+
+
Shares

रामेछाप कांग्रेसमा विवाद

सभापति र सचिवको विवाद सामाजिक सन्जालमा पोखियो

नवराज पथिक नवराज पथिक
२०७४ भदौ २८ गते १०:१०

२८ भदौ, रामेछाप । स्थानीय तहको निर्वाचनमा शर्मानाक पराजय व्यहोरेको रामेछाप कांग्रेसमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मुखमा अन्तरकलह चर्किएको छ । जिल्ला सभापतिले विधानविपरीत झुक्याएर पदाधिकारी मनोयन गरेको भन्दै निर्वाचित सचिवले विरोध गरेपछि विवाद सतहमा आएको हो ।

रामेछाप कांग्रेस विवादको जड

नेपाली कांग्रेस पार्टीमा पद र प्रतिष्ठाको विषयमा बारम्बार विवाद हुने गरेको छ । त्यो विवाद धर्ना , अनसन, कार्यालयमा तालावन्दी र आक्रमणका घटनामा समेत परिणत हुने गरेका छन् । यसअघिका पार्टी सभापतिहरुले पनि यस्ता खालका समस्याहरु प्रायः भोग्दै आएका छन् ।

त्यस्तै विरोध अहिलेका पार्टी सभापतिले पनि भोग्नु परेको छ । तर यो विरोध चुनावको मुखमा सुरु भएकोले यसले आउने प्रदेश र संघको चुनावमा कांग्रेसलाई नराम्रो प्रभाव पार्ने देखिन्छ ।

नेपाली कांग्रेसका सभापति लवश्री न्यौपानेले सभापतिमा निर्वाचित भएपछि पदाधिकारी र सदस्यहरु मनोनित गर्न सकेका थिएनन् । लामो समयदेखि मनोनित गर्न नसकेका ३ जना पदाधिकारी र केही सदस्यहरुलाई उनले मनोनित गरेपछि एकलौटी गरेको भन्दै उनको चर्काे आलोचना भएको छ ।

न्यौपानेले निर्वाचित सदस्यहरु मध्येबाट जितेन्द्र मोक्तान, एकबहादुर बस्नेत र सुवाष घिसिङलाई क्रमश ः उपसभापति, सचिव र सहसचिवमा मनोनित गरेका छन् । यसैगरी ताराराम श्रेष्ठ , नारायणबहादुर खड्का , केशब महत , नवराज थोकर , घननारायण श्रेष्ठ (धनश्याम) र भोजबहादुर खड्का (सुन्दर) लाई जिल्ला कार्यसमितिको सदस्य पदमा मनोनित गरेका छन् । त्यसैको प्रतिक्रियास्वरुप असन्तुष्ट पक्षले सभापतिको विरोध गरी रहेका छन् ।

झुक्याएर पदाधिकारी चयन गरियो: सचिव कार्की

जिल्ला कार्यसमितिमा असन्तुष्ट पक्षको नेतृत्व गरी रहेका निर्वाचित पार्टी सचिव लेखबहादुर कार्की सभापतिले झुक्याएर बैठक गरी पदाधिकारी छानेको आरोप लगाउँछन् ।

उनले भने, ‘पार्टी विधानमा पदाधिकारी मनोनयन गर्दा पार्टी सभापतिले निर्वाचित सदस्यहरु मध्येबाट पदाधिकारी बनाउन निर्वाचित समितिको बैठकमा प्रस्ताव गर्ने र त्यसको बैठकले निर्णय गर्ने व्यवस्था छ । तर सभापतिले म निर्वाचित सचिवलाई समेत थाहा नै नदिई केही मान्छेहरु राखेर अर्कै प्रयोजनको लागि बैठक बोलाई हस्ताक्षर गर्न लगाएर पदाधिकारी नियुक्त गरेका छन् ।’

‘जिल्ला समन्व समितिको उम्मेदवार छनौट गर्न बोलाइएको बैठकमा सभापतिले सो प्रस्ताव ल्याएर अनुमोदन गराएछन् । त्यसपछि सदस्यहरुलाई बोलाउँदै झुक्याएर हस्ताक्षर गराएका छन् । अरुका त कुरा छाडौं मसँग समेत कुनै सल्लाह नै गरेनन्’, उनले थपे ।

सदस्यहरु मनोनयन गर्ने अधिकार सभापतिलाई भए पनि त्यस विषयमा समेत कसैसँग सल्लाह नगरेको उनले आरोप लगाए ।

सचिव कार्कीले यस विषयमा पार्टी केन्द्रमा पनि लिखितरुपमा उजुरी गरेको बताए । यदि सभापतिको सो निर्णय नसच्चिए पार्टीभित्र ठूलो दुर्घटना हुने उनको भनाइ छ । कार्कीलगायत असन्तुष्ट नेतहरुले सामाजिक सञ्जालमार्फत पनि सभापतिलाई चेतवानी दिएका छन् ।

म विधिसम्मत छु: सभापति न्यौपाने

सचिवलगायतका नेताहरुले लगाएको आरोप मान्न पार्टी सभापति न्यौपाने तयार छैनन् । अाफू पार्टी विधान अनुसार नै चलेको उनले अनलाइनखबरलाई बताए । उनले आफूले  पार्टी विधानले दिएको अधिकारको प्रयोग गरेर ८ जना सदस्य मनोनित गरेको बताए ।

यस्तै पदाधिकारीको सन्दर्भमा आफूले  नाम प्रस्ताव गरेको र निर्वाचित समितिका सदस्यहरुको दुई तिहाई वहुमतले त्यसलाई अनुमोदन गरेको उनले बताए । ‘मैले विधान बाहिर गएर केही काम गरेको छैन । आफू र अाफ्ना मान्छेले पद नपाएको झोकमा कसैले असन्तुष्टि जनाउँछ भने मेरो भन्नु केही छैन’, सभापति न्यौपानेले भने ।
यो विवाद गर्ने बेला हैन: निवर्तमान सभापति खड्का

पार्टीका निर्वतमान सभापति रामचन्द्र खड्का भने चुनावको मुखमा पार्टीका नेताहरुको बिचमा भएको हिलो छ्यापाछ्यापबाट सन्तुष्ट छैनन् । संघको निर्वाचनको टिकटका दावेदारसमेत रहेका खड्का यो सबैले संयमित हुनुपर्ने बेला भएको बताउँछन् । ‘स्थनीय तहको निर्वाचनमा पनि पार्टीले नराम्रो हार व्यहोर्यो । अब प्रदेश र संघको निर्वाचनको बेलामा आएर यस्ता गतिविधि हुँदा यसले अन्ततः पार्टीलाई नराम्रो गर्छ । त्यसैले सबै संयमित भई विवेक प्रयोग गरेर अघि बढ्नु पर्छ’, खड्काले भने ।

उनले एकलौटी रुपमा चल्दा विगतमा पार्टी दुर्घटनामा परेको कुरालाई कसैले पनि विर्सन नहुने बताए ।

उनले दुवै पक्ष वार्तामा बसेर छलफल र सहमतिबाट विवाद समाधान गर्न लाग्नु पर्नेमा जोड दिए । ‘सभापतिजीले पनि बसेर छलफल गरेको भए हुन्थ्यो । मनोनित भएका पात्रहरु सबै जिम्मेवार, इमान्दार कांग्रेसका नेताहरु छन् । तर मनोनयन गर्ने बेला सल्लाह भएन भन्ने साथीहरुको गुनासो हो । सभापतिलाई कतिपय विषयमा निर्णय गर्ने अधिकार भए पनि विवाद कम हुने गरी सामुहिक भावनालाई समेटेर अघि बढ्नु पर्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?