Comments Add Comment

विप्लवको निष्कर्षः एमाले र माओवादी दक्षिणपन्थी, वैद्य रुढीवादी

गोपाल खड्कादेखि चूडामणि शर्मासम्मको घर घेराउन गर्ने घोषणा

२४ असोज, पोखरा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमाले माओवादी गठबन्धनलाई दक्षिणपन्थी र मोहन वैद्यलाई रुढीवाढी भन्दै दुवैको बिरोध गरेको छ । वैद्यसँग एकता गर्न भनेर बोलाइएको केन्द्रीय समिति बैठकमा उनको ‘रुढीवादी चिन्तन’को आलोचना भएपछि एकता भाँडिएको हो ।

नेकपा र नेकपा क्रान्तिकारी

माओवादीबीच पार्टी एकताको व्यापक चर्चा भइरहेका बेला बसेको बैठकले क्रान्तिकारी ध्रुवीकरणमा जोड दिने निर्णय गरेको छ । विचार र चिन्तनमा मोहन वैद्य “किरण”मा संकीर्णता र रुढीवाद जब्बर रहेकाले तत्काल पार्टी एकताको आधार नबनेको ठहर गरिएको एक नेताले बताए ।

पोखराको लुम्लेमा मंगलबार सम्पन्न पाँचौं पूर्ण बैठकले पार्टी महासचिव विप्लवद्वारा प्रस्तुत “संसदीय चुनाव खारेज गरौं, क्रान्तिकारी ध्रुवीरकणलाई तीब्र पारौं” शीर्षकको ८ पृष्ठ लामो राजनीतिक प्रस्ताव पारित गरेको छ ।

बैठकमा महासचिव विप्लवले एमाले-माओवादी र नयाँ शक्ति गठबन्धनलाई दक्षिणपन्थी, अवसरवादी, प्रतिक्रान्तिकारी गठवन्धन भन्दै संसदीय व्यवस्थाको संकटको परिणति भनेका थिए ।

बैठकले महेन्द्रीय राष्ट्रवाद र संसदीय राष्ट्रवादले देशलाई स्वाधीन बनाउन नसक्ने निष्कर्ष निकालेको छ । एमाले-माओवादी केन्द्र र नयाँ
शक्तिको एकता र त्यस पश्चात् पार्टीको नाम नेकपा नै राख्ने चर्चा भइरहेका बेला पार्टी नाम नबदल्ने र नाम जुधाएर राखे पनि आपत्ति नहुने अनौठो मानसिकतामा सो पार्टी पुगेको एकजना पोलिटब्यूरो सदस्यले बताए ।

चुनाव खारेज, भ्रष्टाचारलाई कारवाही गर्ने

नेकपाले सरकारद्वारा घोषित संसदको चुनाव खारेज गर्ने औपचारिकनिर्णय पनि गरेको छ । नेकपाले ‘राष्ट्रियस्तरका भ्रष्टाचारीको’ घर घेर्ने र ती भ्रष्टाचारीहरुको सम्पत्ति राष्ट्रियकरण गर्न दबाब दिने कार्यक्रम समेत घोषणा गरेको छ ।

सार्वजनिक कार्यक्रमसहित घर घेर्नेहरुको सूची समेत बनाइएको पार्टीले जनाएको छ । उसले नेपाल आयल निगमका कार्यकारी प्रमुख गोपाल खड्का, कर फछ्र्यौर्ट आयोगका निलम्वित प्रमुख चुडामणि शर्मा, व्यापारी अजय सुमार्गी, जनमैत्री अस्पताल, चन्द्रागिरी केबुलकारका मालिक चन्द्र ढकाललगायत छन् ।

असोज २१ देखि २३ गतेसम्म चलेको सो बैठकले कात्तिक १ गतेदेखि राजनीतिक अभियान शुरु गर्ने निर्णय पनि गरेको छ ।

उता वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको राष्ट्रिय भेला पनि पोखरामै जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment