Comments Add Comment

जिसस चितवनको निर्वाचन असोज २५ गते

१८ असोज, चितवन । चितवन जिल्ला समन्वय समिति गठनका लागि असोज २५ गते निर्वाचन हुने भएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समिति (जिसस) चितवनको निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

मतदान विहान १० बजेदेखि दिउँसो १ बजेसम्म हुने सहायक निर्वाचन अधिकृत गम्भिर घिमिरेले जानकारी दिए । उम्मेदवारको मनोनयन पत्र दर्ताका लागि असोज २३ गते विहान १० देखि दिउँसो १२ः३० बजेसम्मका लागि समय तोकिएको घिमिरेले जानकारी दिए ।

यस्तै निर्वाचन तालिका अनुसार आज मतदाताको नामावली प्रकाशन गरिनेछ ।

चितवनका सात वटा स्थानीय तहका निर्वाचित नगर प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्षले मतदान गर्न पाउनेछन् । जिल्ला समन्वय समिति चितवन ९ जनाको हुनेछ ।

समन्वय समितिको अध्यक्ष, उपाध्यक्ष र ७ सदस्यका लागि निर्वाचत जनप्रतिनिधिले उम्मेद्वारी दिन पाउनेछन् । जिल्ला समन्वय समिति प्रमुख, उप-प्रमुख, तीन महिला सदस्य, एक जना दलित अल्पसंख्यक र तीन जना खुल्ला सदस्य गरी ९ जनाको बोर्ड बन्नेछ ।

चितवनका सात स्थानीय तह मध्ये, नेकपा एमालेले चार स्थानीय तहमा प्रमुख-उपप्रमुख र एक स्थानीय तहमा उपप्रमुख जितेको छ । नेपाली कांग्रेसले भरतपुर महानगरपालिकाको उपमेयर र इच्छाकामना गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको छ । यस्तै माओवादी केन्ऽले भरतपुर महानगरपालिका र माडी नगरपालिकाको मेयरमा विजयी भएको छ ।

जिसस चितवनको अध्यक्षसहितका सबै सदस्यहरु एमालेले जित्ने देखिएको छ । जिल्लाका ७ स्थानीय तहका १४ जना प्रमुख र उपप्रमुख मध्ये ९ जना एमालेका मात्रै छन् भने, कांग्रेसको ३ र माओवादीका २ जना छन् । एमालेले जिसस चितवनको प्रमुखमा कृष्णकुमार डल्लाकोटीलाई उम्मेदवार बनाएको छ भने, उपप्रमुखमा मुना श्रेष्ठलाई उम्मेदवार बनाएको छ । कांग्रेसले अहिलेसम्म पनि उम्मेदवार तोकेको छैन । एमाले र माओवादीबीच आगामी निर्वाचनमा तालमेल गर्ने सहमती भएपछि महानगरमा कांग्रेससँग गठवन्धन गरेको माओवादीले पनि उम्मेदवार उठाउने सोच बनाएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment