Comments Add Comment

बिर्तामोडमा पेस्तोल देखाएर दिनदहाडै गहना लुटियो

सीसी टीभीमा कैद भएको गहना लुटेराको तस्वीर रातो घेरामा ।

२६ असोज, झापा । इलाका प्रहरी कार्यालय, बिर्तामोडको दुई सय मिटरभित्र दिनदहाडै पेस्तोल देखाएर चोरी भएको छ । बिहीबार दिउँसो ३ बजे बिर्तामोडको मुक्ति चोकको एक गहना पसलमा चोरी भएको हो ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी विष्णुकुमार केसीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार राजेश बराइलीको अष्टलक्ष्मी ज्वेलर्सबाट २ तोला १२ आना सुनको सिक्री र औंठी चोरी भएको छ ।

उनका अनुसार ‘अन टेष्ट’ लेखिएको निलो रङको पल्सर मोटरसाइकलमा आएको एक व्यक्तिले बिहेको लागि भन्दै गहना मागेर पेस्तोल देखाएर लुटपाट गरेको प्रहरीमा उजुरी परेको छ ।

‘पसलेले गहना देखाएपछि म यो लिएर जान्छु, डिस्टर्ब नगर्नुस् भन्दै हतियार देखाएको भनेर रिपोर्ट गर्नु भएको छ,’ एसपी केसीले भने, ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’

झापाको मुख्य व्यापारिक केन्द्रको बीच सडकमा दिउँसै गहना लुटिएपछि स्थानीय त्रसित बनेका छन् । प्रहरीले भने चोकमा भएको सीसी टिभी क्यामेरामा हेरेर अपराधीको खोजी कार्य भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment