Comments Add Comment

ढाकाटोपीको सन्देशः दाजुभाइको शीर उठाउँछ !


काठमाडौं । तिहारमा माइतीलाई के उपहार दिने ? अहिले यसका नानाथरि विकल्प छन् । यही प्रश्नको जवाफ खोज्न विगतमा खासै अलमल गर्नु पर्दैनथ्यो । झटपट भने हुन्थ्यो, ढाका टोपी ।

तिहारमा चेलीले माइतीलाई दिने सर्वोत्तम उपहार हो यो । किनभने पहिरनमा टोपीको खास महत्व र अर्थ छ । यसलाई हाम्रा पूर्खाले ‘शीरपोस’को उपमा दिए । पहिरनको पनि उच्च कोटीमा दरिएको छ यो । यही पहिरन चेलीले माइतीलाई स्नेहपूर्वक दिएका हुन् ।

टोपी मात्र होइन, ढाका टोपी

त्यसो त, ढाका टोपीप्रति हाम्रो भावनात्मक सम्बन्ध छ । यसमा हामी आफ्नोपन पाउँछौं ।

कतै नेपालीलाई चिनाउनु परे ढाका टोपी मानक बन्छ । यो हाम्रो आफ्नै उत्पादन हो । र, हो आफ्नै रचना । यो हाम्रो आस्थाको प्रतिक पनि हो ।

चेलीको सर्वोत्तम उपहार

भाइटीकामा दिदीबहिनीले दाजुभाइको शिरमा ढाकाटोपी लगाइदिने चलन अद्यापि छ । यसको खास अर्थ छ । टोपीजस्तै दाजुभाइको शिर उच्च रहोस् भन्ने प्रतिकात्मक सन्देशसहित ढाका टोपी उपहार दिइन्छ ।

भाइटीकामा माइतीको टाउको खाली राख्न नहुने अर्को धारणा पनि छ । यही कारण टोपी पहिर्‍याइदिइन्छ ।

तिहारको रौनक र ढाका टोपी

जसै तिहार नजिकिन्छ, बजारमा ढाका टोपी छ्यापछ्याप्ती देखिन्छ । तिहारलाई लक्षित गरेर बजार ढाका टोपीले ढाकिन्छ । ढाका टोपी देख्नासाथ हामी रोमाञ्चित हुन्छौं । किनभने, यसले हामीलाई तिहारको मिठास दिन्छ ।

तर, खै टोपी ?

आधुनिकताका नाममा हामीले कति परम्परागत विधि-विधानलाई लत्याउँदै आएका छौं । पछिल्लो समय टोपी पनि यसैको मारमा परेको छ ।

अहिले चेलीले माइतीलाई अन्य लत्ताकपडा दिने चलन बढी छ । भाइटीकामा दिइने उपहारलाई अन्य लत्ताकपडा र ग्याजेटहरुले प्रतिस्थापित गर्दै छन् ।

किन भनियो ढाका टोपी ?

यो नेपालीहरुको मौलिक पहिरन र पहिचान दुवै हो । ढाकाको कपडाबाट तयार पारिने हुनाले ढाका टोपी भनिएको हो । निधारसहित सम्पूर्ण टाउको ढाक्ने भएकाले पनि यसलाई ढाका टोपी भनिने जनविश्वास छ ।

बंगलादेशको ढाका शहरबाट यस किसिमका कपडा आयात भएकाले यसलाई यस्ता कपडालाई ढाका भन्ने गरिएको हो ।

दौरा सुरुवालमा यो पुरुषको शिरमा चिटिक्क सजिन्छ । त्यसले यसलाई नेपालीहरुको राष्ट्रिय पोशाक पनि मानिएको हो ।

यसरी आयो प्रचलनमा

सांस्कृतिक दृष्टिकोणले भिन्नै महत्व बोकेको ढाका टोपी तत्कालीन राजा महेन्द्रको पालामा बढी प्रचलनमा आएको हो । त्यसबेला नेपालको सरकारी कर्मचारी सबैलाई नेपाली पोशाक अनिवार्य थियो । त्यसमा ढाका टोपी पनि पर्छ ।

यो नेपाली कला, धर्म र संस्कृतिसित पनि जोडिएको छ । धार्मिक कार्यको दौरान निधार र शिर खाली राख्न नहुने मान्यता छ । त्यसको विकल्प ढाका टोपी नै हो । भाइटीकामा ढाका टोपी त्यही धार्मिक मान्यताको उपज हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment