Comments Add Comment

प्रदेश २ को अन्तिम नतिजाः प्रमुखबाहेक सबै पदमा एमाले दोस्रो

कांग्रेस सबै पदमा पहिलो, गाउँपालिकामा फोरमले कांग्रेसलाई उछिन्यो

२० असोज, काठमाडौं । निर्वाचन आयोगले प्रदेश २ को स्थानीय तह चुनावको सम्पूर्ण विवरण सार्वजनिक गरेको छ । अन्तिम विवरणअनुसार स्थानीय तह प्रमुखको आधारमा पाँचौं नम्बरमा रहेको एमाले लोकपि्रय मत र वडाध्यक्षसहित सबै सदस्यको जितको आधारमा दोस्रो स्थानमा देखिएको छ ।

प्रमुख जितेका आधारमा दोस्रो बनेको संघीय समाजवादी फोरम भने लोकपि्रय मतका साथै वडाध्यक्ष र सम्पूर्ण सदस्य निर्वाचित भएको आधारमा पनि पाँचौं स्थानमा देखिएको छ । प्रमुख जितेको आधारमा माओवादी चौथो रहे पनि लोकपि्रय मत तथा वडाध्यक्ष र सदस्य जितेका आधारमा तेस्रो स्थानमा देखिएको छ ।

प्रमुख जितेका आधारमा तेस्रो स्थानमा रहेको राजपा वडाध्यक्ष र सदस्यहरुको समग्र नतिजाका साथै लोकपि्रय मतका आधारमा चौथो स्थानमा छ । कांग्रेसले समग्र नतिजामा प्रदेश २ को एक नम्बर स्थान पाएको छ । अरु दलको भने प्रमुख जितेको संख्या र समग्र निर्वाचित सदस्य तथा लोकपि्रय मतमा स्थान तलमाथि देखिएको छ ।

प्रदेश २ का एक महानगर, तीन उपमहानगरसहित ७७ नगरपालिकामध्ये कांग्रेसले सबैभन्दा बढी २६ वटाको प्रमुख जितेको छ । उपप्रमुखतर्फ कांग्रेसले २२ स्थान जितेको छ ।

राजपाले १४ प्रमुख र १७ उपप्रमुख जितेको छ । माओवादीले १३ प्रमुख र १८ उपप्रमुख जितेको छ भने एमालेले १२ प्रमुख र १४ उपप्रमुख जितेको छ । संघीय समाजवादी फोरमले १० प्रमुख र पाँच उपप्रमुख जित्दा अन्यले दुई प्रमुख जितेका छन् ।

गाउँपालिकातर्फ भने अध्यक्ष र उपाध्यक्ष जितेका आधारमा संघीय समाजवादी फोरम पहिलो बनेको छ । फोरमले १६ गाउँपालिका अध्यक्ष र २० उपाध्यक्ष जितेको छ । कांग्रेसले १४ अध्यक्ष र १३ उपाध्यक्ष जितेर दोस्रो स्थान कायम गरेको छ ।

राजपा ११ अध्यक्ष र १३ उपाध्यक्ष जितेर तेस्र्रो स्थानमा छ भने आठ अध्यक्ष र ६ उपाध्यक्ष जितेर चौथ्ाो स्थानमा छ । एमालेले ६ अध्यक्ष र पाँच उपाध्यक्ष जितेर पाँचौ स्थान सुरक्षित गरेको छ । अन्यले चार अध्यक्ष जितेका छन् ।

वडाध्यक्ष र सदस्यमा कांग्रेस पहिलो, एमाले दोस्रो

जनमत मापन हुने वडाहरुमा भने एमाले दोस्रो स्थानमा पुगेको छ । साविकका गाविसहरु अहिले वडा भएका छन् । प्रमुख जितेका आधारमा पाँचौं स्थानमा रहेको एमाले र चौथो स्थानमा रहेको माओवादी केन्द्रले बराबरी दुई सय ३० वडाध्यक्ष जितेका छन् ।

कांग्रेसले तीन सय ३८, राजपाले एक सय ९५, फोरमले एक सय ९१ वडाध्यक्ष जितेका छन् । अन्य विभिन्न समूह र स्वतन्त्रसमेत एक सय २० जना वडाध्यक्ष निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

दलित महिला सदस्यमा कांग्रेसका तीन सय २६, एमालेका दुई सय ४६, राजपाका दुई सय १४, माओवादीका दुई सय १२, फोरमका दुई सय पाँच र अन्य ५८ निर्वाचित भएका छन् ।

महिला सदस्यमा कांग्रेसका तीन सय २३, एमालेका दुई सय ५२, माओवादीका दुई सय १७, राजपाका दुई सय ११, संघीय समाजवादीका दुई सय नौ र अन्य ५९ जना निर्वाचित भएका छन् ।

खुला सदस्यतर्फ कांग्रेसका ६ सय ७६, एमालेका चार सय ८५, राजपाका चार सय ३७, माओवादीका चार सय २३, फोरमका चार सय एक र अन्य एक सय २० जना निर्वाचित भएको निर्वाचन आयोगको अन्तिम विवरणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment