Comments Add Comment

डेनमार्कको बजारमा ताप्लेजुङको चिया

वार्षिक ३० हजार टन माग, उत्पादन एक टनभन्दा कम

३१ असोज, ताप्लेजुङ । जिल्लाको चिया खेती पूर्व क्षेत्रमा सबैभन्दा कान्छो हो । तर, यहाँ उत्पादित अर्गानिक चियाको माग समुद्रपारबाट आउन थालेको छ ।

पर्लिन नामका डेनमार्कका व्यवसायीले वार्षिक ३० हजार टन प्रशोधित चिया पठाउन माग गर्दै आएका छन् । व्यवसायी विदुर भट्टराईका अनुसार बल्ल करिब सात सय किलो मात्र उत्पादन हुन थालेको छ ।

जिल्लामा उत्पादित चिया व्यवसायीले गुणस्तर परीक्षणका लागि डेनमार्क र बेलायत पठाएका थिए । अर्गानिक चियाको माग डेनमार्कमा अत्यधिक पाइएको छ । दुवै मुलुकले ताप्लेजुङको चियाको गुणस्तर राम्रो रहेको प्रतिवेदन दिएका छन् ।

सोही कारण डेनमार्कबाट बिरुवा रोप्न सहयोग आउने संकेत देखिएको भट्टराईले बताए । व्यवसायीले चिया खेतीका लागि खरिद गरेको सबै जग्गामा बिरुवा रोपिसकेका छैनन् । अझै ६८ रोपनीमा बिरुवा रोप्न बाँकी छ ।

चार वर्षभित्र सबैमा खेती गरेर वार्षिक सात हजार टनसम्म उत्पादन लिने व्यवसायीहरुको योजना छ । ताप्लेजुङको चिया ‘ग्रिन टी’का रुपमा मात्र उपभोग हुने गरेको छ ।

ब्रिटिस गोर्खा सेनामा कार्यरत सैनिकले अहिले यहाँको चिया बेलायत पनि पुर्‍याइरहेका छन् । व्यवसायीहरुले काठमाडौंमा पनि बिक्री गर्दै आएका छन् । यहाँको चियाको मूल्य प्रतिकिलो २५ सय रुपैयाँ छ ।

ताप्लेजुङमा उत्पादित चियाको माग डेनमार्गसम्म पुग्दा माग धान्न हम्मे परेको छ

जिल्लामा चिया खेतीको प्रयास ०४३ सालमै सुरु भएको हो । तत्कालीन वन मन्त्री विष्णु मादेनले सुकेटारस्थित आफ्नै जग्गामा बिरुवा रोप्ने प्रयास गरे । कृषि प्राविधिकले माटो र हावापानी दुवै अनुपयुक्त भएको प्रतिवेदन दिएपछि मादेनको प्रयास सफल भएन ।

बुङकुलुङस्थित पाथीभरा चिया उत्पादक सहकारी संस्थाले दुई सय रोपनी खरिद गरी ०५४ सालदेखि खेती सुरु गरेको हो । तर, माओवादी द्वन्द्वका कारण ०५६ सालमा बिरुवा रोपेर अलपत्र छाडियो, उक्त क्षेत्र । ०७० सालमा आएर मात्र औपचारिक रुपमा खेती सुरु भएको हो । हालसम्म करिब डेढ सय रोपनीमा खेती भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment