Comments Add Comment

माडी नगरपालिकाको लेखा परीक्षण गर्न आनाकानी

२ कात्तिक, चितवन । चितवनको माडी नगरपालिकाले आन्तरीक लेखा परीक्षण गर्न आनाकानी गरेको छ । नगरपालिकाले गएको आर्थिक वर्ष ०७३/७४ को लेखा परीक्षण अहिलेसम्म पनि गराएको छैन ।

अघिल्लो आर्थिक वर्षको साउन महिना भित्र नै आन्तरिक लेखा परीक्षण गराएर असोज महिना भित्रै आयव्ययको विवरण कोष तथा लेखा नियन्त्रक कार्यालयले महालेखा नियन्त्रकको कार्यालयमा पठाउनुपर्ने हुन्छ । तर, कात्तिक महिना शुरु भइसक्दा पनि नगरपालिकाका कार्यकारी अधिकृतले लेखापरीक्षण गराउन आनाकानी गर्दै आएका छन् ।

स्थानीय सेवा सञ्चालन तथा व्यवस्थापन सम्वन्धी आदेश २०७४ को बुँदा ५९ मा स्थानीय तहको आन्तरीक लेखापरीक्षण प्रचलित कानुन अनुसार आफ्नै आन्तरीक लेखापरीक्षकबाट गराउनुपर्ने उल्लेख छ । जिल्ला स्थानीय तह र सरकारी विषयगत कार्यालयहरुको आन्तरिक लेखा परीक्षण जिल्ला समन्वय समितिले गर्दै आएको छ ।

कार्यालयका वरिष्ठ आन्तरिक लेखा परीक्षण अधिकृत बिसुराम कुँवरले पटक–पटक लेखापरीक्षणका लागि अनुरोध गर्दा पनि नगरपालिका कार्यकारी अधिकृत र लेखा प्रमुखले बेवास्ता गरेको आरोप लगाए । नगरपालिकाका हालै सरुवा भएर गएका कार्यकारी अधिकृत रोमबहादुर महतले अनलाइनखबरसँग कुरा गर्दै नगरपालिकाले आन्तरिक लेखा परीक्षण गर्ने विषयमा आलटाल नगरेको दावी गरे ।

नगरपालिकाका मेयर ठाकुर ढकालले अब छिट्टै आन्तरिक लेखा परीक्षण गराउने प्रतिक्रिया दिए । ‘माडीमा बाढी लगायतले क्षति गरेकाले नगरपालिकाको ध्यान त्यता केन्द्रित हुँदा यता ध्यान पुगेन होला तर अब गराउँछौं,’ मेयर ढकालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment