Comments Add Comment

झापामा उम्मेदवार खोज्दै विवकशील साझा पार्टी

स्नातक उत्तीर्णको तलब ५० हजार बनाउने आश्वासन

३१ भदौ, झापा । प्रमुख राजनीतिक दलहरु प्रदेश २ को स्थानीय निर्वाचनमा केन्द्रित भइरहेका बेला विवेकशील साझा पार्टीले भने प्रदेश र संसदीय चुनावका लागि दौडधुप सुरु गरेको छ ।

पार्टीले भदौ २४ गते शनिबारदेखि बुटवलबाट प्रदेश र संसदीय चुनाव केन्दि्रत अभियान सुरु गरेको हो । यो अभियान चितवन, पर्सा, बारा, सुनसरी र मोरङ हुादै झापाको बिर्तामोड आइपुगेको छ ।

साझा पार्टी र विवेकशील नेपालीको एकीकरणपछि मोफसलमा संगठन सुदृढीकरण साथै प्रदेश र संसदीय चुनावका लागि उम्मेदवार खोज्दै पार्टी मोफसलतिर छिरेको विवेकशील साझा पार्टीका झापा संयोजक दधिराम ढकालले बताए ।

टोलीमा पार्टीका संयोजकद्वय रविन्द्र मिश्र, उज्जवल थापा, केन्द्रीय सदस्य गोविन्द नारायण र मुमाराम खनाल छन् ।

झापामा यस्तो छ तयारी

विवेकशील साझा पार्टीले प्रदेश र संसदीय चुनावमा उम्मेदवार बनाउन योग्य व्यक्तिको खोजी गरिरहेकोे छ । पार्टीले सम्बन्धित निर्वाचन क्षेत्रमा प्रभावशाली स्वतन्त्र व्यक्तिलाई उठाउने भन्दै उम्मेदवारीका लागि आह्वान पनि गरिरहेको छ ।

झापाको पाँचवटै निर्वाचन क्षेत्रमा विवेकशील साझाले उम्मेदवार खोजिरहेको बताइएको छ ।

स्रोतका अनुसार निर्वाचन क्षेत्र नं. ५ मा दमक पब्लिक लाइब्रेरीका अध्यक्ष भेषराज न्यौपानेले उम्मेदवारीका लागि आवेदन दिएका छन् । उनी त्यहाँ युवा पुस्तामाझ लोकप्रिय व्यक्ति मानिन्छन् ।

सोही क्षेत्रबाट गौरादहका डा. तिलक खनालले पनि उम्मेदवारीका लागि आवेदन दिएको बताइएको छ । उनी दन्तरोग विषेशज्ञ हुन् ।

अन्य व्यक्तिहरुले पनि उम्मेदवारीका लागि आवेदन दिन सक्ने भन्दै अहिले टिकट कसलाई दिने भन्ने कुरा छलफलमै रहेको बताइएको छ ।

पूर्वी नाका कााकरभिट्टा पर्ने निर्वाचन क्षेत्र नं. १ बाट विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य ज्ञानेन्द्र निरौलालाई उठाउने प्रबल सम्भावना रहेको बताइन्छ । उनी स्थानीय व्यवसायी हुन् ।

झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोड पर्ने क्षेत्र नं. २ मा कसलाई उठाउने भन्ने विषयमा शुक्रबार साँझ केन्द्रीय नेतासहित जिल्ला र बिर्तामोडका नेताबीच छलफल भएको थियो ।
विवेकशील साझा पार्टीले झापाको बिर्तामोड, अर्जुनधारा, मेचीनगर, भद्रपुर, पृथ्वीनगर, घेराबारी लगायतको क्षेत्रलाई आफ्नो प्रभाव क्षेत्र मानेको छ ।

पार्टी एकीकरणअघि झापामा विवेकशीलका १ सय ५१ जना सक्रिय सदस्य थिए । अहिले जिल्लामा १३ हजार बढी समर्थक रहेको पार्टीको जिल्ला समितिले दाबी गरेको छ ।

पार्टीले काठमाडौं उपत्यकाका उम्मेदवारलाई बढी जोड दिने निर्णय गरेको पनि स्रोतले जनाएको छ । साथै, अन्य क्षेत्रमा जित्न सक्ने सम्भावना भएका व्यक्तिहरुलाई बढी जोड दिने पार्टीले नीति लिएको बताइन्छ ।

‘विवेकशीलको उम्मेदवार हुनलाई हाम्रै कार्यकर्ता हुनुपर्छ भन्ने छैन’, झापा जिल्ला अध्यक्ष ढकाल भन्छन्, ‘समाजले रुचाएको र समाजका लागि केही गर्न सक्ने व्यक्तिलाई हामी उम्मेदवार बनाउाछौं । सम्भावित उम्मेदवारहरुसँग छलफल पनि भइरहेको छ ।’

स्नातक उत्तीर्णको तलब ५० हजार !

विवेकशील साझा पार्टीका सहसंयोजक रविन्द्र मिश्रले स्नातक तह उत्तीर्ण गरेको विद्यार्थीको सुरुवाती तलब नै ५० हजार रुपैयाँ हुनेे अवस्था सिर्जना गर्ने बताएका छन् ।

झापाको बिर्तामोडमा पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामी ब्याचलर लेभल पास गरेको विद्यार्थीले ५० हजार रुपैयाँ तलब पाउने अवस्थाको सिर्जना गर्ने गरी आर्थिक समृद्धि गर्न चाहन्छौं ।’

बिर्तामोडका युवा सरोज पौडेलले विवेकशील साझा पार्टीलाई भोट दिनुपर्ने कारण बारे सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । युवालाई समेट्ने योजनाको फेहरिस्त प्रस्तुत गर्दै उनले भने, ‘हामी विद्यार्थीलाई विवेकशील साझा पार्टीको झण्डा बोक्नुस् भन्दैनौं । तर, उहााहरुले राजनीतिलाई चाहिँ बुझ्नुपर्छ ।’

आफ्नो भनाइमाथि विश्वास दिलाउँदै उनले भने, ‘गर्भमा रहेको बच्चामाथि शङ्का गर्‍यौं भने त्यो नराम्रो नै हुन्छ । तर, उत्कृष्ट मान्छे बन्छ भन्ने सोच्नुभयो भने ऊ उत्कृष्ट नै हुन्छ ।’

उनले आफूहरुको सबै ध्यान प्रदेश र संसदीय चुनावमा रहेको बताए । ‘यो छोटो समयमा हाम्रो बुद्धि, क्षमता र समय सबै कुरालाई चुनावमा केन्द्रित गरेका छौं’, उनले भने, ‘र, कुनै पनि हालतमा अबको संसद्मा हाम्रो सशक्त राष्ट्रिय उपस्थिति होस् भन्ने अपेक्षामा छौं ।’

पहिलो चरणको चुनावअघि साझा र विवेकशील पार्टीको एकीकरण के कारणले सम्भव भएन ? भन्ने प्रश्नमा उनले भने, ‘त्यसबेला पनि हाम्रो मूल्य, मान्यता र एजेण्डा एक थियो । तर, प्राविधिक कारणले एकीकृत हुन सकेनौं ।’

‘चुनावपछि प्राविधिक कुरा पनि मिल्यो र हामी एक भयौं’, उनले थपे, ‘त्यसबेला पनि हामीमा धेरै मतान्तर थिएन ।’

पार्टीका अर्का सहसंयोजक उज्जवल थापाले आफूहरुले सेवक सरकारको परिकल्पना गरेको बताए । ‘हामीले कल्पना गरेको सरकार अहिलेको जस्तो शोसक र शासक सरकार होइन’, उनले भने, ‘सेवाग्राहीमैत्री सरकार हुनुपर्छ भन्ने हाम्रो कुरा हो ।’

‘जब नागरिक विवेकशील हुन्छन्, समाज उद्यमशील हुन्छ, तब सरकार सेवक हुन्छ’, उनले भने, ‘तब राज्य कल्याणकारी हुन्छ ।’

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यद्वय मुमाराम खनाल र गोविन्द नारायणले पनि सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment