Comments Add Comment

सप्तरीका १२ तहको नतिजा सार्वजनिक, कसले कहाँ जिते ?

तिलाठी गाउँपालिका राजपाले जित्यो

७ असोज, सप्तरी । सप्तरीको थप पाँच स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । हालसम्म सार्वजनिक परिणामअनुसार, कांग्रेस ४, राजपा र फोरम ३/३ मा स्थानमा निर्वाचित भएका छन् ।

जिल्लाको सुरुङा नगरपालिकामा काग्रेसले जितेको छ । कांग्रेसका मुक्तिनाथ चौधरी मेयरमा तथा कांग्रेसकै बिन्दा पासवान उपमेयरमा निर्वाचित भएका हुन् । मेयरमा चौधरीले ५२७९ मत पाए भने उनका निकटतम प्रतिष्पर्धी एमालेका रामनारायण चौधरी ५०७९ मतमा रोकिए ।

त्यस्तै उपमेयरमा निर्वाचित बिन्दा पासवानले ५ हजार ३६ मत पाइन् भने उनका निकटतम प्रतिद्वन्द्वी सविना डोटेलले ५ हजार ४ मत ल्याइन् । योसँगै जिल्लामा कांग्रेसले चारवटा स्थानीय तह जितेको छ ।

यस्तै तिलाठी–कोइलाडी गाउँपालिकामा राजपाले जितेको छ । तिलाठी–कोइलाडी गाँउपालिकाको प्रमुखमा सतिश सिंह र उपप्रमुखमा सुचिता यादव निर्वाचित भएका हुन् । यो राजपाको तेस्रो जित हो । सिंहले २९८७ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अरुण यादव २८७२ मतमा सीमित भए ।

यस्तै, संघीय समाजवादी फोरम नेपालले तेस्रो जीत हात पारेको छ । बोदे बर्साइन नगरपालिकामा मेयर र उप–मेयर दुबैमा फोरम नेपालका उम्मेदबार विजयी भएका हुन् । मेयर पदमा संघीय फोरमका आतिश सिंह यादव ४५४७ मतसहित मेयर पदमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपाका अमरेन्द्र यादवले ३२९८ मत प्राप्त गरेका छन् ।

उपमेयरमा पनि फोरम नेपालकै रंजु साह निर्वाचित भएकी छन् । साहले ३७२१ मत प्राप्त गर्दा राजपाबाट उप मेयरमा उम्मेदबारी दिएकी रेणु साहले ३६३७ मत प्राप्त गरिन् ।

यस्तै संघीय समाजवादी फोरम नेपालले जिल्लाको बलान–बिहुल गाउँपालिकामा पनि जितेको छ । संघीय फोरमका दयानन्द गोइत अध्यक्ष पदमा तथा उपाध्यक्षमा संघीय फोरमकै रुबी गुप्ता निर्वाचित भएका छन् ।

नयाँ शक्तिको खाता खुल्यो

नयाँ शक्ति पार्टी, नेपालले तेस्रो स्थानीय तह निर्वाचनमा खाता खोलेको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा उसले जित निकालेको हो ।

शनिबार बिहान सार्वजनिक परिणाम अनुसार, छिन्नमस्ता गाउँपलिकाको प्रमुखमा नयाँ शक्तिका उम्मेदबार सुर्यनारायण मण्डल ‘कुरुड’ निर्वाचित भएका छन् । उनी २८०५ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपाका उम्मेदवार विमला देवी १३८५ मतमा रोकिइन् ।

यस्तै उप मेयरमा राजपाका उम्मेदवार उषा मण्डल निर्वाचित भएकी छन् । उषाले १७१० मत पाउँदा नयाँ शक्तिकी प्रमिलाले १५८० मत मात्रै पाइन् ।

सप्तरीमा १२ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । चार तहमा कांग्रेस, संघीय फोरम र राजपा ३/३ तहमा तथा एकमा एमाले र एकमा नयाँ शक्तिले जित हात पारेको छ । कांग्रेसले सुरुङ्गा नपासहित बेल्ही चपेना, कृष्णासवरण, विष्णुपुर गाउँपालिका, राजपाले डाक्नेश्वरी नपा तथा रुपनी र तिलाठी कोइलाडी गाउँपालिका, संघीय फोरमले बोदे बर्साइन नगरपालिका तथा तिरहुत र बलान बिहुल गाउँपालिका जितेको छ । एमालेले सप्तकोशी नगरपालिका जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment