Comments Add Comment

त्रिपाठीसहित पाँच नेताद्वारा राजपाबाट विद्रोह, सूर्य चिन्हमा चुनाव लड्ने

हृदयेश त्रिपाठी

१६ असोज, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) को अध्यक्ष मण्डलका सदस्य हृदयेश त्रिपाठीसहितका पाँच नेताले पार्टीबाट विद्रोह गरेका छन् ।

हाल ‘स्वतन्त्र राजनीतिक समूह’ बनाएका उनीहरु एमालेको सूर्य चिन्हबाट आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सहभागी हुने भएका छन् ।

एमालेद्वारा प्रकाशित प्रेस विज्ञप्तिअनुसार सोमबार पार्टी महासचिव ईश्वर पोखरेल र उक्त समूहका नेताहरुबीच यस्तो लिखित सहमति भएको हो । सहमति पत्रमा एमालेका तर्फबाट महासचिव पोखरेल तथा समूहका तर्फका त्रिपाठी, बृजेशकुमार गुप्ता, पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदीश शुक्लाले हस्ताक्षर गरेका छन् ।

पूर्वसांसद तथा पूर्वमन्त्री त्रिपाठीको निर्वाचन क्षेत्र नवलपरासी, गुप्ता र ईश्वरदयालको कपिलवस्तु तथा पशुपतिदयाल र शुक्लाको बाँकेमा पर्छन् ।

दुई पक्षबीच सोमबार भएको दुईबुँदे सहमतिअनुसार समूहका नेताहरु सोही परिचयका साथ चुनावमा सहभागी हुनेछन् तर चिन्ह भने सूर्य प्रयोग गर्नेछन् ।

‘तराई मधेशसमेतका बासिन्दालाई शोषण, उत्पीडन, विभेद र असमानताबाट मुक्त गरेर न्याय, समानता र समृद्धि सुनिश्चित गर्नु हाम्रो साझा जिम्मेवारी हो,’ विज्ञप्तिको दोस्रो बुँदामा उल्लेख छ, ‘हामीहरु संविधान कार्यान्वयनका क्रममा देश र जनताको आवश्यकताअनुसार परिमार्जन र विकास गर्दै जान, तराई मधेशका साथै समग्र राष्ट्रमा आर्थिक विकास र सामाजिक न्याय सुनिश्चित गर्न र सम्पूर्ण नेपालीको सुखी र समृद्ध जीवनका लागि सहकार्य गर्न सहमत भएका छौं ।’

६ वटा मधेशकेन्द्रित दल मिलेर राजपा गठन भएपछि तत्कालीन तमलोपाका सह-अध्यक्ष त्रिपाठी असन्तुष्ट रहँदै आएका थिए । लामो समयदेखि उनी एमाले प्रवेश गर्न लागेको हल्ला चल्दै आएको थियो ।

प्रदेश २ को स्थानीय तह निर्वाचनमा पनि उनी राजपाका लागि सक्रिय देखिएका थिएनन् । पहिलो र दोस्रो चरणको निर्वाचन राजपाले बहिष्कार गरेको थियो ।

हेर्नुहोस् राजपा नेताहरुको विज्ञप्ति 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment