Comments Add Comment

धनगढीमा प्रथम रोटी मेला सम्पन्न

३१ असोज, कैलाली । कैलालीको धनगढीमा मंगलवार प्रथम रोटी मेला सम्पन्न भएको छ ।

रोटी परिकारको बारेमा जानकारी दिने तथा संरक्षण गर्ने उद्देश्यले टीकापुर पर्यटन समितिले एक दिने मेलाको आयोजना गरेको हो ।

रोटीको परिकारले पर्यटकलाई लोभ्याउने भएकाले विभिन्न समुदायमा प्रचलित रोटीको संरक्षण गर्न आवश्यक रहेको मेला आयोजकले बताएका छन् ।

स्थानीयस्तरमा बन्ने रोटीका विभिन्न परिकारहरु कोदोको रोटी, फिनी, रुमाले रोटी, सेलरोटी, नेवारी रोटी, सल्यानी रोटी, डङ्गौरा थारु र राना थारु समुदायमा बनाइने रोटीहरु मेलामा बिक्री तथा प्रदर्शनीका लागि राखिएको थियो ।

ढिक्री, खीर जस्ता मेलाको आयोजना गर्दै आएको टीकापुर पर्यटन विकास समितिले पहिलो पटक रोटी मेलाको आयोजना गरेको हो । मेलाले होमस्टेमा पाहुनाहरुको आकर्षण बढाउने राना थारु सामुदायिक होमस्टेका सञ्चालक परशुराम रानाले बताए ।

मेलामा राना थारु समुदायमा प्रचलित रोटीको प्रदर्शनी गर्नुका साथै अवलोकन गर्नेहरुलाई रोटीको बारेमा जानकारी दिइएको उनले बताए ।

रोटी स्वास्थ्यको दृष्टिकोणले समेत राम्रो खानाको परिकार रहेको उल्लेख गर्दै अवलोकनकर्ता उदयसिंह बोहराले देश विदेशमा यसको प्रबर्द्धन गर्न आवश्यक रहेको बताए ।

‘टीकापुर पर्यटन समितिले लगाएको यो मेला नौलो र प्रशंसनीय छ’, अर्का अवलोकनकर्ता कैलाली उद्योग बाणिज्य संघका कोषाध्यक्ष पुष्पराज कुँवरले भने -‘यसप्रकारको मेलाको अन्य ठाउँमा पनि आयोजना गर्न आवश्यक छ ।’

एक दिने रोटी मेला करिब पाँच सय जनाले अवलोकन गरेको आयोजक जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment