१२ असोज, काठमाडौं । जीवित देवीको रुपमा मानिने कुमारीको परिवर्तन गरिएको छ ।विभिन्न विधि र प्रक्रिया पुरा गर्दै गुठी संस्थान काठमाडौंले बिहीबार विधिवत रुपमा कुमारी परिवर्तन गरेको हो ।
बिहीबार मध्यान्ह १२ बजेको शुभसाइतमा कुमारीलाई हनुमानढोकास्थित कुमारी घरमा रहेको कुमारीको सिंहासनमा विराजमान गराइएको हो ।
त्यसअघि कुमारीलाई हनुमानढोकाको मुल चोकमा लगिएको थियो । मुल चोकमा दर्शन गराएपछि कुमारीलाई कुमारी घर लगेर विराजमान गराइएको हो । प्रतिस्थापन गरिएकी नयाँ कुमारीलाई भोलि अर्थात् नवमीको दिन वर्षमा एक दिन मात्रै खुल्ने तलेजु भवानीको दर्शन र साक्षात्कार गराइन्छ । पुर्ण तान्त्रिक विधिपुर्वक तलेजु भवानीको दर्शन एवं साक्षात्कार गराएपछि मात्रै उनलाई पुर्णरुपमा जीवित देवी कुमारीको रुपमा पूजा गनर्ेे गरिन्छ ।
तलेजु भवानीको जीवित रुपमा कुमारीलाई पाउन सकिने नेवारी सम्प्रदायमा भएको मान्यता अनुसार पहिला कुमारीलाई तलेजु भवानीको प्रत्यक्ष दर्शन गराइन्छ । तलेजु भवानीको दर्शन गराउनका लागि कुमारीलाई कुमारी घरबाट पैदल हिँडाएर लग्ने गरिन्छ । त्यस बाहेक अरु दिन कुमारीलाई हिँडाउने चलन छैन ।
गुठी संस्थान अन्तर्गत दिपक बहादुर पाण्डेयको संयोजकत्वमा गठित उपसमितिले सम्पूर्ण प्रक्रिया पूरा गरी कुमारीका लागि कन्या छनौट गरेको हो । उपसमितिले १८ वटा महाविहारका ३ जना प्रतिनिधि, पञ्चबुद्धका राजगुरुज्यु समेतको ५ जनाको छनौट समितिबाट कुमारीका लागि योग्य कन्या चयन गरेको थियो ।
वर्तमान कुमारीको उमेर हदका कारण प्रतिस्थापन गर्न आवश्यक देखिएको भन्दै गुठी संस्थानले नयाँ कुमारीको रुपमा मञ्जुश्री नक महाविहारका विजयरत्न शाक्य र श्रृजना शाक्यकी ३ वर्षीया छोरी तृष्णा शाक्यलाई छनौट गरेको हो । चार जना मध्येबाट राष्ट्र अनुकुलको योग अनुसार तृष्णा शाक्यको कुण्डली मिलेकाले उनैलाई छनौट गरिएको गुठी संस्थानले जनाएको छ । कुमारी चयन गर्दा राष्ट्र अनुसारको कुण्डली योग मिलाउने चलन रहि आएको छ ।
वर्ष भरि विभिन्न पर्व विशेषमा पर्व जात्रा अवलोकनका लागि १३ पटक कुमारीको सवारी चलाउने गरिन्छ । कुमारीका लागि औपचारिक शिक्षा लगायतका सबै सेवा कुमारी घर भित्र नै उपलब्ध गराइन्छ ।
प्रतिक्रिया 4