३१ असोज, काठमाडौंं । लोडसेडिङ अन्त्य भएसँगै काठमाडौं शहरमा आगलागीका घटनामा कमी आएको छ । विद्युत सर्ट भएर हुने आगलागीमा कमि देखिएको छ ।
जुद्ध वारुण यन्त्र काठमाडौंका प्रमुख बद्रीकुमार नगरकोटीका अनुसार काठमाडौंमा हुने आगलागीका अधिकांश घटनाको मुख्य कारण विद्युत सर्ट हुन्छ ।
उपत्यकामा लोडसेडिङ अन्त्य भएको तिहारमा वर्षदिन पुगेको छ । त्यससँगै भोल्टेजमा हुने उतारचढाव कम भएको छ, जुन विद्युत सर्ट हुने मुख्य कारण हो । नगरकोटीका अनुसार आगलागी ४० प्रतिशतले कम भएको छ ।
जुद्ध वारुण यन्त्र कार्यालयका अनुसार आर्थिक वर्ष ०७३/७४ मा काठमाडौंका एक सय ८५ स्थानमा आगलागी भएको थियो । आव ०७२/७३ मा दुई सय ७९ वटा आगलागीका घटना भएका थिए । चालु आवका तीन महिनामा काठमाडौंका ३३ स्थानमा आगलागी भएको छ ।
इन्भर्टरको क्षमताभन्दा बढी विद्युत उपभोग गर्दा पनि आगलागी हुने गथ्र्यो ।
तिहारमा जोखिम बढी
प्रकासको चाडका रुपमा मनाइने तिहार पनि आगलागीका घटना हुने मुख्य समय हो । त्यसबाहेक गर्मी र सुख्खायाममा आगलागी अत्यधिक बढ्ने गर्छ ।
तिहारमा धेरै स्थानमा बिजुली र अन्य बत्तीहरु बालिन्छ । यस समयमा आगो लाग्ने अर्को कारण दियोको कमजोर व्यवस्थापन पनि हो ।
जुद्ध वारुण यन्त्रले महानगरका चार स्थानमा दमकल राख्ने प्रक्रिया सुरु गरेको छ । शंखपार्क, बालाजु, सोल्टीमोड र बानेश्वरमा बिहान ८ देखि साँझ ८ बजेसम्म दमकल तयारी अवस्थामा राखिीन लागेको हो ।
उक्त कार्यालयले पाँच वर्षअघि उपत्यकाका ६ स्थानमा दमकल स्टेसन बनाउने योजना ल्याएको थियो । तर, आवश्यक मात्रामा जग्गा पाउन नसकेकाले योजना अगाडि बढेको छैन ।
त्यसका लागि १५ जनाको टोलीसहित आवासीय भवन र दमकल पार्किङ क्षेत्र आवश्यक हुन्छ । बौद्धमा भने जग्गा प्राप्त भएकाले स्टेसन निर्माण अगाडि बढेको छ ।
प्रतिक्रिया 4