Comments Add Comment

यात्राको क्रममा थाक्नु भएको छ ? यसो गर्नुहोस्

 

१५ असोज, काठमाडौं । दशैं मनाउन जन्मथलो फर्केका अधिकांश कर्मथलोतिर लाग्ने तयारीमा छन् । परिवारसँग टीका, जमरा र मिठा परिकारका साथ समय बिताउनुको मज्जा नै बेग्लै । तर, त्यसका लागि गरिने यात्रा असहज र कष्टकर बन्ने गर्छ ।

कतिलाई ‘मोसन सिकनेस’ हुन्छ । यो भनेको यात्राका क्रममा टाउको दुख्ने, चक्कर लाग्ने र वान्ता हुने हो । हुन त, यो कुनै गम्भीर समस्या होइन । यद्यपि, मोसन सिकनेसले धेरैको यात्रा खल्लो बनाउँछ । तन्दुरुस्त मानिस पनि लामो यात्राका क्रममा थकित हुने गर्छन् । कतिपय त बिरामी नै पर्छन् ।

दशैंमा विभिन्न पर्यटकीय गन्तव्यमा पुगेकाहरु पनि यतिबेला थकित र क्लान्त छन् । शारीरिक अस्वस्थता भएको हुन सक्छ, उनीहरुलाई । थकान हटाउने केही उपायबारे चर्चा गरौं ।

खानपान

यात्राका दौरान खानपानमा विशेष ध्यान दिन आवश्यक छ । चिल्लो, पिरो, बोसोयुक्त र मसालेदार खाना तथा माछामासुका कारण एसिडिटी बढ्न सक्छ ।

त्यसैले यात्राका क्रममा प्रशस्त पानी पिउन जरुरी छ । त्यसबाहेक, फलफूल, जुस, काँक्रो, गाँजरलगायतको सेवनले पनि शरीरमा उर्जा प्रवाह हुन्छ ।

सीधा बसाइ

शरीरले तीन तरीकाबाट आराम प्राप्त गर्छ । मांसपेशी, शरीरका अंगहरु र सही आसन ।

जब हामी झुकेर वा कतै अडेस लागेर बस्छौं, त्यतिबेला मांसपेशीहरुले त आराम पाउँछन्, शरीरका अन्य अंगमा भने तनाव उत्पन्न हुने गर्छ ।

त्यसैले ढाडको हड्डीलाई सीधा राखेर शरीरलाई आराम दिलाउन सकिन्छ । निहुरिएर वा अडेस लागेर बस्नाले शरीरको कार्यक्षमता घट्न सक्छ ।

जेटल्यागको समस्या

लामो दूरीको हवाई यात्राका क्रममा जेटल्यागले पनि थकान महशुस हुन्छ । त्यसका लागि केही दिन अघिदेखि नै पूर्वतयार थाल्नुपर्छ । दिनमा कमसेकम २० मिनट घाममा बिताउने प्रयास गर्नुपर्छ ।

त्यसबाहेक, नाडीशुद्धि सरल योग प्रक्रिया अपनाउन सकिन्छ । यसमा सासको प्रयोग गरिन्छ । त्यसले ऊर्जा प्रणालीमा सन्तुलन कायम गर्न मद्दत पुग्छ ।

जेटल्याग भनेको समयान्तरमा यात्राका कारण पैदा हुने शारीरिक र मानसिक समस्या हो । यात्रामा अनिँदो र समयान्तरका कारण खानपान तथा सुत्ने समय नमिल्नाको कारण यस्तो समस्या आउँछ ।

जेट प्लेनमा यस्तो समस्या हुने भएकाले यसलाई जेटल्याग भनिएको हो ।

कतिलाई त हवाइजहाजमा बस्दा पनि थकान महशुस हुने गर्छ । एउटा समयबाट अर्को समयमा प्रवेश गर्दा हाम्रो शरीरले त्यहाँको वातावरणसँग समायोजन गर्न गाह्रो पर्छ । र, जेटल्याग महशुस हुन्छ ।

विदेश जानु वा स्वदेश फर्किनुअघि केही दिन आफूलाई त्यहींको समयअनुसार ढाल्ने अभ्यास गर्नुपर्छ । साथै, प्रशस्त मात्रामा आराम गर्ने, स्वस्थकर खानेकुरा खाने र प्रशस्त मात्रामा पानी पिउँदा पनि समस्या नदेखिन सक्छ ।

विमानस्थल पुगेपछि भित्रै सकेसम्म यताउता हिँडडुल गर्नुपर्छ । एकै ठाउँमा लामो समय बस्नाले शरीरमा रक्त सञ्चारको समस्या उत्पन्न हुनसक्छ । शरीर सक्रिय राखेको अवस्थामा भने त्यस्तो समस्या आउँदैन ।

औषधीको प्रयोग नगर्ने

लामो दूरीको यात्रामा कतिलाई निद्रा नलाग्ने समस्या आउँछ । त्यसबाट बच्न औषधिको प्रयोग नगरेकै राम्रो ।

त्यसको साटो सम्बन्धित ठाउँको समयअनुसार आफूलाई ढाल्न सकेसम्म प्राकृतिक ढंगले नै शरीरलाई आराम दिनु ठीक हुन्छ । औषधिको प्रयोगले क्षणिक आराम त मिल्छ तर त्यसको असर दीर्घकालीन रुपमा देखिन सक्छ ।

मद्यपान नगर्ने

हवाइजहाजमा यात्रा गर्दा मद्यपान गर्नु आफैंमा घातक हो । कैयौं मानिस हवाइजहाज यात्राका क्रममा माद्यपान गर्न रुचाउँछन् ।

लामो दूरीको यात्रा क्रममा मद्यपानको असर तत्कालै महशुस हुँदैन । दीर्घकालीन असर भने गम्भीर हुन सक्छ । शरीरमा डिहाइड्रेसन उत्पन्न हुने भएकाले आकाशमा मदिरा सेवन नगरेकै राम्रो हो ।

उचाईका कारण अक्सर हाम्रो शरीरमा पानीको कमि हुने गर्छ । त्यसो हुन नदिन जतिसक्दो पानी पिउन आवश्यक छ । यसले शरीरमा पानीको मात्रा सन्तुलनमा रहन्छ । र, आराम पनि मिल्छ ।

चिया, कफीको साटो पनि पानीमै जोड दिनु राम्रो हो ।

यस्तै, शरीरलाई आराम दिने सबैभन्दा राम्रो माध्यम निद्रा हो । युरोप, अमेरिकालगायत लामो दूरीको यात्रामा निद्रा कम भएर थकान महशुस हुने गर्छ । त्यसैले विमानमा फिल्म हेर्ने, गेम खेल्ने गर्नुभन्दा आरामतिर ध्यान दिनु जरुरी छ ।

यात्राका क्रममा शरीरलाई असहज हुन नदिन ट्राभल पिलो, तकियालगायत सामग्री साथमा लैजान सकिन्छ । सुत्दा घाँटीमा दक्खल नपरोस् भन्नका लागि पछाडि चेप्टो या बेलुनजस्तो फुलेको सिरानी आवश्यक हुन्छ ।

यात्रामा खुट्टा सुन्निने समस्या अधिकांशमा हुन्छ । शारीरिक व्यायाम नभएका कारण त्यस्तो समस्या आउने हो । लामो यात्रामा सिटबाट उठेर सामान्य हिँडडुल गर्ने, बाथरुम जाने गर्दा यस्तो समस्या आउँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment