+
+

सीमामा असुली बढेपछि व्यवसायीले बाटो फेरे

'घुमाउरो बाटो प्रयोग गर्दा लागत बढ्यो'

सलमान खान सलमान खान
२०७४ असोज २० गते ९:५८

२० असोज, भैरहवा । सिद्धार्थ गुप्रका सञ्चालक राजेश अग्रवालले औद्योगिक सामग्री भैरहवा नाकाबाट आयात गर्दै आएका थिए । तर, अहिले उनले सीधा मार्ग छाडेर कृष्णनगरको घुमाउरो बाटो प्रयोग गर्न थालेका छन् ।

यो उनको रहर नभई बाध्यता हो । मधेस आन्दोलनमा वीरगञ्ज ठप्प रहँदा भैरहवा नाका उद्योगी व्यवसायीको रोजाइ बनेको थियो । अहिले तिनै व्यवसायी भैरहवावाट कपिलवस्तुको कृष्णनगर पुगेका छन् । सीमापारि सातादिनभन्दा बढी मालवाहक सवारी साधन रोकिनु र भारतीय प्रहरीको चर्को अवैध असुलीले उनीहरु बाटो फेर्न वाध्य भएका हुन् ।

घुमाउरो बाटो प्रयोग गर्दा लागत बढ्नुको साथै बजारमा प्रतिस्पर्धा गर्न गार्‍हो छ ।

मधेस आन्दोलनमा मुलुकको ‘लाइफलाइन’ बनेको थियो, भैरहवा । अवैध असुली नरोकिँदा फेरि पुरानै अवस्थामा फर्किने जोखिम बढेको छ । यस नाकालाई धरासायी बनाउनकै लागि चलखेल भइरहेको व्यवसायीको दाबी छ ।

नाकाबन्दीयताका दुई वर्ष भैरहवा ‘बुलेट टे्रन’कै गतिमा विकासको उकालो बाटो लागेको थियो । ‘त्यही गतिमा ब्रेक लगाउने प्रयासहरु सुरु भएका छन्,’ सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्मा भन्छन् ।

उनका अनुसार भारतीय प्रशासनले सीमापारि सुनौलीमा सातादिनभन्दा बढी मालवाहक सवारी साधनलाई लाइनमा राख्नु र जाँचका नाममा सास्ती दिँदा आयात प्रभावित बनेको छ । त्यसका कारण ‘डिटेन्सन चार्ज’को मार बढ्दा आयातकर्ताहरुमा भैरहवाको आकर्षण घट्न थालेको हो ।

डिटेन्सन चार्ज दैनिक साना गाडीको दुई हजार पाँच सय र कन्टेनरको २० हजार भारतीय रुपैयाँ लाग्छ ।

‘मालवाहक सवारीसाधन नाकामा १० देखि १५ दिनसम्म करिब ३० किलोमिटर लामो लाइनमा अनावश्यक रुपमा रोकिने गरेका छन्,’ अध्यक्ष शर्मा भन्छन् । सोही कारण घुमाउरो बाटोतर्फ ‘डाइभर्ट’ हुन थालेको उनी बताउँछन् ।

शर्माका अनुसार ५० प्रतिशत आयातकर्ता वीरगञ्ज र कपिलवस्तुको कृष्णनगर नाकातर्फ डाइभर्ट भइसकेका छन् ।

यस्तै अवस्था कायम रहे एक वर्षभित्रमा उद्योग बन्द गर्नुपर्ने अवस्थामा आउने सिद्धार्थ ग्रुप्रका सञ्चालक अग्रवाल बताउँछन् । नाकाको असहजताकै कारण उक्त ग्रुपद्वारा सञ्चालित मैदा उद्योग बन्द भइसकेको छ । अवस्थामा सुधार नआए सिमेन्ट र तेल उद्योग पनि बन्द हुने उनी बताउँछन् ।

दक्षिण अफ्रिकाबाट सजिलो, कोलकाताबाट गाह्रो

उद्योगीहरुका अनुसार बरु दक्षिण अफ्रिकाबाट कच्चा पदार्थ ल्याउन सहज छ, कोलकाताबाट असहज । त्यसमाथि भारतीय प्रहरीको अवैध असुलीले ढुवानी खर्च ह्वात्तै बढाइदिएको उनीहरुको भनाइ छ ।

केही महिनाअघि दुवै मुलुकका राजदूतलाई यसबारे ध्यानाकर्षण गराइएपछि सीमाका भारतीय प्रहरीको टोली नै परिवर्तन गरिएको थियो । तर, नयाँ टोलीले असुली दोब्बर बनायो । पहिलो दुई हजार पाँच सय तिर्दा हुनेमा अहिले प्रतिगाडी पाँच हजार असुल्न थालिएको छ ।

दुवैतर्फ एकीकृत जाँच केन्द्र (आईसीपी) स्थापना नगरिएसम्म यो समस्या नहट्ने अध्यक्ष शर्माको भनाइ छ । आईसीपी निर्माणमा भइरहेको ढिलाइले पनि समस्या लम्बिँदै गएको उनी बताउँछन् ।

भैरहवा भन्सारका अनुसार यस नाकाबाट दैनिक तीन सयभन्दा बढी सवारी साधन भित्रिन्छन् । मालवाहक सवारी साधनको आवागमन अवरुद्ध रहँदा राजश्व संकलनमा पनि आंशिक असर देखिएको भन्सारका सूचना अधिकृत गोपाल भट्टराई बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?