Comments Add Comment

माओवादी र एमालेवीच ‘साठी चालीस’मा सकस

वडाको मतका आधारमा तालमेल हुनुपर्ने एमालेको अडान

२४ असोज, काठमाडौं । माओवादी नेता रामबहादुर थापा बादल र वर्षमान पुनले एमाले महासचिव ईश्वर पोखरेल नेतृत्वको निर्वाचन क्षेत्र बाँडफाँड कार्यदलमा एउटा प्रस्ताव ल्याए, जसमा माओवादीले प्रतिनिधिसभाका ७०/७५ सिट जित्न सक्ने दाबी गरिएको छ ।

माओवादीको यस्तो दाबीबारे एमालेले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । तर, ०७४ सालको स्थानीय तह चुनावमा वडाहरुमा प्राप्त मतको लिष्ट एमालेका तर्फबाट माओवादी नेताहरुलाई थमाइएको छ ।

एमालेले देशभरिबाट संकलन गरेको र निर्वाचन आयोगबाट आधिकारिक रुपमा प्राप्त वडाहरुको मतलाई विज्ञहरु राखेर विश्लेषण गरेपछि १६५ निर्वाचन क्षेत्रमध्ये ८८ स्थानमा एमाले पहिलो रहेको निकालिएको हो ।

स्थानीय तहका प्रमुखले पाएको मतका आधारमा विश्लेषण गर्दा वास्तविक मत नआउने भएकाले वडाको मतलाई आधार बनाउनुपर्नेमा माओवादीको समेत सहमति रहेको एमाले नेताहरुको भनाइ छ । माओवादीले पालिका प्रमुखमा भन्दा वडाहरुमा राम्रो मत पाएको छ ।

चुनावी तालमेलका लागि सीट बाँडफाँड गर्न दुवै दलले स्थानीय तहको वडाको मत र ०७० को संविधानसभा चुनावको मतलाई आधार बनाउने सहमति गरिसकेका छन् ।

स्थानीय चुनावमा वडाहरुमा प्राप्त सोही मतका आधारमा देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये माओवादी १६ स्थानमा मात्रै पहिलो स्थानमा देखिएको डकुमेन्ट एमालेले माओवादी नेताहरुलाई थमाइदिएको स्रोतले अनलाइनखबरलाई बतायो ।

वडाहरुमा पार्टीले पाएको मतका आधारमा सीट बाँडफाँड गर्दा माओवादीको दाबी ४० प्रतिशभन्दा निकै तल हुने देखिएको एमाले नेताहरु बताउँछन् ।

प्रदेश नम्बर १, ३ र ५ का कतिपय ठाउँमा एमाले हराउने झोंकमा कांग्रेसलाई भोट हालेको घाटा अहिले माओवादीले व्यहोर्नु परेको चर्चा नेतृत्व तहमै भइरहेको छ ।

सूत्रहरुका अनुसार माओवादीले सबैभन्दा बढी प्रदेश नम्बर २ र ६ मा एमाले बराबर वा एक/दुई सीट बढी सीट पाउनेछ । प्रदेश नम्बर १ र ४ मा माओवादीको अवस्था सबैभन्दा कमजोर देखिएको छ भने ३, ५ र ७ मा ६०/४० कै अनुपातमा सीट वितरण हुने एक नेताले बताए ।

सीट बाँडफाँडमा सकस

एमाले र माओवादीबीच सीट बाँडफाँडको नीतिगत सहमति भए पनि कुन क्षेत्र कसले पाउने भन्ने टुंगो लगाउन सकस भइरहेको छ । दुबै दलका कार्यदलका नेताहरु आ–आफ्ना शीर्षनेतासँग छलफलमा छन् । दुवै पार्टीभित्र गुटको सन्तुलन मिलाउनुपर्ने समस्या पनि देखिएको छ ।

एमालेले माओवादीलाई ४० प्रतिशत पुर्‍याउनकै लागि धेरै सीट लिनुभन्दा पनि एमालेको मत जोड्दा सजिलै जित्न सकिने क्षेत्रमा ध्यान केन्द्रित गर्न सुझाव दिएको कार्यदलका एक सदस्यले अनलाइनखबरलाई बताए ।

एमालेको भन्दा आधा र त्यो भन्दा पनि कम मत माओवादीको भएको ठाउँमा पनि उसले दावी गर्दा भोलि त्यो ठाउँमा जिताउन गाह्रो हुने तर्क एमाले नेताहरुको छ ।

तर, माओवादी पक्षले भने ६०/४० भागबण्डा भनेर सहमति गरिसकेपछि कसको मत कति भनेर सीट घटाउन नहुने पक्षमा छ । स्थानीय चुनावमा आफ्नो राम्रो नतिजा आएका ठाउँ सबै र अन्य ठाउँमा पनि सम्मानजनक स्थान माओवादीले मागेको छ ।

गठबन्धन निर्माणका एक प्रमुख सूत्रधार गृहमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्मा ४० प्रतिशत भन्नाले गनेरै यति सीट नभनिएको बताउँछन् । माओवादीले क्लिन स्वीप गरेको रुकुममा पनि एमालेलाई स्थान दिने र एमालेले क्लिन स्वीप गरेको धनकुटामा पनि माओवादीलाई स्थान दिने मोडालिटीबाट सहमति भइरहेको उनले बताए ।

एमाले सचिव तथा संगठन बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले ४० प्रतिशत सीट लिएर मख्ख पर्ने कि जित्ने सीट सुरक्षित गर्ने भन्ने रोजाई माओवादीका हातमा रहेको बताए । उनले भने–माओवादीको १५ हजार मत भएको ठाउँमा एमालेको ५ हजार मत थपिँदा जित्ने निश्चित हुन्छ । तर, माओवादीको ५ हजार भएको ठाउँमा एमालेको १५ हजार मत खस्न सम्भव हुँदैन ।

माओवादीलाई एमालेले कति मत खन्याउँछ ?

कार्यदलमा रहेका एक एमाले नेताले भने– कास्की जिल्लाभरि माओवादीले पाएको मत १० हजार पनि छैन, एमालेको करीव ७५ हजार मत छ । माओवादीलाई एउटा क्षेत्र दिँदा त्यहाँ दुई तिहाई मत एमालेले खन्याउनुपर्छ, त्यो अवस्थामा कांग्रेसलाई फाइदा हुनेछ ।
ती नेताले भने– ‘केही हजार वा सयको तलमाथि भएको ठाउँमा छाड्न र लिन पनि सहज हुन्छ भन्ने हाम्रो कुरा हो ।’

एमालेका केही नेताहरु ४० को पासोमा फसेको अनुभूतिमा छन् । बिजयादशमीको दिन एमाले नेता रघुवीर महासेठको घरमा भएको छलफलमा माओवादी पनि सूर्य चिन्हबाटै चुनाव लड्ने भनेकाले ४० प्रतिशतका कुरामा सहमति भएको थियो ।

तर, भोलिपल्टै माओवादीमा वर्षमान पुन लगायतका नेताले आपत्ति जनाएपछि आफ्नै चुनाव चिन्हबाट लड्ने प्रस्ताव माओवादीले राख्यो । सूर्य चिन्हबाटै माओवादी चुनाव लड्दा व्यक्ति एमाले वा माओवादी जो उठे पनि एमालेको भोट पाउने अवस्था हुन्छ । धेरै भोट भएको एमालेले थोरै भोट भएको माओवादीको चिन्हमा भोट हाल्दा सबै भोट जाने अवस्था नरहने निश्चित छ ।

धेरैजसो निर्वाचन क्षेत्रमा एमाले पहिलो वा दोस्रो स्थानमा कांग्रेसको हाराहारी मतका साथ छ । तेस्रो स्थानमा रहेको माओवादीको मतान्तर निकै फराकिलो भएका कारण एमालेको सबै मत खसाउन नसक्दा कांग्रेसले फाइदा लिने डर एमालेलाई रहेको कार्यदलका सदस्य सुरेन्द्र पाण्डे बताउँछन् ।

उदाहरणका लागि काठमाडौंमा माओवादीले ४ सीट दाबी गरेको छ । ०७० को संविधानसभा चुनावमा चौथो स्थानमा रहेको माओवादी ०७४ को स्थानीय चुनावमा विवेकशील र साझा पार्टीभन्दा पनि पछि परेको छ । यस्ता ठाउँमा ४० प्रतिशतको भागबण्डाले उल्टो परिणाम ल्याउने डर दुवै पंक्तिमा छ ।

एमाले र माओवादीले बाँड्ने सीट भनेको नयाँ शक्ति, राजपाका बिद्रोही नेताहरुलाई दिएर बाँकी रहेको निर्वाचन क्षेत्र हो । सीट बाँडफाँड गर्दा दुवै चुनावको मतका आधारसहित अन्य पक्षहरुलाई पनि ध्यान दिनु परेकाले केही समय अझै लाग्न सक्ने कार्यदलका संयोजक ईश्वर पोखरेलले अनलाइनखबरलाई बताए ।

दुवै पार्टीले दावी गरेका निर्वाचन क्षेत्रबारे अहिलेसम्म सार्वजनिक गरेका छैनन् । तर, माओवादीले प्रस्ताव गरेका र एमाले नेतृत्व तहमा छलफल भएका आधारमा मोटामोटी माओवादीले पाउने सीट तय हुन लागेको उच्च स्रोतले जनाएको छ ।

एमाले अध्यक्ष केपी ओलीले एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा अन्य दललाई छुट्याइएको सीटबाहेक बाँकी रहेका सीटमा ६०/४० हुने र यसमा ०७० को चुनाव, स्थानीय चुनाव एवं नेताहरुको व्यक्तित्वलाई समेत विचार गरिनुपर्ने बताएका छन् ।

यो पनि पढ्नुहोस्

एमाले-माओवादी सीट बाँडफाँटः कुन प्रदेशमा कति ?

मोरङमा एमाले र माओवादीका बेग्लाबेग्लै उम्मेदवार (सूचीसहित)

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment