Comments Add Comment

समानुपातिक सूची सच्याउन माग गर्दै राजपा महासचिव नै धर्नामा

नेतृत्वले जात,पैसा र नाताका आधारमा उम्मेदवार बनाएको आरोप

१ कात्तिक,काठमाडौं । मधेश आन्दोलनको भावना विपरित पार्टी नेतृत्वले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक उम्मेदवारको सूचीमा जात र पैसाका आधारमा नाम समावेश गरेको भन्दै राजपा नेताहरुले रिले अनसन सुरु गरेका छन् ।

बुधवारबाट शुरु भएको रिले अनसनमा राजपा महासचिव केशव झा सहित केन्द्रीय नेताहरु छन् । उनीहरुले विभेदकारी समानुपातिक सूची सच्याउन माग गर्दै धर्ना सुरु गरेका हुन् ।

समानुपातिक सूचीमा पार्टीको बरियता अनुसार नाम राख्नुपर्ने र यसअघि पटक पटक लाभको पद लिएकाहरुलाई समानुपातिकमा राख्न नहुने माग नेताहरुले रोखका छन् ।

नामै नसुनिएका र पार्टीको साधारण सदस्य समेत नरहेका व्यक्तिहरुलाई समानुपातिकमा राखिएको भन्दै तत्काल उनीहरुको नाम हटाउन उनीहरुले माग गरेका छन् ।

मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका महिलालाई पाखा लगाएर नेताका श्रीमती,प्रेमिका र नातेदारहरुलाई समानुपातिक सूचीमा राखिएको आरोप असन्तुष्ट महिला नेताहरुले लगाएका छन् ।

त्यस्तै युवा विद्यार्थीलाई प्रत्यक्ष र समानुपातिक उम्मेदवारमा न्यायेचित प्रतिनिधित्व माग गर्दै उनीहरुले उम्मेदवार छनौट गर्न तत्काल केन्द्रीय निर्वाचन समिति गठन गर्नुपर्ने बताएका छन् ।

धर्नामा महासचिव केशव झाका साथै केन्द्रीय सदस्यहरु वीपी यादव,दिपक कुमार झा, दिपेन्द्र अग्रवाल,नागेन्द्र झा, युवा संगठनका अध्यक्ष रोशन सिंह राणा,महासचिव गायत्री कुमारी,उपाध्यक्ष मुकेश कर्ण,पेशल ढकाल लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment