस पटक त्रिपक्षीय लडाईं हुने निश्चित छ ।

संघीय समाजवादी फोरम नेपालका गौरीशंकर यादव, राष्ट्रिय जनता पार्टीका अजय गुप्ता र नेकपा एमालेबाट शम्भू साह गौर नगरपालिकाको मेयर पदका प्रमुख दावेदार हुन् ।

विकास, शिक्षा र स्वास्थ्यलाई आफ्नो प्रमुख एजेण्डा बनाएका उम्मेदवारहरुले विभिन्न नारा तथा योजनाहरुका साथ मतदाता आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन् ।

गौरीशंकर प्रसाद यादव (संघीय समाजबादी फोरम/कांग्रेस)

२०५४ सालमा स्वतन्त्ररुपमा निर्वाचित मेयरका रुपमा गौरीशंकर प्रसाद यादवले गौर नगरपालिकाको जिम्मेवारी सम्हालिसकेका छन । दुई दशक अघिनै गौर नगरपालिकामा विकासको जग बसालेका यादवले बसपार्क, विद्यालय, सडक तथा हाट बजारको व्यवस्था गरेका थिए ।

हाल संघीय समाजवादी फोरम नेपालका तर्फबाट उम्मेदवारी दिएका यादवले विगतका कामहरुको मूल्यांकनका आधारमा गौरवासीले आफूलाई मत दिने दावी गरे ।

नेपाली कांग्रेससँग गठबन्धन गरी मेयरको उम्मेदवारी दएकिा गौरिशंकर यादव चुनावी प्रतिस्पर्धामा पनि अगाडि देखिन्छन् ।

आफूले गौरको विकासका लागि पहिले पनि काम गरेको र अब पनि योजनाबद्ध रुपमा गौरलाई समृद्ध सहर बनाउने एजेण्डा उनले अनलाइनखबरलाई सुनाए ।

२० वर्ष देखि रोकिएका विकासका योजनाहरु र समृद्ध सहर निर्माणका लागि चाहिने आवश्यक पूर्वाधारहरु आफूले बनाउने यादवले बताए ।

अजय गुप्ता (राजपा)

निकै छोटो अवधिका लागि २०६२ सालमा शाहीकालका बेला मेयर पदमा निर्वाचित भएका अजय गुप्ता यस पटक राजपाबाट चुनाव लडदै छन् ।

दुई महिनाको अवधिका लागि मेयर बनेका गुप्ताले खेलकुद तथा बरहवा ताल क्षेत्रको प्रवर्द्धनका लागि काम गरेका थिए भने सडक तथा डम्पीङ साइट निर्माणका लागि नितिगत योजना पास गरेका थिए ।

मधेस आन्दोलनमा रौतहटको नेतृत्व गरेका गुप्ता गौरवासीले आफूलाई विश्वास गर्नेमा ढुक्क छन् ।

मधेस आन्दोलनको मुख्य भूमि गौरमा मधेसकेन्दि्रत दल राजपालाई नै जनताले पत्याएको उनको दावी छ । मधेस विरोधी शक्तिहरुलाई परास्त गर्न जनता तयार रहेको गुप्ताले बताए ।

मेयरको प्रत्यासीका रुपमा देखिएका गुप्ताले दोश्रो संविधान सभाको निर्वाचनमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई कडा टक्कर दिएका थिए ।

शभ्मू साह (नेकपा एमाले)

लामो समय एमाले निकट रहेका शम्भू साह ६ महिना अघिमात्रै औपचारिक रुपमा पार्टी प्रवेश गरेका हुन् । निर्माण व्यवसायी तथा संचार उद्यमी साह निकै कठिन समयमा एमालेमा प्रवेश गरेका थिए ।

जुद्ध माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रहेका साह राजनीतिक व्यक्ति भन्दा पनि सामाजसेवीका रुपमा आफूलाई चिनाउछन् ।

पार्टीकै वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई गृहनगर आउन गाह्रो हुने मधेस आन्दोलन पछिको समयमा पार्टी प्रवेश गरेका साहलाई त्यती नै बेला एमालेले मेयरको उम्मेदवारको रुपमा परिचित गराएको थियो ।

मधेसको ठाँउमा विभिन्न अवरोधका बीच एमालेले शम्भू साहको रुपमा एक बलियो उम्मेदवार भेटेको छ ।

पूर्वाधार विकास तथा समृद्ध सहर बनाउने नाराका साथ साहले मतदातासँग मत मागिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment