२ कात्तिक, पञ्जाब। राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) नेता रविन्दर गोसाईंको गत मंगलबार गोली हानी हत्या गरियो । दुई ‘सुटर’ र हत्याका योजनाकार अझै अज्ञात छन् ।
दुई वर्षयता भारत अधिनस्थ पञ्जाबमा भएको यो नवौं हत्या हो । प्रहरीको हात राजनीतिक व्यक्तिहरुका हत्यारासम्म पुग्न सकेको छैन । ‘कानुनको हात लामो हुन्छ’ समाजमा प्रचलित यो उखान चरितार्थ गर्दैन, पञ्जाब प्रहरीको असफलताले ।
यी सबै हत्याकाण्डको रहस्य पत्ता लगाउन विशेष जाँच दल पनि गठन नभएको होइनन् तर ती सबै टोली अन्तिम परिणामसम्म पुग्न सकेका छैनन् ।
१६ जुन २०१७ मा इसाई पादरी सुल्तान मसिहाको हत्या भयो, लुधियानाको पारु बन्दा होहल्लास्थित चर्च बाहिर । उनीमाथि पनि मोटरसाइकलमा सवार दुई व्यक्तिले गोली चलाएका थिए । अझै उनका हत्यारा पत्ता लागेका छैनन् ।
२५ जुन २०१७ मा लुधियानामा डेरा सच्चा सौदाका सञ्चालक ७० वर्षीय सतपाल शर्माको हत्या गरे, उनकै ४० वर्षे पुत्र रमेशले ।
१४ जनवरी २०१७ मा ‘हिन्दु तख्त’का ३० वर्षीय जिल्लाध्यक्ष अमित शर्माको हत्या भयो, लुधियानामै । स्थानीय दुर्गा मन्दिर नजिक उनीमाथि गोली बर्साइएको थियो ।
६ अगस्ट २०१७ मा सेनाका अवकाशप्राप्त ब्रिगेडियर जर्नेलतथा आरएसएस नेता जगदीश गगनेजामाथि गोली प्रहार गरियो, जालन्धरमा । उपचारका क्रममा उनको मृत्यु भयो ।
२३ अप्रिल २०१६ मा शिवसेनाको श्रमिक संगठनका २८ वर्षीय नेता दुर्गाप्रसाद गुप्ताको हत्या भयो । लुधियानाकै ललहेडी चोक खन्नामा उनीमाथि गोली बर्साइएको थियो ।
३ अप्रिल २०१६ मा ‘नामधारी पन्थ’का पूर्वप्रमुख चन्द कौरको पनि हत्या गरियो । लुधियानाबाट ३० किलोमिटर टाढा भैनी साहिब गुरुद्वारा नजिक उनीमाथि गोली हानिएको थियो ।
१९ जनवरी २०१६ मा पञ्जाबकै किदवई नगरको शहीदी पार्कमा अर्का एक आरएसएस नेतामाथि गोली दागियो । गम्भीर घाइते उनी उपचारपछि घर फिरे ।
३१ जनवरी २०१६ मा भटिन्डामा कांग्रेस उम्मेदवार हरमिन्दर सिंह जस्मीलाई लक्षित गर्दै कारबम विष्फोट गराइयो । त्यसको उद्देश्य के थियो भन्ने अझै अज्ञात छ ।
प्रतिक्रिया 4