Comments Add Comment

शरद गौचन ‘शहीद’ मनशोभा के ?

मनशोभा न्याैपाने

सर्वप्रथमः हार्दिक श्रद्धाञ्जली नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनप्रति । जे भयो, एकदमै दुर्भाग्यपूर्ण भयो ।

निसबाट मानिसहरु असुरक्षित भइरहेको यो समयमा सबैको मनमा कतै न कतै डर, त्रास र भयको अवस्था विद्यमान छ र पछिल्लो घटनाले देशको समग्र शान्ति सुरक्षामा ठुलो प्रश्न चिन्ह खडा गरिदिएको छ ।

अब प्रबेश गरौ मुल विषयतर्फ । यहाँ म केही समयको एउटा घटना र अहिलेको यो घटनालाई जोडेर मनमा लागेका कैयन दुख र गुनासोको पोको फुकाल्दैछु ।

घटना १ः महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या

नेपालको राजधानी काठमाडौंको मुटु मानिने बानेश्वर क्षेत्रमा महासंघका अध्यक्ष गौचनमाथि गोली प्रहार भयो ।अाफ्नै गाडीमा सवार उनीमाथि प्रहार गरिएका गोली गाडीको सिसा छेडेर उनको शरिरमा लागि मुत्यु भयो । मुत्यु भएको केही समयमै अस्पताल परिसरमा भेला भएका कैयन आफन्तजन तथा नेता-कार्यकर्ताहरूबाट घटनाको विरोध सुरू भयो ।

घटना २. कालिकोटकी चेली मनशोभा न्यौपानेको बलात्कारपछि हत्या

राजधानीबाट धेरै पर सुर्खेतबाट अाफ्नो जन्मथलो कालिकोट फर्किदै थिइन् १९ वर्षीया मनशोभा न्यौपाने । ट्रक चालकले कालिकोटसम्म पुर्‍याइदिने भन्दै उनलाई दैलेखको खिड्की ज्यूँऊलामा तीन दिनसम्म होटेलको एक कोठामा बन्धक बनाए । उनीमाथि लगातार सामुहिक बलात्कार गरियो र अन्त्यमा बिष खुवाएर निर्ममतापूर्वक हत्या गरियो । हत्यापछि ट्रक चालक त समातिए तर घटनालाई थामथुम पारेर ओझेलमा पार्न खोजियो ।

नजिकबाट नियाल्ने हो भने यी दुवै घटना दुखद थिए । तर महासंघका अध्यक्ष गौचनको हत्या भएको केही समयमै अस्पताल परिसरमा भेला भएका आफन्तजन, नेता कार्यकर्ताहरूबाट घटनाको विरोध सुरू भयो । सञ्चारमाध्यमहरूका हेडलाइनमा उक्त घटनाले ठूलो स्थान पायो । एकै छिनपछि वानेश्वरको मूल सडकमा प्रवेश गरेको भिडले सडक पुर्णरूपमा बन्द गरिदियो र सरकार, गृहमन्त्रीका विरूद्धमा नाराबाजी सुरू भयो ।

विस्तारै साना-ठूला नेताहरू लगायत आमजनताबाट सामाजिक सञ्जालका भित्ताहरूमा बिरोध र अनेक टिका-टिप्पणीहरू फैलिन सुरू गरे । सुरक्षा निकाय व्यापक खोजी र अनुसन्धानतिर लाग्यो । दिन बितेसँगै चौतर्फी विरोध र आक्रोशहरूका आवाजहरू झन् बढ्दै गए । गृहमन्त्रीको राजिनामा, गौचनलाई शहीद घोषणा, उचित क्षतिपुर्तिलगायत अनेकौ माग राखेर निर्माण व्यवसायी, राजनीतिक दल लगायत नेता कार्यकर्ताहरू बिरोधमा उत्रिए । घटना संसद भवनभित्र पस्यो । धेरै सासंदहरू्बाट चर्का भाषण अनि विरोध भयो र अझै पनि भई नै रहेको छ ।

अर्कोतर्फ, राजधानीबाट कौसौ टाढा दुर्गम भेगकी एउटी १९ बर्षीया चेलीमाथि यति सम्मको निच अनि अमानवीय घटना घट्दा पनि सबैका आँखामा पट्टी बाँधिएको छ, सबैका ओठहरू बन्द भएका छन् । न घटनाले कुनै नेताको कानमा बतास चल्यो, न त मनमा चोट पुर्‍यायो । अरू त धेरै परको कुरा, कालिकोटबाट स्थानीय चुनाव जितेका जन प्रतिनिधिहरू पनि बस सामाजिक सन्जालका भित्तामा गोहिका आँशु झार्नमै सिमित भए । न कुनै सांसदले संसद भवनभित्र महिला हिंसाविरूद्ध आवाज उठाए न त सडकमै उत्रेर कुनै ठुलो विरोध भयो । मानव अधिकारकर्मीहरूले न कुनै चासो दिए न त कुनै महिला अधिकारकर्मीले आवाज उठाउने हिम्मत गरे ।

परिवार आफन्तहरूले मनशोभालाई त गुमाइसकेका थिए, न त उनीहरूले शहिद घोषणाको माग गरेका थिए न त कसैको राजिनामा नै । बस उनीहरूलाई त न्याय चाहिएको थियो । तमाम अरू चेलीहरूको सुरक्षा चाहिएको थियो । सायद उनी कुनै पार्टीकी कार्यकर्ता हुँदिहुन् त केहि हुन्थ्यो होला । तर उनी त बस् एक आम चेली थिइन । उनका आफ्नाहरुसँग पहुँच थिएन, पहुँच हुनेहरूले उनलाई आˆनो ठानिदएनन् । घटना बिस्तारै औझेलमा पर्‍यो र त्यसपछि सेलायो ।

कति बिडम्बना अनि कति पिडा छ दुर्गम भुगोलमा जन्मिएर बाँच्न । यहाँ गाडी चढ्नेलाई केही हुँदा विरोध गरिदिने मान्छे छन् । टोले गुन्डाहरू मारिँदा मानव अधिकारको कार्यालयमा पसेर ताण्डव मच्चाऊनेहरू छन् । तर दुर्गमका मान्छेहरूको जीवनको मूल्य त बजारमा पाइने वस्तुहरू भन्दा पनि कम छ र त बढ्दो छ दुरी मान्छे मान्छेहरू बिचको ।

मैले यहाँ यति मात्र भन्न खोजेको हुँ कि जुनसुकै भुगोल र पृष्ठभूमिको किन नहोस देशको लागि हरेक जनता बराबर छन् । हत्या गरिएका गौचन हुन् या मनशोभा, सम्बन्धित निकाय र आम जनताको चासोको विषय बन्नु पर्छ । देखेर पनि नदेखेझै गरेर बस्नु भनेको हामी स्वयंले अपराधीलाई संरक्षण गरेर प्रत्साहन गर्नु र आफैलाई अपराधी स्विकार्नु हो । आज अरूको घरको लागेको आगो भोलि हाम्रो घरमा नपस्ला भन्ने के छ ? त्यसैले मनशोभा र गौचन हत्याका दोषिहरूलाई कडाभन्दा कडा कारवाही जरूरी छ । आजको आवश्यकता हजार कदमको होईन बस् एक कदमको हो ।

(लेखक रास्कोट, कालिकोटका सामाजिक अभियन्ता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment