Comments Add Comment

हरकपुरको आगलागी तीन सातासम्म रहस्यमै, प्रहरी अनुसन्धान फितलो भएको आरोप

२९ असोज, विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-३ हरकपुरमा तीन साताअघि भएको आगलागीको रहस्य अझै खुल्न सकेको छैन । शंकाष्पद तवरबाट भएको आगलागीबाट एकै परिवारका चार जनाको ज्यान गएको थियो ।

मध्यरातको समयमा स्थानीय चन्द्रकुमार राईको घरमा भएको आगलागीमा ५६ वषिर्य चन्दकुमार, उनकी ४९ वषिर्या श्रीमती पार्वती, ४६ वषिर्या वहिनी विष्णुकुमारी र ८६ वषिर्या आमा गंगामायाको घरभित्रै जलेर ज्यान गएको थियो । आगलागीमा घरसहित अन्नपात जलेर नष्ट हुदा साढे एक करोडको क्षति भएको बताइएको छ ।

घटनालगत्तै अनुसन्धानमा जुटेको प्रहरीले आगलागी नियोजित हो कि भवितव्य भन्ने निक्र्यौल अझै गर्न सकेको छैन । प्रहरीले पनि घटनाको अनुसन्धान भइरहेको जनाए पनि अहिलेसम्म कसैलाई नियन्त्रणमा लिन सकेको छैन ।

आफन्त भन्छन्: प्रहरी अनुसन्धान फितलो

मृतक परिवारका आफन्तले प्रहरीले घटनाको अनुसन्धानमा साखै चासो नदेखिएको गुनासो गरेका छन् । आगलागीको घटनामा परी आमा, दाई, भाउजु र वहिनी गुमाएका राजकुमार राईले प्रहरीको अनुसन्धानमाथि नै प्रश्नचिन्ह खडा भएको बताए । उनले भने, ‘घटना नियोजित हुनसक्ने घटनास्थलमा फेला परेका प्रमाणले देखाएको छ, तर प्रहरीको अनुसन्धान प्रक्रिया फितलो र शंकास्पद देखिएको छ,’ चन्द्रकुमारका दाई रामकुमारले भने ।

रामकुमारको परिवारले आगलागीको घटनामा प्रहरी अनुसन्धान ढिलो र फितलो भएको भन्दै आइतबार घटनास्थलमै पत्रकार सम्मेलन गरेका हुन् । पत्रकार सम्मेलनमा चन्द्रकुमारकी वहिनी इन्दिरा राईले आगलागी भएर घरभित्रै चार जनाको जलेर ज्यान जान नसक्ने भन्दै घटना नियोजित रुपमा घटाइएको दावी गरिन् । उनले आगलागी भएपछि कसैले पनि भागेर ज्यान जोगनउ नसक्नु अनौठो भएको बताइन् ।

उनले घटनालाई प्रहरीले पनि दुर्घटनाको रुपमा लिएर सुक्ष्म अनुसन्धान नगरेको गुनासो गरिन् ।

‘प्रहरीले घटनालाई दुघर्टनाको श्रेणीमा राखेर अनुसन्धान गरेको छ,’ उनले भनिन्, ‘यसलाई नियोजित घटनाको रुपमा लिएर अनुसन्धान अघि वढाउनु पर्छ ।’

आगलागीको घटनामा प्रहरीले अहिलेसम्म स्थानीयको भनाई लिएर मात्र अनुसन्धान गरिरहेको उनीहरुले वताए ।

‘हामी आफन्तहरुसँग प्रहरीले यस विषयमा कुराकानी गरेको छैन,’ उनीहरुले एक स्वरमा भने ।

सेन्टर बेरा लगाइएको घरमा आगलागी हुँदा घर माथिबाट हाम्फालेर भाग्न सक्ने अवस्था रहेको, चन्द्रकुमारको शव भेटिएको स्थानमा रगत फेला परेको, गाँउलेले भनेजस्तो घरमा रडको प्रयोग नगरिएको र विद्युत सर्ट भएर आगलानी नभएको दावी आफन्तले गरेका छन । पत्रकार सम्मेलनमा मृतकका छोराछोरी समेत थिए ।

प्रहरी भन्छः अनुसन्धान कठिन भयो

प्रहरीले घटनाको अनुसन्धान कठिन भएको बताएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरिक्षक राजन कार्कीले घटना घटेको दिनदेखि नै प्रहरीले अनुसन्धान गदै आएको भए पनि यथार्थ पत्ता लगाउन गाह्रो भएको बताए ।

उनले भने, ‘आगलागीमा सबै प्रमाण नष्ट भएको छ, तर पनि प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ । केही दिनभित्रै प्रहरी एकिनमा पुग्ने छ ।’

प्रनि कार्कीले आगलागीको घटनालाई विषेश प्राथमिकतामा राखेर क्षेत्रीय प्रहरी कार्यालयको टोलीले पनि छुट्टै अनुसन्धान गरिरहेको जानकारी दिए । उनले अब हाईटेक प्रयोग गरी अनुसन्धान गर्ने तयारीमा प्रहरी रहेको पनि वताए ।

घटनामा परी मृत्यु भएकाहरुको पोष्टमार्टमका रिपोर्टसमेत आउन ढिलाई भएकाले पनि अनुसन्धान प्रभावित भएको प्रनि कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment