Comments Add Comment

सगरमाथाको उचाइ नाप्न तात्यो सरकार, सुरु भयो ‘लेबलिङ’

नापी विभाग भन्छ– सगरमाथा नाप्न हामी आफैं सक्षम छौं


५ असोज, काठमाडौं । भारतले सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने दाबी गरिरहँदा नेपाल आफैंले त्यसको सुरुवात गरेको छ । नापी विभागले प्रक्रिया सुरु भइसकेको जनाएको छ ।

विभागका अनुसार त्यसका लागि कार्यविधि निर्माणाधीन छ । ‘दशैंअघि नै कार्यविधि तयार भइसक्छ,’ विभागका निर्देशक अनिल मरासिनीले भने, ‘त्यसमा अन्तर्राष्ट्रिय विज्ञको समेत सुझाव लिएर उचाइ नाप्ने काम सुरु गर्नेछौं ।’

सुरु भयो लेबलिङ

विभागका अनुसार उचाइ नाप्ने प्रयोजनका लागि अहिले तल्लो भागमा रहेका राजमार्गको लेबलिङ सुरु गरिएको छ । ओखलढुंगा सदरमुकाम जोड्ने सडक हुँदै सोलुखुम्बुको सल्लेरीदेखि उदयपुरको बाँसबारीसम्म लेबलिङको काम भइरहेको छ । १२ वैशाख ०७२ को भूकम्पका कारण सडकको लेबलिङमा असर पुगे/नपुगेको यकिन गरी त्यसलाई प्रमाणित गर्ने काम भइरहेको मरासिनीले जानकारी दिए ।

‘कार्यविधि तयार भएपछि सोही लेबलिङलाई आधार बनाएर सगरमाथाको नाप लिने काम सुरु हुुन्छ,’ उनले भने ।

तीन वटा विधि, हाइब्रिड शैली अपनाइने

विभागका अनुसार यसका लागि मूलतः तीन वटा विधि प्रयोग हुन्छन् । ‘डाइरेक्ट मिजरमेन्ट’अन्तर्गत् प्रत्यक्ष रुपमा अगाडि÷पछाडि गरेर चुचुरोसम्मको उचाइ नापिन्छ ।

यस्तै, ‘ट्रेंगुलेसन’ विधिबाट पनि उचाइ नाप्न सकिन्छ, जसअनुसार निश्चित विन्दुलाई आधार बनाएर त्यसको कोण पत्ता लगाउने र सोही आधारमा क्रमशः अन्य विन्दुको कोण बनाउँदै उचाइ मापन गरिन्छ । हाल प्रमाणित सगरमाथाको उचाइ यही विधिबाट नापिएको हो ।

तेस्रो विधि हो, गुरुत्वलाई आधार बनाउने । जीपीएस प्रणालीबाट पनि उचाइ मापन हुन्छ । सन् २००५ मा चीनले यही विधिबाट सगरमाथाको उचाइ नापेको थियो । तर, त्यसले अन्तर्राष्ट्रिय मान्यता पाउन सकेन ।

विभागका अनुसार तीन वटै विधि प्रयोग गर्ने तयारी भइरहेको छ । एउटा मात्र विधि प्रयोग गर्दा विश्वसनीयता कम हुने भएकाले ‘हाइब्रिड’ पद्दति अपनाइने विभागको भनाइ छ ।

‘एउटा विधिबाट लिइएको नापलाई अन्य विधिबाट क्रसचेक गर्दै उचाइ नाप्ने योजना छ,’ निर्देशक मरासिनीले भने, ‘त्यसबाट सगरमाथाको उचाइको वैज्ञानिक विश्वसनीयता र अन्तर्राष्ट्रिय मान्यता पाउने विश्वास छ ।’

‘अन्य मुलुकलाई नाप्न दिन मिल्दैन’

सगरमाथाको उचाइ नाप्न नेपाल आफैं सक्षम रहेको विभागको भनाइ छ । गत माघमा भारतले सगरमाथाको उचाइ नाप्न सर्वे टोली पठाउन लागेको समाचार भारतीय सञ्चारमाध्यममा प्रकाशित भएका थिए ।

‘अन्तर्राष्ट्रिय विज्ञको परामर्श सहयोग र आवश्यक प्रविधि अपनाउन सकिन्छ,’ मरासिनीले भने, ‘तर, उचाइ नाप्ने काम कुनै मुलुकलाई दिन मिल्दैन ।’

आफैं सक्षम रहेको अवस्थामा अरु मुलुकलाई यस्तो संवेदनशील विषयमा प्रवेश गर्न दिन नहुने ठम्याइ विभागको छ । यद्यपि, अहिलेसम्म कुनै पनि मुलुकबाट त्यससम्बन्धि औपचारिक प्रस्ताव नआएको मरासिनीले बताए ।

बजेटमा समस्या छैन

विभागका अनुसार उक्त प्रयोजनका लागि बजेट अभाव छैन । अर्थ मन्त्रालयले त्यसको सुनिश्चितता दिइसकेको छ । उक्त प्रयोजनका लागि चालु आर्थिक वर्ष ०७४/७५ मा प्रारम्भीक चरणमा दुई करोड रुपैयाँ निकासा भइसकेको छ ।

उक्त विषयलाई विभागले आफ्नो वार्षिक कार्ययोजनामा समेत समावेश गरेको छ ।

यसअघि सन् २०११ मै त्यससम्बन्धि कार्यक्रम विभागले तयार पारेको थियो, जुन बजेटको जोहो हुन नसकेर अगाडि बढ्न सकेको थिएन ।

डेढ वर्षमा सकिने

उचाइ मापन गरेर त्यसको प्रतिवेदन तयार पार्न करिब डेढ वर्ष लाग्ने अनुमान छ । पर्वतारोही प्रयोग गर्नुपर्ने र सगरमाथा आरोहणका लागि वर्षमा दुई सिजन मात्र उपयुक्त हुने भएकाले पनि समय लाग्ने विभागको भनाइ छ ।

त्यसमा पनि उचाइ नाप्न एक सिजन मात्रै बढी अनुकुल हुन्छ । सम्भावित प्रकोपले पनि यस्तो काममा प्रभाव पार्ने भएकाले तोकिएको समयसीमामै काम सम्पन्न गर्न सम्भव हुने यकिन गर्ने अवस्था नरहेको विभागको भनाइ छ ।

सन् १८५५ मा तत्कालीन सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ आठ हजार आठ सय ४८ मिटर रहेको पत्ता लगाएको थियो । त्यतिबेला भारतमा बेलायती साम्राज्य कायम थियो ।

सर्वे अफ इन्डियाका तर्फबाट जर्ज एभरेस्टले उचाइ मापन गरेका थिए । सोही कारण उनकै नामबाट सगरमाथाको अंग्रेजी नामकरण माउन्ट एभरेस्ट गरिएको हो ।

यसबीचमा, इटाली, नेसनल जोग्राफीलगायतले सर्वोच्च शिखरको उचाइ नापेको दाबी गरेका थिए । ती दाबीले पनि अन्तर्राष्ट्रिय मान्यता पाएका छैनन् ।

भूकम्प र जलवायु परिवर्तनलगायत कारणले सगरमाथाको उचाइमा घटबढ हुन सक्ने शंका गरिँदै आएको छ । सोही कारण मापनको तयारी थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment