२२ अक्टोबर, यूएई । रोजगारीका क्रममा यूएई आएका झापा हल्दीबारीका लछुमन काफ्लेेले विगत दश वर्षदेखि तिहारमा आफ्ना दिदीबहिनीबाट टीका लगाउन पाएका छैनन् ।
एक मेन्टिनेन्स कम्पनीको प्राविधिक विभागमा काम गर्ने काफ्लेले यसपालिको तिहारमा भाइटीका लगाउन नपाए पनि लक्ष्मीपूजाको रातमा आफ्ना साथीभाइ र कम्पनीमा कार्यरत विभिन्न देशका सहकर्मीहरुसँग दिप प्रज्ज्वलन गर्दै, धनकी देवी लक्ष्मीको तस्वीरमा माल्यार्पण गर्दै पूजाआजा गरी भव्यताका साथ लक्ष्मीपूजा गरेको बताए ।
नाताका दिदीबहिनी पर्ने कोही नभएका कारण खालि निधार डिउटी गरे पनि दिदीबहिनीहरुसँग फोनमा कुरा गरी तिहार मनाएको उनले जानकारी दिए ।
सवारी चालकका रुपमा काम गर्ने एकराज बस्नेतको पीडा पनि काफ्लेको भन्दा कम छैन ।
तिहारको उपलक्ष्यमा उनी आबद्ध सामाजिक संस्था झापाली समाज,यूएईले आयोजना गरेको देउसीभैलो कार्यक्रममा १८ घन्टा काम गरेर सिधै देउसीभैलो कार्यक्रममा सहभागी भएको बस्नेतले बताए ।
उनको पनि निधार यसपाली पनि खालि नै रहृयो । निधार खाली भए पनि साथीभाइसँग मिलेर देउसीभैलो खेल्दा भने नेपालमै भएको अनुभब उनले सुनाए ।
करिब २ वर्षदेखि दुबईमा काम गर्ने विष्णुमाया दंगाल भने यसपालि आफ्नै भाइलाई परदेशी भूमिमा भाइटीका लगाउन पाउँदा दंग छिन् ।
तर, उनले भाइटीकाको दिन भाइको डिउटी परेका कारण रातिको समयमा भए पनि भाइ रोशनलाई सप्तरंगी टीका र माला लगाएर उपहार साटासाट गरी तिहार मनाएको अनुभव सुनाइन् ।
भाइटीकाको दिन डिउटैमै रहेका भुपाल पाण्डेले भने आफूले मानेकी नेपाली चेलीबाट टीका लगाएको कारण आफूलाई भाग्यमानी महसुस गरेको बताए ।
उनको बिदा नभएको कारण पार्कमै डिउटीको समयमा भाइटीका लगाउनु बाध्यता भएको सुनाए ।
संघसंस्थाहरु पनि उत्तिकै सक्रिय
यूएईमा क्रियाशील नेपाली संघसंस्थाहरुले सामूहिक देउसीभैलो, साँस्कृतिक , खेलकुद कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम गरी तिहार मनाएका छन् ।
पाल्पाली समाज यूएईले त एक हप्ताअघि नै १३ अक्टोबर, दुबईको एक पार्कमा सामूहिक देउसीभैलो कार्याक्रमको आयोजना गरी तिहारको शुभारम्भ गरेको थियो ।
यूएईमा सुदृढ संगठन भएको प्रवासी नेपाली मञ्चले युएईका चार मुख्य इमिरेट्समा रहेका क्षेत्रीय समितिहरुले परम्परागत रुपमा देउसीभैलो खेलेको जानकारी मञ्चका प्रचार विभाग प्रमुख भरत शिवाकोटीले बताए ।
मञ्चले अघिल्लो वर्ष पनि देउसी भैलो खेलेर जम्मा भएको रकम धरहरा निर्माणका लागि पठाएको थियो ।
शिवाकोटीका अनुसार राज्य कमिटीको संयोजनमा सम्बन्धित राष्ट्रिय कमिटीमा रहेका पदाधिकारी र सदस्यहरु मिलेर सारजहा, अबुधाबी, दूबई र अलऐनमा रहेका नेपाली व्यावसायी तथा सर्वसाधारण नेपालीहरुका बासस्थानमा नेपाली मौलिकता जोगाउँदै देउसी खेलिएको हो ।
यसरी मञ्चका पदाधिकारीहरु मिलेर सामूहिक रुपमा देउसी खेलेर जम्मा भएको रकम विपत्मा परेका नेपालीहरुको उद्धार गर्नका लागि राहत तथा उद्धार कोषमा राखिने मञ्चका दुबई क्षेत्रीय सचिव मणिराम खतिवडाले जानकारी दिएका छन् ।
यूएईको सबैभन्दा पुरानो नेपाली संस्था नेपाली समाज युएईले तिहारको उपलक्ष्यमा २० अक्टोबर,शुक्रबारका दिन शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
यूएईमा क्रियाशील धेरै सामाजिक संस्थाका प्रमुख तथा पदाधिकारीहरुले एकै मञ्चमा बसेर शुभकामना आदानप्रदान गरी हर्षोल्लाषपूर्वक तिहार मनाएको कार्यक्रममा सहभागी पत्रकार डिल्ली हुमागाईले बताएका छन् ।
समाजका अध्यक्ष चन्द्रप्रसाद सापकोटाको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमको प्रमुख अतिथि हामी नेपाली एशोसिएसनका अध्यक्ष डा. दिनेश आचार्य रहेका थिए ।
उक्त कार्यक्रममा युएईमा क्रियाशील सामाजिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले एकआपसमा शुभकामना मन्तव्यका साथ तिहार मनाएका थिए ।
यसरी नै युएईका सक्रिय संस्थाहरु स्याङ्जा सहयोग समाजले कार्यवाहक नेपाली राजदूत नेत्रबहादुर टण्डनको निवास, नमस्ते ट्राभल्स, फिस्टेल ट्राभल लगायत नेपाली व्यावसायीहरुकहाँ सामूहिक देउसीभैलो खेलेको थियो ।
त्यसरी नै झापाली समाज, मितेरी समाज, अर्घाखाँची सम्पर्क समिति, नेपाली जनसम्पर्क समिति, इनास, परदेशी एकता सहकारी संस्था लगायतका संस्थाहरुले पनि तिहारको अवसरका सामुहिक देउसी भैलो तथा नाचगान गरी तिहार मनाएका छन् ।
पर्वत सेवा समाज, यूएईको महिला विभागको आयोजनामा शुभकामना आदानप्रदान तथा रात्रिभोज कार्यक्रमको आयोजना गरी तिहार मनाएको महासचिव कमल लामिछानेले जानकारी दिएका छन् ।
कार्यक्रममा यूएईमा क्रियाशील सामाजिक व्यक्तित्वहरुको बाक्लो उपस्थिति थियो ।
अधिकांश संस्थाहरुले देउसीभैलोबाट संकलित रकम सामाजिक काममा लगाउने प्रतिबद्धता गरेका छन् ।
तिहारमा देउसीभैलो प्रतियोगिता
तिहारकै अवसरमा मोफसल मिडियाले देउसीभैलो प्रतियोगिता गत २० अक्टोबरमा आयोजना गरेको थियो ।
उक्त प्रतियोगितामा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युएई प्रथम भएको जानकारी कार्यक्रम संयोजक रमेश खड्काले जानकारी दिएका छन् ।
प्रतियोगितामा प्रथम हुने इनासको टोलीमा लक्ष्मण दियाली, शेखर पौडेल, दिपक गुरुङ, शान्ति साह, अमृत लक्सम र प्रतिमा भुजेल रहेको इनाशका अध्यक्ष रेखा घिमिरेले जानकारी दिएकी छिन् ।
उक्त प्रतियोगितामा झापाली समाज युएई द्वितीय भएको आयोजकले बताएका छन् ।
समाजका संस्कृति विभाग प्रमुख पारस लामाको नेतृत्वमा भाग लिएको उक्त देउसीटोलीमा टीका कटेल, विष्णुमाया दंगाल, सुमन भटराई, एकराज बस्नेत, बद्री ओली रहेका थिए ।
प्रथम पुरस्कार छेपारो डटकम र द्वितीय पुरस्कारको स्पोन्सर शुभयात्रा ट्राभलले गरेको जानकारी आयोजकले दिएको छ ।
भलिबल खेल्दै तिहार मनाउँदै
तिहारको उपलक्ष्यमा युवाहरुलाई कुलतबाट जोगाउने उदेश्य राखेर नेप्लिज सोसिएल क्लबले भलिबल प्रतियोगिता आयोजना गरेको छ ।
यूएईमा कार्यरत १२ वटा संस्थाहरुले प्रतियोगितामा भाग लिएकोमा बाग्लुङ सेवा समाज सारजहा क्षेत्रीय समिति प्रथम भएको आयोजक संस्था सोसियल क्लबका अध्यक्ष सालिक सुवेदीले जानकारी दिएका छन् ।
त्यसरी नै बाग्लुङ समाजकै रासअलखेमा क्षेत्रीय समिति द्वितीय भएको छ ।
युवाहरुलाई खेलकुदमा सक्रिय बनाएर शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त राख्न सोसिएल क्लबले मासिक रुपमा एक खेल प्रतियोगिता आयोजना गर्ने लक्ष्य लिएको क्लबका सक्रिय सदस्य राम तामाङले बताए ।
कतै वनभोज, कतै साँस्कृतिक कार्यक्रम
तिहारकै उपलक्ष्यमा किराँत याक्थुङ चुम्लुङले २० तारिख दुबईको जबिल पार्कमा आफ्नो जातीय मौलिक पर्व बलिहाङ् तङनाम पर्व मनाउँदै रमाइलो वनभोज कार्यक्रम गरेको छ ।
त्यसरी नै प्रवासी कोच समाज युएईले हुकाहुकी साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको समाजका अध्यक्ष राजेश कोचले बताएका छन् ।
झापा, मोरङ र सुनसरी जिल्लाका आदिवासी राजवंशी, ताजपुरिया, गनगाई जातिको मौलिक पर्व हुक्काहुकीको स्मरण गर्दै युएईमा कार्यरत कलाकारहरुले आआफ्ना गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा राजेश कोच, प्रशान्त ताजपुरिया, दिपक गुरुङ, पारस लामा लगायतका कलाकारहरुले गीत, नृत्यका साथै देउसीभैलो कार्यक्रम गरी तिहार मनाएको आयोजकले जानकारी दिएको छ ।
प्रतिक्रिया 4