Comments Add Comment

माओवादी भन्छ- सरकार छाड्ने कुरा गौण भइसक्यो

देउवासँग छलफल गरेपछि परिस्थिति बदलियोः गजुरेल

 

७ कात्तिक, काठमाडौं । माओवादी केन्द्रले तत्काल सरकार नछाड्ने भएको छ । यसअघि माओवादी नेताहरुले तिहारलगत्तै मनोनयन दर्ता गरेपछि सरकार छाड्ने अभिव्यक्ति दिएका थिए ।

तर, मनोनयन दर्ता भएको दुई दिन बितिसक्दा पनि माओवादी मन्त्रीहरु विनाविभागीय हैसियतमा सरकारमा कायमै छन् ।

सरकार कहिले छाड्ने भन्ने अनलाइनखबरको प्रश्नमा माओवादी प्रवक्ता पम्फा भुसालले चुनावमा केन्द्रित भएकाले सरकार छाड्ने कुरा गौण भएको बताइन् । ‘अहिलेको प्रमुख काम निर्वाचन हो । सरकार छाड्ने कुरा सहायक भइसक्यो,’ उनले भनिन् ।

सत्ता साझेदार दल माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा राप्रपालाई समावेश गरी माओवादी मन्त्रीहरुलाई जिम्मेवारीबाट मुक्त गरेका थिए ।

त्यसलाई माओवादीले चुनाव सार्ने षडयन्त्रको संज्ञा दिएको थियो । चुनावी तयारी गरिरहेका बेला प्रदेश र प्रतिनिधिसभा निर्वाचन सार्ने षडयन्त्र भइरहेको सूचना पाएको बताउँदै माओवादीले चुनाव सुनिश्चित नभएसम्म सरकारमै रहने घोषणा गरेको थियो ।

१० मंसिरमा निर्धारित चुनावको मनोनयन दर्ता भइसकेकाले अब चुनाव सर्ने आशंका हटिसकेको छ । तर, माओवादी सरकारबाट बाहिरिन अनिच्छुक देखिएको छ ।

देउवा-प्रचण्ड भेटले बदलियो परिस्थिति

मनोनयन दर्ताको अघिल्लो दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको थियो । उक्त भेटमा भएको छलफलको विषयबस्तु सार्वजनिक भइसकेको त छैन तर माओवादी नेता हरिबोल गजुरेलले देउवासँगको छलफल सकारात्मक भएकाले अब परिस्थिति बदलिनसक्ने बताए ।

उनले भने, ‘शेरबहादुरजीसँग सकारात्मक छलफल भइरहेको छ । परिस्थिति पहिलेभन्दा सहज बनेको छ ।’

गजुरेलले ‘सकारात्मक छलफल’को अन्तर्य खुलाउन चाहेनन् । उनले अझै पनि चुनाव सार्ने चलखेल भइरहेको आशंका व्यक्त गरे । उक्त शंका दूर भए सरकारबाट फिर्ता हुने पनि उनले बताए ।

गजुरेलले भने, ‘अहिले चुनावको वातावरण बन्दै गइरहेको देखिएको छ तर पनि विभिन्न ढंगले बिथोल्ने कोशिसहरु भइरहेकै छन् । ती शंका दूर भए फिर्ता हुन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment