१६ असोज, काठमाण्डौ । नेकपा माओवादी केन्द्रले एमाले लगायतका दलसँग चुनावी तालमेलबारे छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वार्ता समिति गठन गरेको छ ।
सोमबार झण्डै ६ घण्टासम्म बसेको माओवादी सचिवालय बैठकले आसन्न प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा तालमेलबारे छलफल गर्न अध्यक्ष प्रचण्डको नेतृत्वमा नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहेको उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
प्रवक्ता भुसालले अनलाइनखबरसँग भनिन्, ‘चुनावमा एमालेसँग तालमेल गरेर जाने निर्णय भएको छ । त्यसका लागि कहाँ, कसरी तालमेल गर्ने भन्ने विषयमा सबै निर्णय गर्ने जिम्मा अध्यक्ष नेतृत्वको समितिलार्इ दिइएको छ ।’
सो समितिलाई मुलुकको आवश्यकतालाई हेरी तालमेल वा पार्टी एकतासम्मको निर्णय लिनसक्ने गरी जिम्मेवारी दिइएको बताइएको छ ।
नेकपा एमालेले वाम तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट माओवादीले यस्तो निर्णय गरेको हो ।
तालमेलका लागि बिगत केही दिनदेखि एमाले र माओवादी नेताहरुवीच अनौपचारिक छलफल भइरहेको बताइएको छ । ती छलफललाई सार्थक बनाउन मंगलबार प्रचण्ड नेतृत्वको समिति र एमाले नेताहरुवीच छलफलको तयारी भइरहेको माओवादी नेताहरुले जानकारी दिएका छन् ।
प्रतिक्रिया 4