शुक्रबार, ३ कार्तिक, २०७४
OnlineKhabar.com

‘कांग्रेस आत्तिएको छैन, अर्को एउटा गलत प्रयोग हुने चिन्ता मात्र हो’

अनलाइनखबर

दुई कम्युनिस्ट घटकले चुनावी तालमेल मात्र होइन, कांग्रेसमा एक प्रकारको छटपटी देखिन्छ । कतिपय नेताको अभिव्यक्ति सुन्दा धेरै आत्तिएको अनुमान गर्नेहरु पनि छन् ।

तर, कांग्रेसका बौद्धिक नेता महेश आचार्यले यो एकतालाई कसरी हेरिरहेका छन् ?  मध्य बानेश्वरस्थित आफ्नै निवासमा अनलाइनखबरसँग कुराकानी गर्दै आचार्यले भने, ‘कांग्रेस आत्तिएको होइन र छैन । चिन्ता यति मात्र हो, कम्युनिस्ट पार्टीहरुको एकताले मुलुकलाई फेरि राजनीतिक ध्रुवीकरणतिर लैजाने त होइन ?’

प्रस्तुत छ, अनलाइनखबरका लागि उपेन्द्र पोखरेल र राजकुमार श्रेष्ठले गरेको कुराकानी-

एमाले र माओवादीको मिलनपछि अब कांग्रेस सिद्धियो भन्ने बुझाइ कतिपयमा देखिन्छ । अब कांग्रेस सिद्धिएकै हो ?

त्यो होइन । नेपालका सबै कम्युनिस्ट र राजाको शक्ति एक ठाउँमा हुँदा पनि कांग्रेस एक्लैले लोकतान्त्रिक आन्दोलनको निरन्तर अगुवाई गरेकै हो । र, नेपालमा लोकतन्त्र स्थापनाको निम्ति भूमिका निर्वाह गरेको पार्टी हो । त्यसैले कांग्रेस कुनै पनि अवस्थामा सकिने पार्टी होइन ।

उसो भए दुई वामपन्थी दल चुनावी तालमेलसँगै एकता गर्दा कांग्रेसमा रुवाबासी किन त ?

नेताहरुले व्यक्तिगत रुपमा भनेका टिप्पणीहरुलाई टिपेर हामीले धारणा बनाउनु हुँदैन । कांग्रेसको आधिकारिक धारणा के मात्र हो भने अहिले चुनावी तालमेल गर्ने र भोलि एउटै कम्युनिस्ट पार्टी बनाउने, नेपालमा साम्यवाद ल्याउने भनिएको छ ।

हाम्रो चिन्ता यति मात्र हो, साम्यवाद ल्याउने सपनामा समाज गहिरो विभाजनतिर जान्छ । जबकि, १०/११ वर्षको द्वन्द्व, राजाको प्रत्यक्ष शासन भोगेपछि भएको ०६२/६३ को आन्दोलनपछि हामीले सबै राजनीतिक पार्टीहरु भूमिका सुरक्षित गर्दै अगाडि बढ्ने मुल राजनीतिक बाटो तय गरेका थियौं । धेरै ठूलो उथलपुथलपछि जारी भएको संविधानले पनि फेरि एक पटक राष्ट्रिय सहमति बनाउने र लोकतन्त्रको आधारभूत मान्यता बलियो बनाएर राजनीतिक बहस, विभाजनमा अम्झिने होइन । देशलाई समृद्धिको दिशामा लैजानुपर्छ भन्ने बाटो कोरेको थियो । यो बाटो खलबल हुन्छ कि भन्ने चिन्ता हो ।

कम्युनिस्टहरु एक ठाउँमा छन् भन्ने चिन्ता हुँदै होइन । के मात्र भनेको हो भने फरक विचार भएका पार्टीहरु एकै ठाउँमा बसेर सहकार्य गर्ने ठाउँबाट कम्युनिस्टहरुको एकतामा जाँदा समाज विभाजित हुन्छ

दोस्रो, कम्युनिस्टहरु एक ठाउँमा आउने र नेपालमा साम्यवाद ल्याउने भनिएको छ । यसको अन्तर्राष्ट्रिय आयाम पनि छ । संसारमा साम्यवादको कठोर प्रयोग असफल हुँदै गएको र त्यसबाट धेरै ठूलो पीडा ती मुलुकका जनताले भोगेको सन्दर्भमा नेपालमा फेरि साम्यवाद ल्याउने र सत्तामा कम्युनिस्टहरुको एकलौटी वर्चश्वको चाहनाबाट सिर्जना भएको चिन्ता मात्र हो ।

यसमा हाम्रो पार्टीको थप चासो के पनि हो भने नेपालमा धेरै किसिमका मतभेदले समाजमा विभाजन खडा गरेको छ । हामी विस्तारै त्यस्तो द्वन्द्वलाई सवैधानिक प्रक्रियाबाट निराकरण गर्ने बाटोमा गइरहेका बेलामा अर्को एउटा तीव्र धु्रवीकरण र यसको टकराहटबाट सिर्जना हुने द्वन्द्वले लोकतान्त्रिक पद्धतिलाई आघात पुर्‍याउँछ । म तपाईंहरुको माध्यमबाट देशभरका युवापुस्तामाझ यो बहस पुगोस् भन्ने चाहन्छु । नेपालको ठूलो संख्या १८ देखि ४०/४५ वर्ष उमेर समूहमा छ र उनीहरुको एजेन्डा नेपाल अब राजनीतिक सिद्धान्तको बहसमा अल्भिmने कि समृद्धिको बाटोमा जाने भन्ने हो ।

धेरै मानिसले एकता भने पनि यो चुनावी तालमेल मात्र हो भनिरहेका छन् । तर, तपाईं यो मान्न मान्नुहुन्न र एउटै कम्युनिस्ट पार्टी बनाउन खोजेको हो भन्ने बुझ्नु भएको छ ?

मैले मान्नु/नमान्नु अनुमानको कुरा गर्नु हो । तर, उहाँहरुले आधिकारिक रुपमा भन्नु भएको छ, अहिले यो चुनावी गठबन्धन हो र कम्युनिस्ट एकताको बाटो हो । दुई पार्टीका अध्यक्षहरु रहेको संयोजन समिति पनि बनाइसक्नु भएको छ ।

बरु, बाबुरामजीको मत म भन्न सक्दिनँ । किनकि, उहाँले अब म कम्युनिस्ट रहिनँ भन्नु भएको थियो । तर, दुई पार्टीले त कम्युनिस्ट शक्ति बनाउने भनेकै छन् ।

अहिले पनि त दुवै कम्युनिस्ट पार्टी नै हुन्, सरकारमा पनि बेलाबेलामा सहकार्य गरेका हुन् । फेरि उनीहरुले अधिनायकवाद ल्याउने भनेका पनि छैनन् । संविधानले नै समाजवाद उन्मुख समाज भनेको छ, त्यसलाई कार्यान्वयन गर्छौं भनेका हुन् । त्यसलाई सत्ताकब्जा, अधिनायकवाद भनेर किन धेरै आतंक सिर्जना गर्ने ?

यो आतंक होइन । उहाँहरु सबै एकै ठाउँमा हुँदा पनि आतंकित नभई हामीले लोकतान्त्रिक आन्दोलनलाई अगाडि बढाएकै हो । म के मात्र भन्दैछु भने बृहत राष्ट्रिय सहमति र सहकार्यको बाटो कोरिसकेपछि कम्युनिस्ट वर्चश्वको पार्टी निर्माण र त्यस्तो वर्चश्व भएको राजनीतिमा जाने हो भने समस्या सिर्जना हुन सक्छ ।

भन्दा त अधिनायकवाद ल्याउँछौं भनेर कसले भन्छ र ? तर, सोच र प्रवृत्ति हेर्दा सहिष्णुताको तह हेर्नुभयो भने अहिले एमाले एक्लैले गरिराखेका राजनीतिक टिप्पणीहरुले समाजमा रहेका द्वन्द्वको समाधानभन्दा बढाउने खालका छन् ।

संविधान संशोधनको मुद्दा हेर्नुस्, लचिलो भएर सबैलाई मिलाउनेभन्दा पनि बेवास्ता गर्ने बाटो हिँड्यो । कांग्रेसले अहिले पूर्वाग्रहले भन्यो भन्न सक्नुहन्छ । तर, हिजोसम्म माओवादी आफैं भनिरहेको थियो, एमाले प्रतिगामी सोच भएको, संविधान संशोधन गरेर सबैलाई समेटौं भन्ने सोच नरहेको भनेर ऊसँगको सहकार्य तोडेर संविधान संशोधन गर्नुपर्ने राजनीतिक निर्णय गरेको दल हो ।

तपाईंले भनेको ठीक हो । तर, तपाईंहरुसँग सहकार्य गरे पनि त मधेस मुद्दा सम्बोधन भएन र अब एमालेबिना यो सम्भव छैन भन्ने त प्रष्ट भइसक्यो । अब उसले एमालेसँग सहकार्य र एकता गरेर मधेस मुद्दा सम्बोधन गराउन पनि त सक्छ नि ?

एमालेलाई समायोजन गरेर ल्याउने हैसियतमा यो एकीकरण भएको तपाईंले देख्नु भएको छ र ? ६० र ४० को अनुपातमा जानु भनेको त क्रमिक रुपमा माओवादीको विलय हो । त्यो पनि यस्तो शक्ति, जसले संसदीय प्रणाली खतम भयो भनेर हतियार उठाएको र शान्ति प्रक्रियामा आएपछि पनि संविधान निर्माण गर्दासम्म ऊ एउटा पक्ष थियो । राज्य पक्षसँग शान्ति सम्झौता गर्‍यो । त्यत्रो ठूलो ११ वर्षे द्वन्द्वको प्रतिनिधि पार्टी आज एमाले र उसको राजनीतिक कोर्समा गएर विलय हुँदैछ । अब कथित जनयुद्धको वारेस बोक्ने पार्टी पनि हुने छैन । जबकि, द्वन्द्वकालीन मुद्दाहरु समाधान भएका छैनन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोग क्रियाशील छन् ।

तर, माओवादीले तपाईंहरुसँग सहकार्य गर्दा पनि त शान्ति प्रक्रियामा यही आयोग क्रियाशील छ भन्नुबाहेक त केही छैन नि ?

हो । यसमा कैले केही आपत्ति जनाएको छैन । र, कम्युनिस्टहरु एक ठाउँमा छन् भन्ने चिन्ता हुँदैन भन्ने होइन । के मात्र भनेको हो भने फरक विचार भएका पार्टीहरु एकै ठाउँमा बसेर सहकार्य गर्ने ठाउँबाट कम्युनिस्टहरुको एकतामा जाँदा समाज विभाजित हुन्छ ।

कि प्रदेश र प्रतिनिधिसभा चुनावको पूर्वसन्ध्यामा दुई ठूला वाम घटकको गठबन्धन बनेको छ । नेपालमा वामपन्थी जनमत ६२ प्रतिशत छ पनि भनिन्छ । हिजो कांग्रेस र माओवादी मिल्दा अब एमाले पाँच वर्ष सत्ता राजनीतिबाट बाहिर हुनेभयो भनिन्थ्यो । आज ठीक उल्टो कांग्रेसलाई त्यही डरले पो सताएको हो कि ?

हरेक राजनीतिक पार्टीले चुनाव तथा चुनावअघि र पछाडिको पोजिसन के हुने भनेर सोच्ने तथा आफ्नो प्रभाव कसरी विस्तार गर्ने भनेर सोच्नु या रणनीति बनाउनु स्वाभाविक हो । संवैधानिक प्रक्रिया हो, पार्टीहरु मिल्छन् वा विलय हुन्छन् । तर, कम्युनिस्ट पार्टीहरुको एकतामा केही अस्वाभाविकता छ, त्यसैले त धेरै जना छटपटाइरहनु भएको छ । अब के हुन्छ भन्ने चासो त सबैको देखियो । कतिपयले राजनीतिक मुद्दाहरु समाधान भयो भनेका छन् भने कतिपयले होइन कम्युनिस्ट भर्सेस गैरकम्युनिस्टहरुको ध्रुवीकरण अझ बढ्छ भनेका छन् ।

यस्तो बहस त भइरहन्छ । हिजो कांग्रेस र माओवादी सत्ता गठबन्धनमा आउँदा पनि त कतिपय मानिसले विचार, एजेन्डा केही नमिल्नेहरु कसरी मिले भनेकै थिए नि ?

कम्युनिस्ट एकता गर्ने उद्देश्य बोकेको पार्टीको प्रतिनिधिले गृह मन्त्रालय सम्हाल्नु भएको छ । उहाँको बफादारिता कता हुन्छ ? साम्यवाद ल्याउने उद्देश्यले एकतातर्फ गएको पार्टीको पक्षमा राज्यका स्रोतहरुको दुरुपयोग गर्ने लालसाबाट मुक्त हुनुहुन्छ ?

त्यसका सीमित कारणहरु थिए । मधेसको समस्या समाधान भएको थिएन, त्यसलाई सम्बोधन गछौर्ं, चुनाव अनिश्चितजस्तो थियो, त्यो गर्छौ भनेर तीनबुँदे सहमति नै भएको थियो, माओवादीसँग । नयाँ पार्टी बनाउँछौं भनेका त थिएनौं नि ।

अहिले सहकार्यको आयाम पृथक छ । कम्युनिस्टहरुको एउटै पार्टी बनाउने र साम्यवादतिर जाने सोचले समाजलाई विभाजित गर्छ भन्ने मात्र हाम्रो चिन्ता हो । उनीहरुले शासकीय प्रणाली नै परिर्वतन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जान्छौं भनेपछि त्यसले अनिश्चतताको ढोका खोलेको छ । संसारका यस्ता थुप्रै मुलुक छन्, कार्यकारी अधिकार राष्ट्रपतिमा राख्दा उनीहरु अधिनायकवादी भएका छन् । नेपालकै इतिहास हेर्नुभयो भने पनि राजाको समग्र कार्यकाल पनि त एउटै व्यक्तिमा केन्द्रीत शासन थियो नि ।

शासकीय स्वरुप परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्छ, जसका लागि दुई तिहाइ चाहिन्छ । चुनावमा जाँदा यसलाई मुद्दा बनाएर दुई तिहाइ नहुने अवस्था बनाए भइहाल्यो नि 

त्यसैले त हामी भनिरहेका छौं, हामी छौं, चिन्ता गर्नुपर्दैन । तर, एउटा गलत प्रयोग हुन आँटिरहेको आशंका त सिर्जना भएको छ । म त्यो मात्र संकेत गरिरहेको छु ।

यसले आगामी चुनावलाई चाहिँ कति असर गर्छ ?

अलिकति असर त गर्ला । बाँडिएको मत एक ठाउँमा आउँछ भनेर सीधा अंकगणितीय विश्लेषण गर्नेहरुले अनुमान लगाएर फरक पर्छ भन्न सक्छन् । म त्यसभन्दा परका तथ्यहरु पनि देख्छु । यो भनेको आक्रामकताको प्रयोग अझ बढी हुनसक्छ ।

कम्युनिस्टहरु उग्रतातिर जाने र कार्यकर्ता पंक्तिले त्यही आक्रमकता देखाए शान्तिपूर्ण र निष्पक्ष चुनावको प्रक्रिया प्रभावित हुनसक्छ । कम्युनिस्ट एकता गर्ने उद्देश्य बोकेको पार्टीको प्रतिनिधिले गृह मन्त्रालय सम्हाल्नु भएको छ । उहाँको बफादारिता कता हुन्छ ? साम्यवाद ल्याउने उद्देश्यले एकतातर्फ गएको पार्टीको पक्षमा राज्यका स्रोतहरुको दुरुपयोग गर्ने लालसाबाट मुक्त हुनुहुन्छ ? कार्यकर्ताको मनोविज्ञानमा आएको अग्रतालाई सम्मिलित गर्ने ढंगले राज्य संयन्त्र परिचालन भए भने निर्वाचनको परिणाम प्रभावित हुनसक्छ । यस्तो चुनाव भयो भने नयाँ द्वन्द्व नेपालको राजनीतिमा आउँछ ।

उसो भए गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुन्छ ?

प्रतिपक्षमा बसेको दलसँग एउटै पार्टी बनाउँछु भनेर हिँडेको छ र सत्तामा बसेर साझेदार भएको छ । यो अस्वाभाविक छ । पार्टीको प्रतिनिधि भएका नाताले उहाँको बफादारिता स्वाभाविक रुपमा पार्टीका एजेन्डाहरु प्रति पनि हुन्छन् । सरकारमा बसेपछि संवैधानिक सीमाभित्र बस्नुपर्ने बाध्यता पनि छ । स्वार्थहरुबीच द्वन्द्व हुन्छ । छाड्ने/नछाड्ने त उहाँको राजनीतिक नैतिकताको निर्णय अरुले गरिदिएर हुँदैन ।

सत्ता साझेदार भएकाले छाड्नुस् त भन्न सक्नुहुन्छ नि ?

होइन, अस्वाभाविक लागेको छ । यही कुरा सारा देशले भनिरहेको छ ।

परिस्थितिको ट्याकल कसरी गर्छ त कांग्रेसले ?

कांग्रेसले यो मुद्दाको बलियोसँग प्रतिवाद गर्छ । यो राष्ट्रिय सहमतिको बृहत अवधारणालाई हामी मर्न दिँदैनौं र कांग्रेससँग यो सामथ्र्य छ भन्ने म गम्भीरतापूर्वक राख्छु । किनभने, वामपन्थीहरु पञ्चायतको आवरणमा संगठन विस्तार गर्दा पनि राजतन्त्रको ज्यादतीविरुद्ध हामीले एक्लै लडेको हो । वामपन्थीहरुलाई पनि लोकतान्त्रिकरण गर्ने जिम्मेवारी लिएर काम गरेका हौं । पार्टीगत रुपमा क्षति व्यहोर्‍यौं तर सहकार्यमार्फत् नै एमालेको उग्रतालाई कम गरेको हो । माओवादी द्वन्द्वमा ठूलो संख्यामा कांग्रेसका साथीहरुको जीवन गुम्यो तर हामीले मुलुकको हितमा उनीहरुलाई शान्ति प्रक्रियामा ल्यायौं ।

फेरि पनि कांग्रेसको काँधमा लोकतन्त्रका आधारभूत मान्यताहरुको रक्षा गर्ने र राष्ट्रिय एकतालाई मजबुत गर्ने दोहोरो जिम्मेवारी आएको छ । यसका लागि लोकतन्त्रमा विश्वास गर्ने, राष्ट्रिय एकतालाई संवर्द्धन गर्नुपर्छ भन्ने र मुलुकलाई प्रगतिशील विचारधारामा लैजानुपर्छ भन्ने सोच राख्ने शक्तिहरुलाई एक ठाउँमा ल्याउनुपर्छ ।

कांग्रेस चुनावका लागि चाहिँ कति तयार छ ? महाधिवेशन भएको लामो समयसम्म संगठन लथालिंगजस्तै छ । नेतृत्व पनि यो चुनावमा जसोतसो अहिलेकै जस्तो अवस्था कायमै राख्ने र माओवादीसँग मिलेर सरकार बनाउने भन्ने थियो । एमाले-माओवादी मिल्न सक्छन् भनेर नसोचेको देखिन्छ 

तपाईंले भनेको मान्छु, संगठनात्मक कमजोरीहरु छन् । विश्लेषणमा पनि कहिँकहिँ त्रुटी भएकै हो, घटनाक्रम हामीले अनुमान गरेभन्दा पृथक ढंगले विकसित भएकै हो । यसबाट पर्ने अन्योल छँदैछ । यो होइन भन्नु मूर्खता हुन्छ । त्यसैले अहिले हामी पार्टीका बैठकहरुमा यही कमजोरीहरु सच्याउन खोजिरहेका छौं ।

चुनावलाई प्रभावमा पार्ने गरी कांग्रेसका केही आन्तरिक कमिकमजोरी छन् । त्यसको व्यवस्थापन गर्नुपर्छ । जस्तो- पार्टीभित्र एकता कायम गर्ने जिम्मा पार्टी सभापतिको काँधमा छ । उहाँले नेतृत्व पनि गर्नुपर्छ । यो निर्णायक नेतृत्व गर्दा न्यायपूर्ण निर्णयहरु लिनसक्नुपर्छ । जसरी राष्ट्रिय राजनीतिमा मेलमिलापको भावना आवश्यक छ, हरेक पार्टीभित्र पनि त्यो हुनुपर्छ । पार्टी नेतृत्व पंक्तिमा पनि यस्तो भावना आउनुपर्छ ।

अर्को, उम्मेदवार छनोटको मुद्दा छ, भएका नेताहरुलाई जिम्मेवारी दिने कुरा छन् । नयाँ कल्पनासहित नयाँपुस्ताका नेताहरु आएका छन्, उनीहरुको ऊर्जालाई मिसाउनुभयो भने ऐतिहासिक ‘इनर्जी’मा नयाँ सिनर्जीको प्रारम्भ हुन्छ ।

हाम्रो राज्य संरचना फेरिएको छ । तर, राजनीतिक दल र नेताहरुको मानसिकता अझै केन्द्रीकृत बेलाको जस्तै छ । देश संघीय संरचनामा गइसकेपछि कांग्रेसले पनि कतिपय निर्णय त स्थानीय र प्रादेशिक तहमै हुनदिनुपर्‍यो । यसले प्रतिकुल परिस्थितिसँग कसरी लड्ने भनेर तलबाटै उपाय खोज्छ ।

हामीले एक्लैजस्तो चुनाव लड्नुपर्ने भयो । अरु लोकतान्त्रिक शक्तिहरुसँग चुनावी तालेमल गर्नु पर्छ । यसका लागि पनि समय छैन । त्यसैले कामको जिम्मेवारी बाँडफाँट गरौं र चुनावमा होमिनुपर्छ । अब हामी चुनाव सार्न सक्दैनौं र सार्न पनि हुँदैन ।

वाम एकताले कांग्रेसका कार्यकर्ता स्तब्धजस्तो देखिएका छन् । उनीहरुको मनोबलचाहिँ कसरी उकास्नुहुन्छ ?

मेरो विचारमा त्यस्तो छैन होला । कलिकति चिन्ता त बढ्छ किनकि यो अस्वाभाविक बाटोमा गएको छ । तर, हामीले यस्तो प्रतिकुल परिस्थिति यसअघि पनि बेहोरेकै हो ।

म साथीहरुलाई भन्न चाहन्छु, कम्युनिस्ट घटकहरु हामीसँग नहुँदा, हामीलाई प्रधान शत्रु मानेर उनीहरुले दस्तावेजहरु लेखिरहँदा र त्यसबेलाको राज्यसत्ता हाम्रोविरुद्ध हुँदा पनि हामीले लोकतान्त्रिक आन्दोलनलाई लगातार अगाडि बढाएका थियौं । र, कांग्रेसको त्यो ऐतिहासिक भूमिकालाई जनताले कहिल्यै बिर्सिंदैनन् ।

एजेन्डाहरु चाहिँ के बनाउनुहुन्छ ?

राष्ट्रवादको कुरा पटक-पटक आउँछ । गलत बुझाइ भयो नेपालको सन्दर्भमा । यसलाई सच्याउने एजेन्डालाई कांग्रेसले गम्भीरतापूर्वक उठाउँछ । राष्ट्रवाद, राष्ट्रवाद र राष्ट्रवादको कुरा गर्दा पनि अधिनायकवादको पोल्टोतिर जान सक्छ भनेर भारतबाट फर्किंदा बीपी कोइराला र गणेशमान सिंहले भन्नु भएको छ । संसारभर त्यसै भएको छ । हिटलरको उदय राष्ट्रवादको एउटा खुट्टामा उभिएर लोकतन्त्रलाई भष्मेभूत गरिएको हो । मुसोलिनीको उदय राष्ट्रवादकै नाममा भएको थियो ।

वाम एकतापछि लोकतान्त्रिक मूल्य, मान्यता धरापमा पर्छ कि भन्ने चिन्ता सबैतिर देखिएको छ । कांग्रेसको भूमिका के हो ? सत्तामा जाने वा प्रतिपक्षमा बस्ने यान्त्रिक भूमिका छ, बृहत एजेन्डाको रक्षा गर्ने पनि हो । त्यो ऐतिहासिक सन्दर्भको कुरा गर्न चाहन्छौं । विगत ७० वर्षदेखि हामी लोकतान्त्रिक मूल्य, मान्यताको रक्षा गर्ने पार्टी हो । यो एजेन्डा आज पनि बर्करार छ ।

एजेन्डा त तपाईंहरुसँग धेरै छन् । तर, त्यो मुद्दाहरुलाई जनतामाझ लगेर त्यसलाई भोटमा रुपान्तरण गर्ने ल्याकत कांग्रेस नेतृत्वले राख्छ कि राख्दैन ?

यदि त्यहाँ कमिकमजोरी छन्, सभापतिको भूमिका र नेतृत्वले मात्र पुग्दैन भने सबै नेतृत्वपंक्तिले सहयोग गर्नुपर्छ । हाम्रो विधानले निर्णय गर्ने अधिकार सभापतिलाई नै दिएको छ । तर, म फेरि पनि भन्छु, सभापतिले गरेको निर्णय न्यायिक र लोकतान्त्रिक हुनुपर्छ । यसरी सामूहिक नेतृत्वको छवि प्रस्तुत गर्न सकिन्छ ।

तपाईंहरुले ठीकै कुरा उठाउनु भएको छ । कांग्रेसको समर्थनको आधार ठूलो छ तर त्यो मतदान केन्द्रमा जाँदैन । गएर पनि भोट नखसेको हुन्छ, खसेको मतको पनि रक्षा गर्न सक्नुपर्छ, भलै यो प्राविधिक कुरा हो । त्यसैले चुनावका धेरै आयाम हुन्छ ।

एक-एक मतका लागि अन्तिमसम्म लड्ने जुझारुपन नभएसम्म चुनाव जित्न कठीन हुन्छ ।

२०५६ मा दोस्रो पार्टी हुँदा कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेर चुनाव लडिएको थियो । यसपटक पनि कांग्रेसले कुनै नेतालाई अगाडि सार्छ कि ?

मलाई लाग्छ, सबै विकल्पमा खुला रहेर छलफल गर्नुपर्छ । कुनै अभियानका रुपमा लिएर जाँदा यसको ‘फलआउट’ अर्कै हुनुसक्छ । तितो टिप्पणी गरेर प्रतिक्रिया आमन्त्रण गर्नुभन्दा ‘लिडरसिप’को मुद्दा के हो, रणनीतिमा कहाँ त्रुटी देखियो, छलफल गर्नुपर्छ ।

२०७४ असोज २२ गते ११:५७ मा प्रकाशित (२०७४ असोज २३ गते ७:११मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • Prem Pandey " Man ko sathi" लेख्नुहुन्छ    |   २०७४ असोज २२ गते १३:४४

    एमाले र माओवादीको मिलनपछि अब कांग्रेस सिद्धियो भन्ने बुझाइ कतिपयमा देखिन्छ । अब कांग्रेस सिद्धिएकै हो ?
    उसो भए दुई वामपन्थी दल चुनावी तालमेलसँगै एकता गर्दा कांग्रेसमा रुवाबासी किन त ?

    8
    3
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this