Comments Add Comment

बहुजातीय देशमा दुईदलीय भन्दा बहुदलीय प्रणाली ठीक

नेपालमा बहुदलीयताले लोकतन्त्र सुदृढीकरण गर्छ

नेपालको विगतको अस्थिर संसदीय इतिहासले गर्दा भविश्यमा पनि अस्थिरता आउनेछ कि भनेर धेरै नेपालीलाई चिन्ता छ । प्रायः लामो समयसम्मको सम्झना नबोक्ने जनताले अस्थिरता अक्सर गरेर बहुदलीयता -उच्च सार्थक दल या दुईभन्दा बढी दल प्रभावकारी रहने अवस्था) र त्रिशंकु सदनले ल्याएको सम्झनु अस्वाभाविक होइन ।
तर, बहुदलीयता मात्रै अस्थिरताको कारक भएको भए दुईदलीयताले नेपालमा स्थिरता ल्याउनुपर्ने हो । तर, दुईदलीयता भएको समयमा -०४८ र ०५६) पनि अस्थिरताले नेपाललाई सताई बस्यो ।

०४८ सालमा नेपाली कांग्रेसले बहुमत ल्याए पनि कार्यकाल पूरा नगरी ०५१ सालमै मध्यावधि निर्वाचन घोषणा गरेपछि दुई दलीय पद्दतिमा अस्थिरताको शुरुवात भएको थियो । ०५१ सालदेखि ०५६ सालसम्म देशमा पाँचवटा सरकार परिर्वतन भए । ०५६ देखि ०५९ सालसम्म (राजाको हस्तक्षेप अगाडि नै) कांग्रेसको बहुमत हुँदा पनि तीन बर्षमा तीनवटा सरकार (कृष्णप्रसाद भट्टराई, गिरिजा कोइराला र शेरबहादुर देउवा) परिर्बतन भएका थिए । फरक यति मात्र थियो कि त्रिशंकु सदन भएको समयमा -०५१, ०६४ र ०७४) सरकारको आयु सरदरमा लगभग एक बर्ष थियो भने दुई दलीय कालमा (०४८, ०५६) मा एक बर्ष आठ महिना ।

त्यसैले नेपालमा दलीयताका कारणले मात्र अस्थिरता आएको होइन । खास कारक तत्वलाई सम्बोधन गरिएन भने दुई दलीयता होस वा बहुदलीयता, देशलाई अस्थिरताले गाँजिरहनेछ । नेपालमा ब्यापक अस्थिरता हुनको निकट कारण शत्ताका लागि मरिमेट्ने संस्कार हो भने अन्तरनिहित कारण शक्ति केन्द्रीयता हो । गुटबन्दी र अस्थिर गठबन्धन सत्ताका लागि मरिमेट्ने संस्कारका उपज हुन् ।

राजनैतिक शक्ति केन्द्रीयताले कम्तिमा पनि दुई तरिकाले नेता र कार्यकतालाई नेपालमा सत्ताप्रति अधिक लालायित बनाएको छ । एक, सत्तामा भइएन भने नीति, प्रशासन तथा अन्य सवालमा प्रभाव निकै कम वा नगन्य हुने र समाजले पनि कम पत्याउने । दुई, सत्ता बाहिर बसे सत्तासिन दल या गुटले मनपरि गरेर आफनो राजनीति बिताइदिने सम्भावना ।

विधिको शासन कमजोर रहेको देशमा पछिल्लो गतिविधि जुनै दल सत्तामा गए पनि ब्यापक रुपमा भएको छ । यी कारणले नेता तथा कार्यकर्तामा पनि कुनै पनि हालतमा सत्तामा पुग्नै पर्ने चाहना निर्माण भएको हो । यसले एकातिर आफ्नै दलको सरकार बिरुद्ध षडयन्त्र गरेर ढाल्ने प्रबृत्ति शुरु गर्‍यो भने अर्कोतिर रातारात गठबन्धन फेरेर सत्तामा जाने चलन स्वाभाविक जस्तो बनाइदियो ।

बेलायतको प्रभावमा र देखासिकी गरेर बहुमतीय र दुई दलीय द्वन्द्वात्मक लोकतन्त्र उसका उपनिवेश र अन्य अंग्रेजी बोलिने देशहरुमा व्यापक फैलिएकाले त्यस्तो पद्दत्ति उपयुक्त हो भन्ने मनस्थिति नेपालजस्ता देशका नागरिकमा निर्माण भएको हो । गैरअंग्रेजी भाषी लोकतन्त्रहरुको लोकतन्त्र अर्कै प्रकारको छ । अरेण्ड लाईपार्टको प्रभावशाली किताव (२०१२) अनुसार संसारभरिका लामो समयम्म लोकतन्त्र रहेका ३६ देशहरुमध्ये ११ वटा देशमा मात्र दुई दलीयता (२.५ सार्थक दलभन्दा कम) छ । अर्थात ६९.४४ प्रतिशत मजबुत लोकतन्त्रमा बहुदलीयता छ । लोकतन्त्र मजबुत भइसकेकोे इजराइलमा एकपटक सार्थक दल संख्या ८.६८ सम्म पुगेको थियो । त्यस्तै स्वीटजरल्याण्डमा ५.२०, इजराइलमा ५.१८, फिनल्याण्डमा ५.०४, नेदरल्याण्डमा ४.८७, इटालीमा ४.८४, भारतमा ४.७२ र डेनमार्कमा ४.५७ औसत सार्थक दल संख्या थिए । मजबुत लोकतन्त्रहरुमा बहुदलीयता अथवा सार्थक दल संख्या उच्च पाइएको तथ्यांकले लोकतन्त्र सुदृढीकरणमा दुई दलीयताभन्दा बहुदलीयताले सकरात्मक भूमिका खेल्छ भनेर संकेत गर्दछ ।

धेरै प्राज्ञहरुले त बहुसांस्कृतिक देशमा दुई दलीयता घातक हुन सक्ने सम्भावना औंल्याएका छन् । दुई दलीयताले बहुसास्ंकृतिक देशमा विभिन्न सीमान्तकृत समुदायलाई दिगो समयसम्म बहिस्कृत गर्न सक्छ । त्यसपछि त्यस्ता देशहरु हिंसात्मक द्वन्द्वमा फसेका छन् । श्रीलंका नजिकैको ज्वलन्त उदाहरण हो । दुईदलीय श्रीलंकामा जहिले पनि बौद्ध सिन्हाली भाषीहरु सत्तामा पुगे भने तामिल भाषी हिन्दुहरु सधैं बहिस्करणमा परे । त्यसले तीन दशक लामो भीषण जातीय द्वन्द्व निम्त्यायो, जसमा एक लाख जति मानिस मारिए ।

लामो समय लोकतान्त्रिक रहेका देशमा सार्थक दल संख्या, निर्वाचन पद्दति र समाजको सांस्कृतिक बनोट

देश

 

सार्थक दल संख्या चुनाव संख्या

 

लोकतन्त्र गणन्त्रको शुरु वर्ष  (सन्)

 

निर्वाचन पद्दति

 

सांस्कृतिक बनोट

 

औसत कम धेरै
स्वीटजरल्याण्ड ५.२० ४.७१ ६.७० १६ १९४७ बहुसांस्कृतिक
इजराइल ५.१८ ३.१२ ८.६८ १८ १९४९ बहुसांस्कृतिक
फीनल्याण्ड ५.०४ ४.५४ ५.५८ १८ १९४५ अर्धबहुसांस्कृतिक
नेदरल्याण्ड ४.८७ ३.४९ ६.७४ २० १९४६ अर्धबहुसांस्कृतिक
इटाली ४.८४ ३.०८ ६.९७ १७ १९४६ अर्धबहुसांस्कृतिक
भारत ४.७२ २.४५ ६.५३ १० १९७७ पहुजि बहुसांस्कृतिक
बेल्जियम ४.७२ २.४५ ७.०३ २१ १९४६ बहुसांस्कृतिक
डेनमार्क ४.५७ ३.५० ६.८६ २५ १९४५ गैरबहुसांस्कृतिक
उरुग्वे ४.४० ३.६१ ४.९२ १९८५ गैरबहुसांस्कृतिक
आईसल्याण्ड ३.७२ ३.२० ५.३४ २० १९४६ गैरबहुसांस्कृतिक
नर्वे ३.६४ २.६७ ५.३५ १७ १९४५ गैरबहुसांस्कृतिक
जापान ३.६२ २.१७ ५.७६ १९ १९४६ गैरबहुसांस्कृतिक
लक्जमबर्ग ३.४८ २.६८ ४.३४ १४ १९४८ अर्धबहुसांस्कृतिक
स्वीडेन ३.४७ २.८७ ४.२९ १९ १९४८ गैरबहुसांस्कृतिक
फ्रान्स ३.२६ २.१५ ४.५२ १३ १९५८ अर्धबहुसांस्कृतिक
अर्जेन्टिना ३.१५ २.५४ ५.३२ १३ १९८४ गैरबहुसांस्कृतिक
पोर्चुगल ३.१३ २.२३ ४.२६ १२ १९७६ गैरबहुसांस्कृतिक
जर्मनी ३.०९ २.४८ ४.४० १७ १९४९ अर्धबहुसांस्कृतिक
आइरल्याण्ड २.८९ २.३८ ३.६३ १८ १९४८ गैरबहुसांस्कृतिक
कोरिया २.८५ २.३९ ३.५४ १९८८ अर्धबहुसांस्कृतिक
मरिसीयस २.८५ २.०७ ३.४८ १९७६ पहुजि बहुसांस्कृतिक
अष्ट्रिया २.६८ २.०९ ४.२७ २० १९४५ अर्धबहुसांस्कृतिक
कोष्टा रिका २.६७ १.९६ ३.९० १५ १९५३ गैरबहुसांस्कृतिक
स्पेन २.६६ २.३४ ३.०२ १० १९७७ बहुसांस्कृतिक
क्यानाडा २.५२ १.५४ ३.२२ २१ १९४५ पहुजि बहुसांस्कृतिक
अमेरिका २.३९ २.२० २.४४ ३२ १९४६ पहुजि अर्धबहुसांस्कृतिक
न्यूजिल्याण्ड २.२८ १.७४ ३.७६ २२ १९४६ पहुजि, ९६ पछि स गैरबहुसांस्कृतिक
ग्रीस २.२७ १.७२ २.६२ १३ १९७४ गैरबहुसांस्कृतिक
अष्ट्रेलिया २.२२ २.०८ २.३० २५ १९४६ पहुजि गैरबहुसांस्कृतिक
बेलायत २.१६ १.९९ २.५७ १८ १९४५ पहुजि गैरबहुसांस्कृतिक
माल्टा १.९९ १.९७ २.०० १० १९६६ गैरबहुसांस्कृतिक
ट्रिनिडाड र टोवागो १.८७ १.१८ २.२३ १२ १९६१ पहुजि बहुसांस्कृतिक
बाहामास १.६९ १.३४ १.९७ १९७२ पहुजि गैरबहुसांस्कृतिक
बारबाडोस १.६८ १.१५ २.१८ १० १९६६ पहुजि गैरबहुसांस्कृतिक
जमैका १.६७ १.३० १.९९ १० १९६२ पहुजि गैरबहुसांस्कृतिक
बोत्सवाना १.३८ १.१७ १.७१ १० १९६५ पहुजि गैरबहुसांस्कृतिक

सः समानुपातिक (बिभिन्न प्रकारका) प्रणाली, पहुजिः पहिलो हुनेले जित्ने प्रणाली

सार्थक दल उच्च भएपछि संसदीय प्रणालीमा अक्सर त्रिशंकु सदन निर्माण हुन्छ । तर, धरै लोकतान्त्रिक देशमा त्रिशंकु सदन भएता पनि स्थिर सरकार छन् । जमर्नी, इटाली, बेल्जियम, डेनमार्क, फिनल्याण्ड, स्वीटजरल्याण्ड आदि जस्ता गैरअंग्रेजीभाषी लोकतन्त्रहरु केही उदाहरण हुन् ।

मौरिसस, कोस्टारिका र भारतजस्ता देशमा त्रिशंकु सदन भएता पनि स्थिर सरकार छ । सन् १९८९ देखि भारतमा लगातार धेरै दलहरुले चुनाव जिते र शुरुका केही समय अस्थिरता देखिए पनि सन् १९९९ देखि स्थिर गठबन्धनहरुले सरकारलाई स्थायित्व दिएका छन् ।

बहुदलीयतालाई नेपालमा धेरैले नकारात्मक रुपमा हेरे पनि भारतका राजनितीशास्त्रीहरुले सकरात्मक रुपमा लिन्छन् । प्रान्तीय दलहरुले भारतमा दलीयता बढाएका हुन् र ती दलहरुले देशको एकीकरण र लोकतन्त्रको सुरक्षा र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेलेको भन्छन् । कुनै ठूलो दल या कसैले लोकतन्त्रलाई खतरा पुर्‍यायो भने त्यसको सशक्त बिरोधमा भारतमा प्रान्तीय दलहरु जुर्मुराउँछन् भन्छन् । किनकि लोकतन्त्रको हत्या भएमा वा कमजोर भएमा प्रान्तीय दलहरुलाई बढी घाटा र खतरा पुग्छ । प्रान्तीय दलहरुको सत्तारोहणले निकै प्रदेशमा (तामिलनाडु, मिजोरम, पञ्जाव आदि) विखण्डनका नाराहरु कमजोर बनाइदिएको छ भने प्रान्तीय दलले शासन गरेको कश्मिरमा बारम्बार केन्द्रबाट हस्तक्षेप गर्दा त्यहाँ विखण्डनको सवाल मौलाएको छ ।

नेपालमा पनि संसदीय मधेसी दलहरु सशक्त हुनु भनेको त्यहाँको जनताले नेपाल राज्यप्रति आस्था देखाउनु हो । त्यो भनेको विखण्डनकारीहरु कमजोर हुनु हो । मधेस केन्दि्रत दलहरुले प्रान्तमा सत्तारोहण गरेर मधेसको सवालहरु सम्बोधन गरे भने विखण्डनको औचित्य झनै कमजोर हुनेछ । पहाडी नेताहरुले नेतृत्व गरेका ठूला दलहरुबाट त्यो प्रायः सम्भव छैन किनकि ठूला दलका नेताहरुले मधेसको मुद्दा नबोकेको आम मधेसी धारणा छ ।

स्थिरताको उपाय

बहुदलीयता नेपालको यर्थाथ बनिसक्यो । प्रान्तीय चुनावहरु नियमितरुपमा केही पटक भएपछि प्रान्तीय दलहरुको विस्तार दुई नम्बर बाहेक अन्य प्रदेशमा पनि हुन थालेमा दलीयता अझ बढ्ने छ । भारतमा जस्तै अब नेपालमा दुईवटा दलले एक्लैले केन्द्रमा आलोपालो राज गर्ने दिन लगभग सकियो ।

आगामी दिनमा आक्कल झुक्कल ठूला दलले केन्द्रमा बहुमत ल्याउलान्, तर निर्विकल्प रुपमा भविश्यमा ठूला दलले बहुमत ल्याउने अवस्था देखिँदैन । एमाले र माओवादिको एकिकरणले बहुदलीयता केहि घटाएता पनि जारी रहनेछ भनेर पहिलो भागमा चर्चा भइसक्यो ।

नेपालमा अब गठवन्धनले राज गर्ने समय आयो । स्थिर सरकार चाहने हो भने स्थिर गठबन्धन बनाउने राजनैतिक संस्कार निर्माण गर्न जरुरत छ । त्यसका लागि दलहरुलाई सत्ता बाहिर पनि बस्न सक्ने वातावरण निर्माण गर्नुपर्छ । संघीयताले केन्द्र र प्रान्तवीच शक्ति विभाजन गरेर एकभन्दा बढी दलका नेताहरुलाई विभिन्न पदमा व्यवस्थापन गरेर त्यस दिशामा केही मद्दत गर्नेछ ।

विधिको शासनले कार्यकारणीलाई एक्लौटी मनपरी गर्न रोकावट भएमा विपक्षमा बस्दैमा सबै कुरा बित्छ भन्ने मनोभावनाबाट नेताहरुलाई मुक्त बनाउन मद्दत गर्नेछ । व्यवहारिक रुपमा बहुदलीयताले पनि एउटा दललाई बहुमत नदिएर एक दलीय मनपरीतन्त्र रोक्न सहयोग गर्नेछ ।

नयाँ संविधानले दुई बर्षपछि मात्र अविश्वासको प्रस्ताव दर्ता गर्न पाउने र एकपटक प्रस्तावमा मतदान भइसकेपछि त्यसको एकवर्ष पछिमात्र फेरि प्रस्ताव दर्ता गर्न पाइने गरेको व्यवस्था धारा १०० (४) संक्रमणकाल सिद्धिएपश्चात लागु हुन्छ । धारा १०० -५) ले रचनात्मक अविश्वासको प्रस्तावको व्यवस्था गरेको छ अथवा अविश्वासको प्रस्तावमा बैकल्पिक प्रधानमन्त्री पनि प्रस्तावित गरिनुपर्दछ । सरकार फाल्ने क्रममा दलहरु चाँडो एकजुट होलान् । तर, बैकल्पिक प्रधानमन्त्री बनाउने सवालमा सहमतिमा पुग्न समय लाग्छ । यी प्रावधानहरुले अस्थिरता कम गर्न मद्दत गर्नेछन् ।

बहुदलीयता मार्फत लोकतन्त्र सुदृढीकरण र समृद्धि

बहुदलीय पद्दतिले मतदाताहरुलाई बढी अवसरहरु उपलब्ध गराउँछ । बढी दलहरु मध्येबाट आफूले चाहेको मुद्दा बोकेको मनपर्ने दल छान्ने बढी अवसर मतदाताले पाउँछन् । दुईदलीय पद्दतिमा मतदाताले मन परे पनि, मन नपरे पनि, आफ्नो मुद्दा र आकांक्षा बोके पनि नबोके पनि दुईमध्ये एउटा ठूलो दललाई मत दिनुपर्ने परिस्थिति हुन्छ ।

नेपाल दुईदलीयबाट बहुदलीय पद्दतिमा प्रवेश गरेकालेे देश बहुमतीयवाट सहमतीय शासनतिर जाँदै गरेको देखिन्छ । यो भनेको शासनमा बढी जनताको प्रतिनिधित्व हुनु हो । विभिन्न विचार र सवाल बोकेका दलहरु सत्तामा जाने भएकाले विभिन्न बिचारधाराका आधारमा नीति निर्माण हुने र विभिन्न समुदायको आवश्यकता, आकांक्षा र सवालहरु पूरा हुने सम्भावना बढ्दछ । यसरी दुईदलीय पद्दति भन्दा धेरै जनताका सवालहरु बहुदलीय पद्दत्ति भएका लोकतान्त्रिक देशहरुमा सम्बोधन हुन्छन् ।

साथै, विभिन्न तरिकाले धेरै जनताका निणर्ायक प्रकृयाहरुमा प्रभाव रहेमा सत्तासीनहरुले बहुमतका नाममा मनपरि गर्ने चलनमा अंकुश लाग्न थाल्छ । लोकतन्त्रको मर्म भनेको नै धेरै जनताको शासनमा प्रभाव रहनु हो । र, सकेसम्म धेरै जनताको आवश्यकता र आकांक्षहरु पूरा हुनु हो ।

दुई दलीयताले बहुसांस्कृतिक देशमा हिंसात्मक द्वन्द्व निम्त्याउन सक्छ भने बहुदलीयताले धेरै विचारधारा र जातिको निणर्ायक तहमा प्रतिनिधित्व गराएर द्वन्द्वको व्यवस्थापन गरी शान्ति स्थापना गर्न मद्दत गर्छ ।

शान्तिबेगर समृद्धि सम्भव छैन । बहुदलीयताले शान्ति स्थापना गरी बहुसांस्कृतिक देशलाई समृद्धितिर लम्कने पूर्वाधार तयार पारिदिन्छ । त्यसैले बहुदलीयताले बहुसांस्कृतिक देशमा जातीय हिंसाबाट बचाउन, लोकतन्त्रलाई सुदृढीकरण गर्न र आर्थिक बिकासमा लम्कन सहयोग पुर्‍याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment