काठमाडौं । आज ‘विश्व बाथरोग दिवस’ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले प्रत्येक वर्ष १२ अक्टोबरमा विविध कार्यक्रमका साथ यो दिवस विश्वभर मनाउँदै आएको छ ।
यस वर्षको नारा ‘ढिला नगरौं: आजै आवद्ध होऊँ’ छ ।
विज्ञानको भाषामा ‘आर्थराइटिस’ भनिने बाथरोग जोर्नी सुन्निने र दुख्ने समस्या हो । यस्तो समस्या बढ्दो उमेरसँगै बढ्ने गर्छ । यो समस्या विशेषगरी ५० वर्षभन्दा माथिका मानिसमा देखिने गर्छ ।
बदलिँदो जीवनशैली, जंकफुडको सेवन, खानामा पोषणतत्वको कमि तथा घण्टौंसम्म कम्प्युटरमा बस्नाले पनि उक्त रोग लाग्ने गर्छ । सोही कारण युवापुस्तामा पनि यो रोग देखिने गरेको छ ।
डब्लूएचओका अनुसार विश्वका करिब ५० लाख मानिस बाथरोगबाट पीडित छन् । करिब ३० हजार बालबालिका बाथरोगसम्बन्धि कुनै न कुनै समस्याबाट पीडित छन् । परिणामस्वरुप विश्वमा हुने विभिन्न शारीरिक अपांगताको प्रमुख कारणमा बाथरोग पहिलो नम्बरमा पर्ने गरेको छ ।
बाथरोगका कारण
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. सुरेश उप्रेतीका अनुसार बाथरोग भएमा जार्नी सुन्निने र दुख्ने, हिँडडुल गर्न गाह्रो हुने, हातखुट्टा बांगिने समस्या हुन्छ ।
वंशाणुगत कारणले पनि यो समस्या उत्पन्न हुन्छ । ४० वर्षमाथिका मानिसमा घुँडाको कुरकरे हड्डी खिइनाले पनि यो समस्या उत्पन्न हुने गर्छ ।
टन्सिलका कारण बालबालिकामा बाथ मुटुरोगलगायत समस्या आउँछ । युरिक एसिडको मात्रा बढी भएका मानिस पनि यसबाट पीडित हुने गर्छन् ।
आस्टियो बाथरोग
आस्टियो बाथरोग ५० वर्ष कटेपछि देखिने रोग हो । यो रोग लागेमा घुँडामा दुःखाइ महशुस हुने गर्छ । यस्तै, औंला र कुहिनामा समेत दुःखाइ उत्पन्न हुन्छ । नेपालमा भने घुँडाको दुखाइ साझा समस्याको रुपमा छ ।
रुमेटिक बाथरोग
यो एक अटो-इम्युनिटीसम्बन्धि समस्या हो । शरीरले आफैंविरुद्ध काम गर्नु नै रुमेटिक बाथरोग हो । यस्तो समस्यामा शरीरको कुनै अंगमा दुःखाइ महशुस हुन्छ ।
परिवारमा कसैलाई रुमेटिक बाथरोग छ भने परिवारका अन्य सदस्यमा यो रोग लाग्ने सम्भावना बढी हुन्छ । यो समस्या जाडो महिनामा अझ बढ्ने गर्छ ।
संक्रामक तथा मेटाबोलिक बाथरोग
थाइराइड, युरिक एसिड र चोटका कारण पनि बाथरोग लाग्न सक्छ । टीभीका कारण हुने बाथरोग पनि यसमा पर्छ । बालबालिकामा देखिन्छ, यस्तो समस्या ।
यी हुन् लक्षण
सुरुवाती अवस्थामा बाथरोगको खासै लक्षण देखा पर्दैन । यद्यपि, बारम्बार ज्वरो आउने, मांसपेशी दुख्ने, थकान महशुस हुने, भोक कम लाग्ने र तौल घट्दै जानु बाथरोगका लक्षण हुन् ।
घुँडा, कुहिना, कुर्कुच्चा र हातका औंलाका जोर्नीमा असह्य पीडा महशुुस हुन्छ । रुमेटिक बाथरोग भएमा बिहानीपख बढी दुःखाइ महशुस हुने गर्छ । मनसुन र जाडोयाममा पनि दुःखाइ बढ्ने गर्छ ।
दिउँसो दुःखाइ कम हुन्छ तर राति हातखुट्टा कक्रिने र हातगोडा चलाउन समस्या हुन्छ ।
बच्ने उपाय
समयमै उपचार, नियमित अभ्यास, पोषिलो खानेकुराको सेवन, स्वस्थ जीवनशैली, तौल नियन्त्रण र फिजियाथेरापीद्वारा पनि यसबाट हुन सक्ने शारीरिक अपांगता रोक्न सकिन्छ ।
नेपालमा यसका रोगीको संख्या यकिन छैन । त्रिवि शिक्षण अस्पतालको बहिरंग सेवामा आउने विरामीमध्ये करिब ३० प्रतिशतमा बाथरोग देखिने गरेको डा. उप्रेती बताउँछन् ।
प्रतिक्रिया 4