Comments Add Comment

समृद्ध झापा निर्माण हाम्रो लक्ष्य होः दिनेश पोखरेल

अष्ट्रेलियामा नेपालीलार्इ इमान्दार व्यक्तिको रुपमा चिन्छन्

२८ असोज, झापा । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गा निवासी दिनेशकुमार पोखरेल अन्तर्राष्ट्रिय झापाली समाजको नवनिर्वाचित अध्यक्ष हुन् । विगत १२ वर्षदेखि अष्ट्रेलिया बस्दै आएका उनले यसअघि  अन्तर्राष्ट्रिय झापाली समाज, अष्ट्रेलियाको संस्थापक अध्यक्षका रुपमा समेत काम गरिसकेका छन् ।

उनीसँग एनआरएन अष्ट्रेलियामा एक कार्यकाल प्रवक्ता (२०१३-२०१५) र अर्काे कार्यकाल उपाध्यक्ष (२०१५-२०१७)को जिम्मेवारी सम्हालेको अनुभव पनि छ । प्रवासमा रहेर पनि सदैव आफ्नो ठाउँको विकास र श्रीबृद्धिमा सोचिरहने र सकारात्मक एवम् सिर्जनात्मक काममा सदैव सहयोग गर्ने उनको परिचय समाजसेवी र व्यवसायीको रुपमा मात्र सीमित छैन ।

उनी सफल चलचित्र निर्माता समेत हुन् । उनले निर्माण गरेका चलचित्र ‘नाइ नभन्नु ल-२’, ‘नाइ नभन्नु ल-४’, ‘भुलभुलैया’, ‘राधा’ लगायत चर्चित छन् ।

स्थानीय कनकाई उच्च माविबाट २०४२ सालमा एसएलसी उत्तीर्ण गरेका उनले अन्तर्राष्ट्रिय व्यापार विषयमा युनिभर्सीटी अफ वेष्टर्न सिड्नीबाट स्नातकोत्तर गरेका छन् ।

प्रस्तुत छ, उनैसँग  अन्तर्राष्ट्रिय झापाली समाज, अष्ट्रेलिया र त्यहाँ रहेका नेपालीको विषयमा केन्द्रित रहेर अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीको सम्पादित अंशः-

सर्वप्रथम त, अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा चयन हुनु भएकोमा हार्दिक बधाई । वास्तवमा यो संस्था चाहिँ कस्तो किसिमको हो ? के गर्छ ?

– अन्तर्राष्ट्रिय झापाली समाज विश्वभर रहेका झापाली समाजहरुलाई एकैठाउँमा जोड्ने प्रयास हो । यो झापाली समाजहरुको नेटवर्क हो । सबै देशमा रहेका झापालीहरु मिलेर आफ्नो ठाउँमा उल्लेखनीय योगदान पुर्‍याउन सकिन्छ भनेर यो समाज सुरु गरिएको हो ।

हाम्रो समाजको पहिलो अन्तर्राष्ट्रिय महाधिवेशनमा १८ वटा देशका झापाली समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । र, नयाँ समिति पनि गठन भएको छ । अन्य विभिन्न मुलुकमा पनि झापाली समाज गठन भएका छन् । हाम्रो नेेटवर्कमा नभएकालाई पनि ल्याउने प्रयास जारी छ । झापाली समाज नभएका देशहरुमा पनि समाज गठन गर्नलाई समन्वय गर्ने लक्ष्य लिएका छौं । र, त्यही अनुसार काम गर्नेछौं ।

उद्देश्य चाहिँ के हो ? यसले के गर्छ ?

-‘समृद्धि झापा निर्माणका लागि अन्तर्राष्ट्रिय झापाली समाज’ भन्ने नारा हामीले लिएका छौं । हामी झापामा जन्मियौं, झापामा हुर्कियौं, देश विदेश जहाँ बसे पनि हामी नेपाली हौं । त्यसमाथि पनि झापाली हौं । त्यसैले झापाको लागि हामीले नगरे कसले गर्ने ? अहिले जति जनसंख्या झापामा छ, त्यसको आधाभन्दा बढी मुलुक बाहिर छ ।

त्यहाँ भएको जनसंख्यालाई समेट्दै उहाँहरुको उर्जालाई शक्तिलाई परिणत गर्दै समग्र झापाको मुहारलाई रुपान्तरण र समृद्धिका लागि झापाको आवश्यकता अनुसार र हाम्रो स्रोतले भ्याएसम्म सहयोग गर्ने उद्देश्यले यो संस्था सुरु गरिएको हो ।

यो विशुद्ध गैरराजनीतिक संस्था हो । यहाँ हामीले सम्पूण धर्म सम्प्रदाय, जातजातिका मानिसलाई समेटका छौं । यो झापाली झापाली बीचको साझा चौतारी हो ।

झापाली क्षेत्रीय सोचमा सीमित भए भन्ने कुरा पनि आउँछ नि ?

त्यसरी सोच्नु भएन । हामी झापाली भयौं, हामी अरुभन्दा माथि अथवा यो…. ऊ… भन्ने खाल्को क्षेत्रीय नारा लिएर हिँडेका छैनौं । अन्य जिल्लाकालाई पनि सहयोग गर्न हामी तयार छौं । आवश्यक परेको खण्डमा अन्य जिल्ला संघसंस्थासँग समन्वय गरेर संयुक्त रुपमा पनि हामी विभिन्न जिल्लामा सहयोग गर्न सक्छौं ।

तर, आफू जन्मेको ठाउँमा केही गर्न नपाउनु भन्ने त हुँदैन नि ! हामी आफू जन्मेको ठाउँलाई प्राथमिकता दिइरहेका छौं । यसलाई सकारात्मक रुपमा लिनु पर्छ ।

अन्य जिल्लामा पनि यस्ता संस्थाहरु खुलिनु पर्छ । र, उहाँहरुले पनि आफ्नो जिल्लाको विकासमा योगदान पुर्याउनु पर्छ भन्ने हाम्रो कन्सेप्ट हो । ७५ वटै जिल्लामा यस्तो समाज गठन भयो भने त नेपालै बन्ने भयो नि । यो कन्सेप्ट हो, हाम्रो ।

अष्ट्रेलियामा रहेका नेपालीहरुको अवस्था चाहिँ कस्तो छ ?

– अष्ट्रेलियामा रहेका नेपालीहरु अधिकांश विद्यार्थी भिसामा त्यहाँ पुगेका हुन् । नेपालबाट जाने ९० प्रतिशत विद्यार्थीहरु चाहिँ पढ्नैका लागि गएका छन् । र, पढाई सक्दै गरेपछि उनीहरु ‘स्किल्ड माइग्रेन्ट’को रुपमा बसोबास गर्छन् । यहाँबाट गएका नेपालीले दुःख पाउने भनेको प्रारम्भिक समयमा हो । आफन्त वा चिनजानको कोही व्यक्ति छैनन् भने समस्या हुन्छ ।

सुरुवाती अवस्थामा जागिर नपाउँदा पनि समस्या हुन्छ । समग्रमा भन्नु पर्दा अन्य देशको तुलानामा अष्टे्रलियामा नेपालीको रहनसहन, बसाई, रोजगारी लगायतका सम्पूर्ण कुरा एकदमै राम्रो छ ।

नेपाली संघसंस्था कत्तिको छन् ?

– नेपाली संघसंस्थाहरु त धेरै छन् । एनआरएन सबैको साझा संस्था भयो । त्यसबाहेक पनि केही जिल्लाका आ-आफ्नै संघसंस्था पनि छन् । न्यू साउथ वेल्स राज्यमा मात्रै ५० भन्दा बढी संघसंस्था छन् । अष्ट्रेलियाभरिको कुरा गर्नु पर्दा सयभन्दा बढी छन् । संघसंस्था भनेको समान हृदय बोकेका व्यक्तिहरुको समूह हो । धेरै वर्षअघि (लगभग ४० वर्ष) नेप्लिज अष्ट्रेलियन एसोसिएसन भनेर पनि खोलिएको रहेछ । विस्तारै संघसंस्थाहरु बढ्दै छन् ।

नेपालीको सङ्ख्या अष्ट्रेलियामा बढ्दै गएपछि आवश्यकता अनुसार गाउँ, क्षेत्र, समाज र राष्ट्रको विकास लागि अथवा अन्य विभिन्न उद्देश्य राखेर  (जस्तैः खेलकुद, स्वास्थ्य आदि) संस्था खुल्ने क्रम जारी छ ।

नेपालीलाई संघसंस्थालाई दर्ताका लागि कत्तिको गाह्रो छ ?

– दर्ता गर्न त खासै अफ्ठ्यारो छैन । जति पनि नेपाली संघसंस्था खुलेका छन्, प्रायः जसो सबै स्थानीय कानुन अनुसार कम्पनी दर्ताको कार्यालयमा गएर दर्ता भएका छन् । र, सबै वैधानिक संस्थाहरु हुन् । झापामा संस्था दर्ता गर्न गाह्रो होला । तर, अष्ट्रेलियामा छैन ।

नेपाली संघसंस्थाहरुले त्यहाँ चाहिँ कत्तिको कार्यक्रम गर्छन् ? कार्यक्रममा नेपाली मात्र सहभागी हुन्छन् कि त्यहाँका स्थानीय पनि सहभागी हुन्छन् ?

– सोमबारदेखि शुक्रबारसम्म कार्यालय जानु पर्ने भएकाले अधिकांश नेपालीहरुको कार्यक्रम शनिबार, आइतबार हुने गर्छ । कार्यक्रमहरु पनि विभिन्न स्तरका हुन्छन् । कलाकारलाई ल्याएर गरिने कार्यक्रम होस् या चाहे फन्ड रेजिङ कार्यक्रम होस्, नेपालीहरुको ठूलो सहभागिता हुन्छ । अष्ट्रेलियामा १ लाखको हाराहारीमा नेपाली छन् । त्यसैले निश्चय पनि सहभागिता धेरै हुन्छ । अहिले स्थानीय समुदायसँग पनि नेपालीको सम्बन्ध राम्रो छ ।

नेपालीहरु पनि स्थानीय पार्टीहरुमा आबद्ध हुन थालेका छन् । केही नेपालीहरु आधिकारिक रुपमा ठूलो पदमा नपुगे पनि सामान्य लेभलको राजनीतिमा छिरिसकेका छन् । यही क्रम जारी रह्यो भने हामी नेपालीहरुभित्रैबाट पनि अष्ट्रेलियाको काउन्सिल लेभलमा होस् या स्टेट लेभलमा या त केन्द्रीय तहमै १० वर्षभित्रमा प्रतिनिधित्व हुन्छ जस्तो मलाई लाग्छ ।

म आफैंले भर्खरै अष्ट्रेलियाभरिको नेपालीको सबैभन्दा ठूलो फेस्टिभल, नेपाल फेस्टिभल सिड्नीको कोअर्डिनेटरको रुपमा काम गर्ने अवसर पाएको थिएँ । त्यो वेला हामीले त्यहाँका राज्यमन्त्री, सांसद्हरुलाई आमन्त्रण गरेका थियौं । उहाँहरु उपस्थिति हुनु भएको थियो । त्यति मात्र होइन, कार्यक्रमलाई सफल बनाउन नेपालबाट पनि मन्त्री ज्यूहरु जानु भएको थियो ।

नेपालीलाई हेर्ने दृष्टिकोण कस्तो पाउनु भएको छ ?

– नेपालीलाई अष्ट्रेलियामा एकदमै मेहनती, इमान्दार व्यक्तिको रुपमा चिन्छन् । नेपाली भाषा, संस्कृतिको संरक्षणका लागि पनि विभिन्न संघसंस्था खुलेको छ । बालबालिकालाई नेपाली पढाउनका लागि छुट्टै स्कुल पनि खोलिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment