१ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव नसर्ने स्पष्ट पारेको छ । बुधबार पत्रकार सम्मेलन गरी आयोगले तोकिएकै मितिमा चुनाव हुने बताएको हो ।
चुनावको तयारकिा बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मुख्य निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले चुनाव उत्सापूर्वक रुपमा सम्पन्न हुने निश्चित भएको भन्दै चुनावको मिति सर्नेमा शंका नगर्न आग्रह गरे ।
पत्रकार सम्मेलनमा मुख्य निर्वाचन आयुक्त यादवलेे यसअघि व्यवस्थापन गरिएका मतपेटिकाबाट नै निर्वाचन गराउने तयारी गरेको बताए ।
साथै आयोगले निर्वाचन सामग्रीको व्यवस्थापन प्रक्रियालाई अगाडि बढाइसकेको बताए ।
प्रदेश र प्रतिनिधिसभाका लागि एउटै मतपत्र
समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने सात प्रकारका मतपत्रको छपाइ सुरु भइसकेको भन्दै मुख्य निर्वाचन आयुक्त यादवले कात्तिक ७ गतेसम्म सबै मतपत्र छापिसकिने बताए ।
समानुपातिकतर्फ एक करोड ८० लाख मतपत्र छपाई गर्नुपर्नेमा हालसम्म ९० लाखभन्दा बढी मतपत्र छपाई भइसकेको आयोगले जानकारी दिएको छ ।
यसैबीच आयोगको निर्णय अनुसार एउटै पानाको माथिल्लो भागमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि र त्यसको तल्लो भागमा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र हुने छ ।
समानुपातिकतर्फको मतपत्र सेतो कागजमा हल्का रातो मसीले छापिने छ भने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र सेतो कागजमा हल्का हरियो रङ्गको मसीले छापिने गरी मतपत्रको व्यवस्था गरिएको आयोगले जनाएको छ ।
राष्ट्रभाषामा मतदाता शिक्षा दिइने
यसपटक बदर मतलाई कम गर्ने गरी निर्वाचन शिक्षा कार्याक्रमलाई पनि प्रभावकारी बनाउने आयोगले तयारी गरेको छ ।
सबै प्रकारका मातृभाषामा मतदाता शिक्षा सामग्रहरु तयारी गरी सबै मतदातामा शिक्षा दिइने तयारी आयोगले गरेको हो ।
यस्तै आयोगले निर्वाचनका लागि आठ प्रकारका तालिम सञ्चालन सुरु गरिसकेको जनाएको छ । जस अनुसार निर्वाचन र सञ्चार, मतदाता शिक्षा, निर्वाचन सामग्री तथा लेखा व्यवस्थापन, निर्वाचन सञ्चालन तथा व्यवस्थापन, निर्वाचन र प्रविधि व्यवस्थापन, निर्वाचन र सुरक्षा व्यवस्थापन, मतदान र मतगणना तथा राजनीतिक दलसँग सम्बद्ध युवाहरुका लागि प्रशिक्षण दिइने आयोगले जनाएको छ ।