Comments Add Comment

एकै ठाउँमा बिभिन्न दलको र्‍यालीः एमाले-राजपा पटक-पटक आमनेसामने

३० भदौ, सप्तरी । शुक्रबार प्रदेश नम्बर २ को स्थानीय निकाय निर्वाचन प्रचार-प्रसारको अन्तिम दिन । घरदैलो र प्रचार-प्रसारको अन्तिम दिन शुक्रबार राजनीतिक दलहरुले शक्ति प्रदर्शन गरेका छन् । कोहि घरदैलोमा दिनभर लगाएका छन् त कोहि मोटरसाइकल र्‍यालीको आयोजना गरेका छन् ।

दलहरुको प्रचार-प्रसाररुपी अन्तिम शक्ति देखाउने क्रममा सप्तरी सदरमुकाम राजविराज दिनभर भरिभराउ देखियो । यस्तो कुनै दल र त्यसका उम्मेदबार थिएन जो शुक्रबार राजविराजको चारैतिर परिक्रमा नगरेको होस् । कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक फोरमसहितका दलका कार्यकर्ताहरुको व्याप्क उपस्थिति देखियो राजविराजमा । एकातिर एक दल, अर्कोतिर अर्को दल होइन, राजविराजमा शुक्रबार साँझसम्म एउटै ठाउँमा धेरै दलले आफ्नो र्‍याली निकालेका छन् ।

सबभन्दा ठूलो कुरा त यसअघि राजविराजको सडकमा निस्किन नसकेको एमाले र निस्किन नदिने राजपा तथा संघीय समाजवादी फोरमको र्‍याली धेरै ठाउँमा आमने-सामने भए । गजेन्द्र चोकमा पनि राजपा र एमालेको जुलुस आमने सामने भयो । तर यी दुई पार्टीका नेता/कार्यकर्ता हाँस्दै एकअर्कालाई हाई-हाई गरेको दृश्यले राजनीतिक सौहाद्रता बढेको देखियो ।

अत्यधिक भिडका कारण त कतिपय ठाउँमा मिसिएर दलका कार्यकर्ताहरु आफ्नो प्रचार-प्रसार गरे र्‍याली निकालेर । नगरको धेरै ठाउँमा धेरै पार्टीको झण्डा एकै ठाउँमा देखापरेको थियो ।

एमालेले पैदल र्‍याली निकालेको छ भने राजपाले र्‍यालीसहित घरदैलो अभियान राजविराज बजारमै सञ्चालन गरेको छ । संघीय समाजवादी फोरम नेपाल तथा लोकतान्त्रिक फोरम नेपालले मोटरसाइकल र्‍याली प्रदर्शन गरेको छ ।

नेपाली कांग्रेसले नगरभित्रै घरदैलोलाई दिनभर निरन्तरता दिएको छ भने नेकपा माओवादी केन्द्रले पनि घरदैलो र र्‍याली प्रदर्शन गरेको छ ।

नगरमा सबै पार्टी एकैपटक एकै समयमा र्‍याली निकालेपछि केहि घटना हुने त्रास प्रशासनलाई पनि थियो । यसका निम्ति सुरक्षाकर्मी पनि व्याप्क परिचालन गरिएको थियो । तर राजनीतिक दल र उम्मेदवारहरुले निकालेको र्‍याली सफलतापूर्वक सम्पन्न भएको छ ।

राजनीतिक दलका नेता/कार्यकर्ताहरु प्रचार-प्रसारको अन्तिम दिन राजविराज बजार क्षेत्रलाई नै केन्द्रबिन्दुमा राखेर प्रचार प्रसार गरेपछि यहाँको ट्राफिक व्यवस्थापन समस्यामा परेको थियो । नेता/कार्यकर्ताको चापले नगरका साना सबारीसाधन गुड्न पनि समस्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment