Comments Add Comment

देउसेलाई तर्साउन हेटौंडाका मेयरले राइफल देखाए !

मेयर भन्छन्-मसँग बन्दुक छ, तर देखाएको होइन


३ कात्तिक, काठमाडौं । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबोल महतले बिहीबार साँझ हेटौंडामा भैलो खेलिरहेको टोलीलाई बन्दुक देखाएर तर्साएका छन् । मदिरा सेवन गरेका मेयरले भैलो टोलीका सदस्यलाई कुटपिटसमेत गरेका छन् ।

बिहीबार राति पौने १२ बजे हेटौंडाको सिँचाइ टोलमा देउसी भैलो खेलिरहेका स्थानीय समूहलाई मेयरले बन्दुक देखाएका हुन् ।

सिँचाइ टोल महतको आफ्नै घर भएको टोल हो । स्थानीय राज्यकुमारी चौंलागाइँको घरमा भैलो खेलिरहेका करिब २५ जनाको समूहमाथि महतले बन्दुक देखाएका हुन् । घरधनी चौंलागाई आफैं पनि पूर्वप्रहरी हवल्दार हुन् ।

गेटमा लात्तले हान्दै कम्पाउण्डभित्र छिर्न खोजेका मेयर महतले सुरुमा गेट खोल्न नसकेपछि गेटको प्वालबाट बन्दुकको नाल भित्र छिराएका थिए ।

भित्र गएर पनि मेयर महतले ‘राइफल’ देखाएपछि भैलो खेल्नेहरुको भागाभाग भएको स्थानीयले बताए । महतले मादक पदार्थ सेवन गरेका कारण नै घटना भएको उनीहरुको आरोप छ ।

घटनामा महतले १७ वर्षीय सुनिल राईलाई कुटपिट गर्दै देउसे टोलीले लगेका स्पीकरसमेत तोडफोड गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।

मेयर भन्छन्-मसँग बन्दुक छ, तर देखाएको होइन

मेयर महतले अनलाइनखबरलाई प्रतिक्रिया दिँदै रातको १२ बजेसम्म देउसी खेलेको भन्दै आफूले सो समूहलाई सचेत गराएको बताए । ‘मसँग राज्यबाट लाइसेन्स लिएको बन्दुक छ, मेरो गाडीमा त्यो बन्दुक हुन्छ । सुरक्षाका लागि मैले बन्दुक बोक्छु’ महतले भने, ‘ तर, मैले प्रचार गरिएजस्तो बन्दुक देखाएको भने होइन ।’

मेयर महतले घटनालाई राजनीतिकरण गरिएको आरोप लगाए ।

महतले राति अबेरसम्म हो-हल्ला गरेकाले उनीहरुलाई सचेत गराइएको बताए । राति १० बजेपछि देउसी खेल्न नपाइने महतले बताए ।

मेयर महतले बन्दूक देखाएको भनिएको घटनाबारे आफूले पनि सुनेको मकवानपुरका प्रहरी उपरीक्षक विकास खनालले बताए । तर, कसैले उजुरी नदिएकाले अनुसन्धान अघि नबढेको उनको भनाइ छ ।

माफी माग्न स्थानीयको माग 

स्थानीयले भने आफ्नै गाउँको घटना भएकाले प्रहरीसम्म नगएको भन्दै मेयरले आफूहरुसँग आएर माफी माग्नुपर्ने बताएका छन् ।

तर, स्थानयीले भने घटनामा महतले गरेको दुब्र्याबहारको भिडियो आफुहरुसँग सुरक्षित रहेको भन्दै मेयरको भनाइको खण्डन गरेका छन् ।

महतले देउसी खेलिरहेकाहरुलाई गालीगलौज गर्दै दुब्र्यबहार पनि गरेको स्थानीयले आरोप लगाएका छन् ।

उनले घटना भएकोमा माफी माग्नुको साटो उल्टो विभिन्न व्यक्तिहरु पठाएर डर देखाइरहेको भन्दै आलोचना गरेका छन् ।
देउसी खेल्ने टिममै रहेकी एक युवतीले आफ्नो फेसबुक वालमा लेखेकी छिन, ‘सदियौंदेखि चलीआएको मौलिक परम्परा र संस्कृति टिकाइराख्ने र जगेर्ना गर्ने हेतुले आफ्नो घरगाउँमा सांस्कृतिक कार्यक्रममा रमाइरहेका महिला समूहलाई गाली बेइज्जती, बालबालिकालाई कुटपिट साथै बन्दुक देखाई मार्ने धम्कीसमेत दिई उफर तोडफोड र गेटमा लातीले हानी तोडफोड गर्ने कार्य जनताबाटै चुनिएर उच्च अहोदामा रहेका व्यक्ति उपमहानगरपालिकाका मेयर हरिवोल महतले गर्नुभएको यस्तो निंदनीय कार्यलाई हजुरहरूले कुन रूपमा लिनुहुन्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment