Comments Add Comment

५९२ सांसद अब ३९ दिनका पाहुना, भाइटीकाकै दिन भूतपूर्व हुने

२७ भदौ, काठमाडौं । व्यवस्थापिका संसदका सांसदहरुको कार्यकाल अब ३९ दिनमात्र बाँकी रहने भएको छ । कात्तिक ५ गते पहिलो चरणको चुनावको उम्मेदवार मनोनयनअघि नै अर्थात ४ गते नै अहिलेका सांसदहरु भूतपूर्व हुनेछन् ।

नेपालको संविधानको धारा २९६ मा रुपान्तरित व्यवस्थापिका संसदको कार्यकाल २०७४ माघ ७ गतेसम्म रहने भनेको छ । तर कार्यकाल पूरा हुनु अगावै प्रतिनिधिसभा निर्वाचन हुने भएमा त्यस्तो निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दाखिला गर्ने अघिल्लो दिनसम्म व्यवस्थापिका संसद कायम रहने संवैधानिक व्यवस्था छ ।

सोही व्यवस्था अनुसार कात्तिक ४ गतेबाट अहिलेका सांसदहरुको कार्यकाल समाप्त हुने संविधानविद समेत रहेका कांग्रेस सांसद राधेश्याम अधिकारीले बताए । मनोनयन कात्तिक ५ र १५ मा हुने भएकाले कुन मनोनयपत्र दाखिला गर्ने दिनलाई गन्ने भन्ने प्रश्न उठिरहेका बेला अधिकारीले यस्तो प्रतिक्रिया दिए ।

त्यसो त संविधानसभा अध्यक्ष समेत रहिसकेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि कात्तिक ४ लाई नै व्यवस्थापिका संसदका सदस्यहरुको अन्तिम कार्यकाल मान्नुपर्ने बताए । ‘हुन त मेरो जिल्लामा मनोनयन कात्तिक १५ गते हुनेछ तर मेरो कार्यकाल पनि कात्तिक ४ मै सकिन्छ, यसमा दोहोरो मापदण्ड हुँदैन,’ नेम्वाङले भने ।

संयोगवश सांसदको कार्यकाल समाप्त हुने कात्तिक ४ गतेकै दिन हिन्दू धर्मावलम्बीहरुको ठूलो पर्व तिहारको भाइटीका परेको छ । व्यवस्थापिका संसदमा हाल ५९२ सांसद छन् । उनीहरु भाइटीकाकै दिन भूतपूर्व हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment