२६ असोज, ताप्लेजुङ । नेपाली कांग्रेस, नेकपा एमाले र नयाँ शक्ति पार्टीले उम्मेदवार सिफारिस गरेका छन् ।
नेकपा एमालेले प्रचार विभाग प्रमुख तथा केन्द्रीय सचिव योगेश भट्टराईलाई प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने भएको छ । नेकपा एमाले जिल्ला कमिटीको बैठकले सचिव भट्टराईको नाम प्रतिनिधि सभा निर्वाचनका लागि सर्वसम्मत रुपमा टुङ्गो लगाएको हो ।
प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ भने पूर्वसांसद तिलकुमार मेयाङ्बो (लिम्बु) को नाम तय भएको छ ।
प्रदेशसभाको लागि क्षेत्र नंबर १ बाट प्रत्यक्ष तर्फ जिल्ला कमिटी अध्यक्ष बलबहादुर साम्सोहाङ, सन्तोष खतिवडा र निर्मला ईजम साथै क्षेत्र नंबर २ बाट सांसद डम्बरध्वज तुम्बाहाम्फे र बलबहादुर तामाङको नाम सिफारीस गरेको छ । क्षेत्र नम्बर २ को उम्मेद्वार छान्न भने मतदान भएको थियो ।
मतदानबाट आकांक्षीहरु डम्बरध्वज तुम्बाहाम्फे, गोपाल थोप्रा, बलबहादुर तामाङ र मणिशंकर पोमुले दाबी नछोडेपछि मतदान गर्नुपरेको थियो । यस्तै समानुपातिक तर्फ क्षेत्रनंबर १ बाट अम्बिका राजभण्डारी, भरत कुमार गुरुङ, भुपेन्द्र थेबे र राधाकृष्ण पौडेल साथै २ बाट रामप्रसाद सुवेदी, चन्द्रमान वनेम, छिरिङ लामा, होमकुमारी सावा, बुद्धिमान परियार, वीरबहादुर माबोहाङ, सन्तोष बराईली र शान्ता आङ्बुहाङको नाम माथिल्लो कमिटीमा सिफारिस गरिएको जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङले जानकारी दिए ।
नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि छवी गुरुङ, केशवप्रसाद दाहाल, गजेन्द्र तुम्मेहाङ, मिना गुरुङ, गोपाल गुरुङ, यामकुमारी लिम्बुको नाम सिफरिस गरेको छ । समानुपातिकमा सूर्यमान गुरुङ, डिबी राई, भारती गुरुङ, तिलप्रसाद सुब्बा, गीता सेन्दाङ रहेका छन् ।
त्यस्तै प्रदेशका लागि क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा लिला बोखिम, गजेन्द्र तुम्याहाङ र युवराज गुरुङ तथा समानुपातिकमा राम कंलिवा, मंगल मेन्याङ्बो, मात्रिकादेवी प्रसाई रहेका छन् । क्षेत्र नम्बर २ को लागि भने प्रत्यक्षमा दीपेन्द्रकुमार सेन्दाङ र समानुपातिक प्रताप्रकास हाङ्गामलाई सिफरिस गरिएको कांग्रेस ताप्लेजुङले जनाएको छ ।
उता, नयाँ शक्ति पार्टी, नेपालले संघको लागि प्रत्यक्षतर्फ मनबहादुर लामा र समानुपातिकमा टीकादेवी पोख्रेलको नाम सिफरिस गरेको छ । प्रदेशको लागि क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा सञ्चपाल मादेन, समानुपातिकमा कृष्णबहादुर शंकर तथा क्षेत्र नम्बर २ बाट प्रत्यक्षमा विशाल लिम्बु र समानुपातिकमा वाङ्दी शेर्पा सिफरिसमा परेका छन् ।
प्रतिक्रिया 4