Comments Add Comment

प्रदेश ६ र ७ मा यस्ता छन् एमालेका उम्मेदवार (सूचीसहित)

३ कात्तिक, काठमाडौं । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि एमालेले प्रदेश नं. ६ र  प्रदेश नं. ७ का उम्मेदवारहरू टुंगो लगाएको छ । बाँकी एक नम्बर, ३ नम्बर र ४ नम्बरमा पनि उम्मेदवार आजै टुंगो लगाउने एमालेको तयारी छ ।

पहिलो चरणमा चुनाव हुने ५ नम्बर प्रदेशका दुबै जिल्ला रुकुम पूर्व र रोल्पामा भने एमालेले प्रतिनिधि सभा र प्रदेश सभा कहिँ पनि उम्मेदवार नउठाउने भएको छ । ती जिल्लाका सबै सिट माओवादीलाई छाडिएको छ ।

वाम गठबन्धनमा रहेको माओवादीसँग शुक्रबार सिटको भागबण्डा गरेपछि एमालेले आफ्नो भागमा परेका जिल्लाहरुमा उम्मेदवार छानेको हो ।

एमालेले प्रतिनिधिसभातर्फ मुगुमा गोपाल बम र डोल्पामा धनबहादुर बुढालाई टिकट दिएको छ ।

यस्तै प्रदेशसभातर्फ जाजरकोट ‘क’मा निरज आचार्य, ‘ख’ मा करवीर शाही, मुगु ‘क’मा दानसिंह परियार, ‘ख’मा चन्द्रबहादुर शाही,डोल्पा ‘क’मा नन्दसिंह बुढा, जुम्ला ‘ख’ मा पदम रोकाय र कालिकोट ‘क’मा कुर्मराज शाहीलाई टिक दिएको छ ।

७ नम्बर प्रदेशमा को कहाँ ?

एमालेले सात नम्बर प्रदेशमा पनि उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । वाम गठबन्धनमा रहेको माओवादीसँग शुक्रबार सिट बाँडफाट भएपछि एमालेले आफ्नो भागमा परेका ७नम्बर प्रदेशका निर्वाचन  क्षेत्रहरुमा उम्मेदवारहरु टुंगो लगाएको हो ।

एमालेले प्रतिनिधिसभातर्फ दार्चुलामा गणेश ठगुन्ना, बैतडीमा दामोदर भण्डारी, बझाङमा भैरवबहादुर सिंह, बाजुरामा लालबहादुर थापालाई उम्मेदवार बनाएको छ ।

बझाङको उम्मेदवार बन्न पूर्वमन्त्री भानुभक्त जोसीले पनि दावेदारी प्रस्तुत गरेका थिए तर उनको साटो भैरवबहादुरले टिकट पाएका छन् ।

यस्तै प्रदेशसभातर्फ बैतडी ‘ख’मा लिलाधर भट्ट, बाजुरा ‘क’मा बलदेव रेग्मी, ‘ख’मा प्रकाश शाहले टिकट पाएका छन् ।

बझाङको ‘क’मा उम्मेदवार सिफारिश गर्ने क्रममा एमालेले भोटिङ नै गरेको थियो । ४७ मत ल्याएका जिल्ला अध्यक्ष डिलबहादुर सिंहले टिकट पाएनन् । एमालेले जिल्लाको निर्वाचनमा २४ मत पाएका अर्जुन थापालार्इ टिकट दिएको छ ।

दार्चुला ‘क’ भने नाम टुंगो लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment