Comments Add Comment

संसद विघटनको अन्तिम दृश्यः रुँदै हिँडेकाहरु हाँस्दै फर्किए

यसकारण ऐतिहासिक भइरहनेछन् विघटित संसद र निर्वतमान सांसदहरु

२९ असोज, काठमाडौं । दुई वर्षअघि संविधानसभा विघटन भएर व्यवस्थापिका संसदमा रुपान्तरित हुँदै गर्दा मधेसवादी दलका सांसदहरु सीमानाकामा धर्ना दिइरहेका थिए । ठीक २ वर्षअपघि संसद विघटन हुँदै गर्दा उनीहरु संसद भवनमा हँसमुख मुद्रामा सेल्फी खिचिरहेका थिए ।

विघटित व्यवस्थापिका संसदको सबैभन्दा ठूलो उपलब्धी के भनेर सोध्यो भने निष्फ्रिक्री भन्न सकिन्छ- यसले तोडिएका मनहरु जोड्यो, संविधान अश्वीकार गरेर संसद भवन छाडेकाहरु यही संविधान स्वीकार गरेर निवर्तमान भए । उनीहरुले त्यहाँ विदाइका भाषण पनि गरे ।

ऐतिहासिक संविधानसभाबाट संविधान जारी गरेपछि रुपान्तरित भएको व्यवस्थापिका संसदको दोस्रो ठूलो उपलव्धी यहि हो-संविधान कार्यन्वयनमा सिंगो मुलुकलाई एक ठाउँमा ल्याएर व्यवस्थापिका संसद विघटन भयो ।

मधेसवादीको अपेक्षाःओलीको आश्वासन

संसदको विदाइ बैठकलाई सम्बोधन गर्दै मधेसवादी दल राजपाका नेता महिन्द्र राय यादव र संघीय समाजवादी फोरमका डा.शिवजी यादवले सांकेतिक रुपमा दिएको अभिव्यक्तिले धेरै अर्थ राख्छ । उनीहरुले परोक्ष रुपमा केपी ओली र प्रचण्ड नेतृत्वको बामपन्थी गठबन्धनलाई संकेत गर्दै भने-अब दुई तिहाई ल्याएर संविधान संशोधन गरिदिनुहोला ।

मधेसवादी दलका नेताहरुको अभिव्यक्तिलाई प्रचण्डले ‘कोट गरेरै’ भविष्यमा मधेसका माग सम्बोधनमा संविधान संशोधन गर्ने प्रतिबद्धता जनाए । यसअघि संविधान संशोधनको विपक्षमा रहेको नेकपा एमालेका अध्यक्ष ओलीले रोष्टमबाटै मधेश र मधेशी जनताको चाहना र राष्ट्रको आवक्यकताका आधारमा संविधान संशोधन गरिने बताए ।

संविधानसभाबाट संविधान जारी गर्ने अभियानको अगुवाइ गरेका ओली र प्रचण्डले रुपान्तरित व्यवस्थापिका संसद बिघटनके सँघारमा दिएका यी अभिव्यक्ति लाक्षणिक मात्र होइनन्, भविष्यतर्फका संकेत पनि हुन् । आउने संसदका दुई तिहाइको परिकल्पना गरेका यी दुई बामपन्थी नेताले व्यवस्थापिका संसद विघटन हुँदै गर्दा आउने संसदका लागि केही कार्यभारको संकेत पनि गरेका छन् ।

ओली देउवा कटाक्षः भावी संसदको संकेत

ओली र प्रचण्डको समान अभिव्यक्तिमात्र होइन ओली र देउवाको कटाक्षले पनि भावी दिनको संकेत गरेका छन् । यो कटाक्षको अर्थ अब आउने संसदमा को ठूलो हुने भन्नेनै हो । ओलीले रोष्टमबाटै भनेका छन्-अब भोलिदेखि एमाले देशको प्रमुख दल हो भन्ने बानी पर्नुपर्छ ।
व्यवस्थापिका संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस शनिवार मध्यरातिपछि दोस्रोमा झरेको छ भने बिघटित संसदको दोस्रो ठूलो दल एमाले अब स्थानीय तह चुनावको परिणामका आधारमा पहिलो दल बनेको छ ।

आउने प्रतिनिधिसभा र प्रदेशसभा चुनावबाट पहिलो दलको हैसियत कसले बनाउने भन्ने लडाईको सांकेतिक कटाक्षा थियो संसदमा ओली र देउवाको सवाल जवाफ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा को ठूलो हुने भन्ने लडाइका शंखघोष थियो त्यो ।

ओली र देउवाबीचको सवाल जवाफमा प्रचण्ड मध्यमार्गी जस्तो देखिए पनि उनले भावी दिनमा कांग्रेसले बामपन्थी बहुमतको सामना गर्न मानसिक रुपमा तयार रहनुपर्ने संकेत गरेका छन् । उनले एमाले माओवादी मिल्दैमा अब देशमा अधिनायकवादी कम्युनिस्ट शासन आउन लाग्यो जस्तो गरी हौवा नफिजाउन कांग्रेस र अन्तर्राष्ट्रिय समुदायलाई समेत आग्रह गरे ।

संसद विघटनः विविधताको नमूना, ध्रुविकरणको आरम्भ

व्यवस्थापिका संसद विघटन हुँदै गर्दा नेताहरुले दिएका अभिव्यक्तिको सन्दर्भ यहाँ किन ल्याउन खोजिएको हो भने- अब मुलुक कुन दिशामा जाँदैछ भन्ने संकेत उनीहरुका अभिव्यक्तिबाट जनताले बुझ्न सक्छन् । अब देशमा सानातिना पार्टीहरु लोप हुनेछन् र उनीहरु दुई ठूला गठबन्धनमा विलय हुनेछन् ।

संसद विघटन हुँदै गर्दाका केही दृष्यहरुले देखाएको प्रष्ट सन्देश के हो भने अब नेपालमा दुई धारका राजनीतिक शक्तिमात्र अस्थित्वमा रहनेछन् । एउटा ध्रुबमा बामपन्थी शक्ति हुनेछन् भने अर्को ध्रुवमा उदार पुँजिवादी अर्थात प्रजातान्त्रिक शक्ति हुनेछन् । बाम ध्रुवको नेतृत्व एमालेले गर्नेछ, उदार पुँजिवादी ध्रुवको नेतृत्व कांग्रेसले गर्नेछ ।

त्यसैले पनि विघटित व्यवस्थापिकाजस्तो दृश्य आउने संसदमा नहुन सक्छ । बिघटित संसदमा ३० भन्दा राजनीतिक दल थिए भने अब त्यसको एक तिहाइ दल पनि अस्थित्वमा आउने छैनन् । बिघटित संसदको जस्तो बैचारिक, राजनीतिक, सामाजिक र सांस्कृतिक विविधता सम्भवतः आउने संसदमा देख्न पाइने छैन ।

साना दलको विलय, ठूलाको गठबन्धन

हाम्रो देशको मिश्रति निर्वाचन प्रणालीका कारण अहिलेका कांग्रेस वा एमालेले एकल बहुमत पाउने अवस्था छैन । स्थानीय तहको चुनावले त के देखायो भने मिश्रति निर्वाचन प्रणाली नभए पनि अहिले दलहरुको आकारका हिसाबले कुनै एक दलले प्रत्यक्ष निर्वाचनबाट पनि बहुमत पाउन सक्दैन ।

रुपान्तरित व्यवस्थापिका संसद विघटन हुँदै गर्दा एकाएक दलहरुबीच देखिएको एकता, विलय र गठबन्धनको अभ्यास त्यसैको प्रतिबिम्ब हो । वामपन्थीहरु सके दुई तिहाई, नसके बहुमत पाएर स्थिर सरकार दिन अग्रसर भएपछि कांग्रेसले हिन्दूवादी राप्रपादेखि मधेसवादीसम्मका दलहरुसँग गठबन्धनको प्रयास गरेको हो ।

विघटित संसदका सांसदहरु निवर्तमान माननीय हुँदै गर्दा धेरैले ठूला दलको ओत लिन थालिसकेका छन् । यतिसम्म कि उपसभामुख गंगाप्रसाद यादवले समेत संसद विघटनको लगत्तै राप्रपा त्यागेर एमाले प्रवेशको घोषणा गर्नुले आउने दिनको तीब्र धु्रवीकरणलाई संकेत गर्छ ।

अब आउने संसद शनिवार मध्यरातमा बिघटन भएको संसदभन्दा भिन्न प्रकारको हुनेछ ।

ऐतिहासिक थलोःआजीवान सम्मानका हकदार

विगत १९ वर्षदेखि संसदीय मामिलामा रिपोर्टिङ गरेको र चारवटा संसद विघटनको साक्षी भएको हिसाबमा के भन्न सक्छु भने- शनिवार विघटित व्यवस्थापिका संसद एउटा ऐतिहासिक संसदीय थलो हो । सम्भवतः यस्तो विविधता र छुट्नेबेलाको एकता भविश्यमा नदेखिन सक्छ ।

निवर्तमान हुँदै गर्दा व्यवस्थापिका संसद सदस्यहरुले ऐतिहासिक संविधानसभाबाट संविधान जारी गरेवापत जीवनभर स्मरण रहने गरी विशिष्ठ पहिचानसहितको लोगो पाएका छन् । वास्तवमा उनीहरु त्यो लोगोका हकदार हुन् ।

लोगोमात्र होइन, संविधान बनाउने सभासदलाई आजीवन केही सुविधाहरु दिए पनि फरक पर्दैन । उनीहरुले संविधानमात्र बनाएका छैनन्, त्यसपछिका दुई वर्षमा धेरै ठूला र परिवर्तनकारी काम सम्पन्न गरेका छन् ।

समावेशी नेपालको सुन्दर तस्वीर उपहार

संविधान जारी गरेलगत्तै रुपान्तरित व्यवस्थापिका संसदले नेपालको इतिहासमै पहिलोपटक महिला राष्ट्रप्रमुख चुन्यो । त्यतिमात्र होइन संसदले आफ्नो नेता अर्थात सभामुखमा उत्पीडित समुदायकी महिलालाई चुनेर विश्वमै अनुपम सन्देश दियो-नेपालमा राष्ट्रप्रमुख र व्यवस्थापिका प्रमुख महिला निर्वाचित भए ।

त्यही संसदले उपराष्ट्रपतिमा आदिवासी जनजाति र उपसभामुखमा मधेसी समुदायका नेतालाई चुनेर नेपाल साँच्चिकै विविधतामा एकता भएको देश हो भन्ने सन्देश दियो । समावेशी नेपालको सजीव तस्वीर विघटित व्यवस्थापिका संसदले मुलुकका लागि उपहार दिएर गएको छ ।

ऐतिहासिक कर्तव्य पूरा

विघटित संसदले २ वर्षको अवधिमा तीन प्रधानमन्त्री निर्वाचित गर्नुपर्‍यो । सम्भवतः यो अस्थिरताबाट अभिशप्त हुने संसद यो अन्तिम बनोस् भनेरै दलहरुले धु्रवीकरण गरेका हुन सक्छन् । नेपाल अब संविधान निर्माणको अभिभारा पूरा गरेर सम्बृद्धिको बाटोमा लम्किँदै गर्दा विघटित संसद आफ्नो कर्तव्य पूरा गरेको छ ।

दुई वर्षको अवधिमा विघटित संसदका तीन अधिवेशन भए र ६६६ बैठक बसे । यो संसदबाट विभिन्न ६६ वटा विधेयक पारित भएका छन् । तीमध्ये १६४ वर्ष पूरानो मुलुकी ऐनलाई व्यवस्थित गरेर मुलुकी फौजदारी संहिता र मुलुकी देवानी संहिता अलग-अलग कानुन बनेका छन् ।

जनताको दैनिक जीवनमा प्रत्यक्ष आइपर्ने समस्या समाधानका लागि यी दुई कानुन ऐतिहासिक महत्वका छन् । जंगवहादुर राणाले पहिलो पटक ल्याएको मुलुकी ऐनलाई समय अनुकुल सुधार गर्ने कार्य यो संसदले गरेको छ ।

संविधान कार्यान्वयनका लागि विघटित संसदले आफ्नो दायित्व पूरा गरेर गयो । दलहरुको विवादका कारण राष्ट्रियसभा निर्वाचन सम्बन्धी बिधेयक पारित हुन सकेन । त्यो बाहेक स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्बन्धी एक दर्जनभन्दा बढी विधेयक पारित गरेर संविधान कार्यन्वयनको बाटो खुलाएको छ ।

रुँदै हिँडेकाहरु हाँस्दै फर्किए 

विघटित संसदको आयु संविधानले ०७४ माघ ७ गतेसम्म तोकेको थियो । धेरैले यो संसदले आफ्नो आयु आफैं थप्ने आशंका पनि गरेका थिए । तर, तीन महिना अगावै व्यवस्थापिका संसदले आफ्नो स्वाभाविक विघटन स्वीकार गरेको छ ।

एक युगमा एकपटक हुने संविधानसभा निर्वाचन नेपालमा दुई पटक भयो । पहिलो संविधानसभा ०६९ जेठ १४ गते मध्यरातमा असामयिक रुपमा विघटित हुँदा तत्कालीन सभासदहरु रुँदैरुँदै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट बाहिरिएको दृष्यका साक्षी हामी नै थियो ।
तर, दोस्रो संविधानसभाबाट संविधान बनाएका बिघटित संसदका सदस्यहरु त्यही सम्मेलन केन्द्रमा रात्रिभोज खाएर फोटो सेसन गर्दै हँसिलो मुद्रामा घर फर्किएको दृश्यका साक्षी पनि हामी नै भयौं । सायद उनीहरुले शनिवारको रात भविष्यको राम्रो सपना देखे होलान् ।
किनकि जेठ १४ गते रुँदै हिँडेकाहरु मध्ये धेरैजसो यसपटपक हाँस्दै बाहिरिएका दृश्य हामीले देख्यौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
मात्रिका पाैडेल

समसामयिक राजनीतिक बिषयमा कलम चलाउने पाैडेल झन्डै दुर्इ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी अनलाइनखबर डटकमका डेपुटी एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment